ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

४ % ले घट्यो विप्रेषण आप्रवाह : राष्ट्र बैंक

कोरोना असर अर्थतन्त्रमा देखिन थाल्योः राष्ट्र बैंक

२०७७ जेठ, ४  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar मिलन विश्वकर्मा

जेठ ४, काठमाडौं । चालू आर्थिक वर्षको ९ महीनामा नेपालको विप्रेषण आप्रवाह ४ प्रतिशतले घटेको छ । नेपाल राष्ट्र बैंकले आइतवार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति विषयमा प्रकाशित प्रतिवेदनले यस्तो देखाएको हो । 

तथ्यांकअनुसार चैतसम्म रू. ६ खर्ब २६ अर्ब ९० करोड विप्रेषण नेपाल भित्रिएको छ । अघिल्लो आवको सो अवधिमा विप्रेषण आप्रवाह करीब २१ प्रतिशतले बढेको थियो । 

राष्ट्र बैंकका प्रवक्ता गुणकरण भट्टले विशेषगरि कोरोना भाइरसको प्रभावका कारण नै समीक्षा अवधिमा विप्रेषण घटेको बताए । ‘लकडाउनका कारण श्रम गन्तव्य मुलुकमा पनि लकडाउन लगाइएको छ । नेपाली कामदारको रोजगारी पनि जोखिममा परेको छ,’ उनले भने, ‘फलस्वरुप यस पटक विप्रेषण आप्रवाहमा ह्रास आएको हो ।’ 

चालू आर्थिक वर्षको शुरुदेखि नै नेपालमा विप्रेषण आप्रवाहमा ह्रास आउँदै छ । यस पटक भने कोरोना भाइरसका कारण विप्रेषण आप्रवाह थप प्रभावित भएको छ । विश्व बैंकले कोरोना भाइरसका कारण चालू आवमा नेपालको विप्रेषण आप्रवाह १४ प्रतिशतले घट्ने अनुमान गरेको छ ।

यस्तै, लकडाउनका कारण यस पटक खाद्य बस्तुको मूल्य पनि बढेको छ । समीक्षा अवधिमा वार्षिक विन्दु गत उपभोक्ता मुद्रास्फीति ६ दशमलव ७४ प्रतिशत पुगेको छ । जबकी गत आवको सोही महीनामा यस्तो मुद्रास्फीति ४ दशमलव ४४ प्रतिशत रहेको थियो ।

समीक्षा अवधिमा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ९ दशमलव ६८ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ४ दशमलव ४८ प्रतिशत रहेको छ । काठमाडौं उपत्यकामा मात्र ७ दशमलव १९ प्रतिशत, तराईमा ७ दशमलव शून्य ४ प्रतिशत, पहाडमा ५ दशमलव ८४ प्रतिशत र हिमालमा ४ दशमलव ८३ प्रतिशत मुद्रास्फीति रहेको राष्ट्र बैंकको भनाइ छ ।

राष्ट्र बैंकका प्रवक्ता डा. भट्टले लकडाउनका कारण चैतमा फागुनको तुलनामा पनि खाद्य वस्तुको महँगी बढेको बताए । फागुनमा खाद्य वस्तुको महँगी ९ दशमलव ३३ प्रतिशत रहेको छ । 

यस्तै, समीक्षा अवधीमा नेपालसँग रू. ११ खर्ब ५५ अर्ब ९० करोड बराबरको विदेशी मुद्रा सञ्चिती रहेको छ । उक्त सञ्चितिले साढे ९ महीनाको आयात धान्न सक्ने राष्ट्र बैंकको भनाइ छ । 

यस्तै, गत आर्थिक वर्षभर घाटामा रहेको शोधनान्तर स्थिति भने यस पटक रू. ३६ अर्ब ६१ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति रू. ६४ अर्ब ६८ करोडले घाटामा रहेको राष्ट्र बैंकको भनाइ छ । 

यस्तै, लकडाउनका कारण विदेशी पर्यटनकन आउँदा यस पटक भ्रमण आयमार्फत हुने आम्दानीको वृद्धि दरमा पनि ह्रास आएको छ । चालू आवको समीक्षा अवधिमा भ्रमण आय शून्य दशमलव ६ प्रतिशतले वृद्धि भएर रू. ५५ अर्ब ७६ करोड पुगेको छ । गत आवको सोही अवधिमा यस्तो आय रू. ५५ अर्ब ४३ करोड रहेको राष्ट्र बैंकको भनाइ छ ।

कोरोना असर अर्थतन्त्रमा देखिनथाल्योः राष्ट्र बैंक
यस्तै, राष्ट्र बैंकले कोरोना भाइरस त्यसलाई रोकथाम गर्न लगाइएको लकडाउनको असर अर्थतन्त्रमा देखिन शुरु गरेको बताएको छ । राष्ट्र बैंकले उक्त प्रतिवेदनमार्फत नै यस्तो बताएको हो । गत चैत ११ गतेदेखि लकडाउनका कारण उद्योगधन्दाहरु न्यून क्षमतामा संचालित हुँदा आपूर्ति श्रृंखला प्रभावित भएको राष्ट्र बैंकको भनाइ छ । 

साथै, ठूला आयोजनाहरुको निर्माण कार्य सुस्त भएका पनि प्रतिवेदनमा उल्लेख छ । 

राष्ट्र बैंकले लकडाउनकै कारण गत आवको तुलनामा आर्थिक वृद्धिमा उल्लेख्य ह्रास आउने अनुमान गरेको छ । विगत ३ वर्षमा औसत आर्थिक वृद्धि ७ दशमलव ३ प्रतिशत रहेकोमा चालू आवमा २ दशमलव २८ प्रतिशत हुने केन्द्रीय तथ्यांक विभागको अनुमान रहेको राष्ट्र बैंकको भनाइ छ ।

चालू आवमा ७ प्रतिशतको हाराहारीमा आर्थिक वृद्धि हुने प्रक्षेपण गरिए पनि अर्थतन्त्रमा देखिएको असहज अवस्थाका कारण त्यो हासिल गर्न नसकिने राष्ट्र बैंकको भनाइ छ । पछिल्लो अवस्थालाई दृष्टिगत गर्दा मुलुकको कुल गाहस्थ्य उत्पादन (जीडीपी)मा नै करीब रू. १ खर्ब ६८ अर्ब बराबरको क्षति हुन सक्ने राष्ट्र बैंकले प्रतिवेदन मार्फत बताएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)