ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

नीति तथा कार्यक्रममा परेनन् पर्यटनमन्त्रीका योजना

२०७७ जेठ, ४  
समाचार
Aarthik Abhiyan 18th Anniversary NA
author avatar टीपी भुसाल

काठमाडौं । कोरोनाका कारण सबैभन्दा बढी प्रभावित पर्यटन क्षेत्रलाई जोगाउन विशेष कार्यक्रमको अपेक्षा गरिएका बेला धेरैजसो पुरानै कार्यक्रमले प्राथमिकता पाएका छन् । पर्यटनमन्त्री योगेश भट्टराईले विशेष कार्यक्रम ल्याउने बताए पनि नीति तथा कार्यक्रममा ती योजना परेका छैनन् । यद्यपि बजेटमा ती कार्यक्रम पर्ने आशा भने व्यवसायीले गरिरहेका छन् ।

पर्यटनमन्त्री योगेश भट्टराईले भन्दै आएको २०२० देखि ३० सम्मलाई भ्रमण वर्ष दशक मनाउने योजनासमेत नीति तथा कार्यक्रममा समावेश गरिएको छैन । भ्रमण वर्ष स्थगित भएपछि पर्यटन मन्त्रालयले नीति तथा कार्यक्रममै सन् २०२० देखि २०३० सम्मलाई भ्रमण दशक घोषणा गरी हरेक वर्ष कुनै क्षेत्र विशेष कार्यक्रम गर्ने बताएको थियो । तर, यो विषयमा नीति तथा कार्यक्रममा परेन । त्यस्तै आन्तरिक भ्रमणलाई प्रोत्साहन गर्ने नीति पनि यसमा परेको छैन ।

सरकारले नीति तथा कार्यक्रममा आगामी आवमा निजगढ अन्तरराष्ट्रिय विमानस्थल निर्माण शुरू गर्ने, भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा ल्याउने र पोखरा विमानस्थल सम्पन्न गरी सञ्चालनको तयारी गरिने उल्लेख गरेको छ । त्रिभुवन विमानस्थललाई बुटिक विमानस्थलमा रूपान्तरण गर्ने पुरानै कार्यक्रम उल्लेख छ । व्यवसायीहरूले पर्यटन सरकारको प्राथमिकतामा नपरेको भन्दै पर्यटन क्षेत्रको नाममा केही विमानस्थलको कुराबाहेक अरू कुनै नयाँ कार्यक्रम नआएको बताए ।

नीति तथा कार्यक्रममा नेपालका आठओटा आन्तरिक विमानस्थलको धावनमार्ग कालोपत्र गरिने, पहाडी क्षेत्रमा हिल स्टेशन निर्माण गरी होटल निर्माण गर्न प्रोत्साहन गरिने तथा तेह«थुमको चुहान डाँडा, काभ्रेको उपयुक्त स्थानमा गरी दुईओटा आन्तरिक विमानस्थल निर्माण गर्ने उल्लेख छ । गतवर्षको बजेटमा समेत काभ्रेमा आन्तरिक विमानस्थल बनाउने कुरा उल्लेख थियो ।

कोरोनाका कारण होटेल व्यवसायीहरूले वैशाखदेखि लागू हुने गरी होटेल बन्दको घोषणा गरिसकेको अवस्थामा यो व्यवसायको पुनरुत्थानको कुरा नीति तथा कार्यक्रममा केही नदेखिएको होटेल संघ नेपाल (हान) का महासचिव साजन शाक्यले बताए ।

कोरोनाले नेपालको उड्डयन क्षेत्र पूर्णतः बन्द रहेको अवस्थामा पनि यस क्षेत्रलाई सम्बोधन हुने खास कार्यक्रम नआई अमूर्त धारणा आएको वायुसेवा सञ्चालक संघका (आयोन) का महासचिव मनोज कार्कीले बताए । ‘अहिले वायुसेवा कम्पनीलाई सबैभन्दा ठूलो समस्या नगद प्रवाहको हो । तैपनि, हामीले सीधै राहतभन्दा पनि यसलाई बचाउन सरकारको योजना चाहियो भनेका थियौं । तर, केही देखिएन ।’ नीति तथा कार्यक्रममै नपरेपछि बजेटमा कसरी आउला उनले प्रश्न गरे ।

नेपालको पर्यटनमा पर्वतीय पर्यटनको ठूलो भूमिका रहे पनि पर्वतीय पर्यटनलाई सम्बोधन हुने कुनै कार्यक्रम नदेखिएको ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान)का महासचिव सरिता लामाले बताइन् । ‘पर्वतीय पर्यटनलाई राज्यले नबुझ्नु दुःखको विषय हो,’ उनले भनिन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [1]
User Image

Keshav NS Adhikari

[May 17, 2020 04:15am]

यस्ता पर-आश्रित क्षेत्रहरुले अब केहि समय थाकमै थन्किए देशको हित होला । सबैतिर सुक्खा मौसम भएको बेला जुका मौलाउन सक्दैनन्, त्यसैले यस्ता उद्योगमा रहेकाहरुले चाँडै नै कुनै उत्पादनमूलक पेशामा सरुवा रोजे सहज गुजाराको योग छ । बरु यो घुमन्ते-फिरन्ते मंत्रालयलाई कोरोना संक्रमितहरुको सेवामा खटाइदिए यीनको सिपमा खिया लाग्नेथिएन ।



   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)