ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

उद्योग खोल्ने निर्णयको डेढ हप्तामा मापदण्ड

२०७७ जेठ, ४  
समाचार
Aarthik Abhiyan 18th Anniversary NA
author avatar हिमा वि.क.

काठमाडौं ।  सरकारले विभिन्न ४४ प्रकारका उद्योग व्यवसाय सञ्चालन गर्ने निर्णय गरेको ११ दिनपछि उद्योग विभागले उपत्यकाभित्रका उद्योग प्रतिष्ठानहरू सञ्चालनका लागि ‘उद्योग प्रतिष्ठान सञ्चालन तथा सवारी पास सम्बन्धी मापदण्ड–२०७७’ लागू गरेको छ ।

कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि जारी लकडाउन अवधिमा पनि खोल्ने निर्णय भएका उद्योगहरू सञ्चालन गर्न आइतवारदेखि उक्त मापदण्ड लागू गरिएको हो । मन्त्रिपरिषद्ले वैशाख २४ गते ती उद्योग खोल्न दिने निर्णय गरेको थियो ।

लकडाउनको झन्डै २ महीनाको अवधिमा सरकारले काठमाडौं उपत्यकाभित्रका उद्योग प्रतिष्ठानहरू खोल्न र उद्योग व्यवसायसँग सम्बद्ध सवारी पास उपलब्ध गराउने विषयमा मापदण्ड सार्वजनिक गरेको हो । विभागका प्रवक्ता विनोदकुमार खड्काले उपत्यकाभित्रका तीन जिल्लामा मात्रै लागू हुने गरी मापदण्ड ल्याइएको बताए ।

उनले अन्य जिल्लाको हकमा सम्बद्ध प्रमुख जिल्ला अधिकारीबीचको समन्वय र गृह मन्त्रालयको सिफारिशमा उद्योगहरू खोल्ने र सवारी पासको व्यवस्था हुने बताए ।

निजीक्षेत्रका छाता संगठनहरूले पनि तीन समूह (ग्रीन, यल्लो र रेड जोन) छुट्ट्याएर उद्योग व्यवसाय सञ्चालन गर्न सरकारलाई आग्रह गर्दै आएका थिए । विभागले कार्यस्थललाई अनिवार्य रूपमा स्यानिटाइजेशन गर्ने र नियमित स्वास्थ्य जाँच तथा स्वास्थ्य सुरक्षाको सुनिश्चितता गरेर मात्रै उद्योग खोल्नुपर्ने बताएको छ ।

नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्श र नेपाल घरेलु तथा साना उद्योग महासंघको सिफारिशमा उद्योग विभागबाट लकडाउन अवधिभरका लागि सवारी पास जारी गरिने उल्लेख गरिएको छ । त्यसका लागि यी संगठनको समन्वयमा विभागले सिफारिशका लागि नामावली पनि राखेको छ ।

त्यस्ता उद्योग प्रतिष्ठानले आआफ्ना पेशागत छाता संगठनमार्फत उद्योग दर्ता प्रमाणपत्रको प्रतिलिपि पनि समावेश गरेर पासका लागि आवेदन दिनुपर्ने उल्लेख गरिएको छ । यस्तो पास काठमाडौैं उपत्यकाभित्रका उद्योग प्रतिष्ठानका लागि मात्रै सिफारिश गर्नुपर्ने खड्काले जानकारी दिए । ती उद्योग प्रतिष्ठानमा कार्यरत मजदूर दैनिक आवतजातवका लागि भने पास नदिइने विभागले बताएको छ । औद्योगिक क्षेत्रका हकमा भने औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको सिफारिश आवश्यकता हुने उल्लेख गरिएको छ ।

काठमाडौं उपत्यकामा तीनओटा औद्योगिक क्षेत्रसमेत छन् । काठमाडौंको बालाजु, पाटन र भक्तपुर औद्योगिक क्षेत्र हुन् । यी औद्योगिक क्षेत्रभित्र कुल २९४ उद्योग छन् । त्यसमध्ये सबैभन्दा धेरै बालाजुमा १४०, पाटनमा ११७ र भक्तपुरमा ३७ ओटा उद्योग रहेकामध्ये लकडाउनको अवधिमा न्यूनतम १५ देखि अधिकतम २५ प्रतिशत उद्योगले उत्पादन गरिरहेको औद्योगिक व्यवस्थापन लिमिटेडका अध्यक्ष नन्दकिशोर बस्नेतले जानकारी दिए । विभागका अनुसार मुलुकभर ८ हजार २०० उद्योग दर्ता छन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)