ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

बाँझो खेत जोतेर धमाधम सामूहिक तरकारीखेती

२०७७ जेठ, ५  
गण्डकी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar ध्रुवसागर शर्मा

जेठ ५, म्याग्दी । म्याग्दीको मालिका गाउँपालिकाको दुखु गाउँका स्थानीयले बाँझो जग्गा जोतेर धमाधम सामूहिक तरकारी खेती र नगदेबाली लगाउन शुरू गरेका छन् । मालिका गाउँपालिकाको ‘एक घर एक आत्मनिर्भर‘ अभियान अन्तर्गत स्थानीयले बाँझो जग्गामा धमाधम सामूहिक तरकारीखेती र नगदेबाली शुरू गरेका हुन् ।

कोरोना भाइरसको संक्रमणबाट जोगिन देशव्यापी रूपमा लकडाउन गरिएपछि गाउँ फर्केका युवालाई संलग्न गरी १७० रोपनी बाँझो जमीनमा सामाजिक दूरी कायम गरी नगदे र तरकारी बाली शुरू गरिएको मालिका गाउँपालिका ६ का वडाध्यक्ष सन्तनाथ सुवेदीले जानकारी दिए ।

‘उत्पादित वस्तुको बजारीकरणमा पनि सघाउँछौं, हरेक घरधुरीलाई व्यावसायिक कृषि खेतीमा आकर्षित गरेका छौं,’ अध्यक्ष सुवेदीले भने । वडाभित्र बाँझो खेतमा तरकारी र खेतीपाती गर्न चाहनेलाई अनुदान सहित वडाबाट आवश्यक सहयोग गरिने उनले बताए ।

समुदायलाई तरकारी खेतीमा आकर्षित गर्न गाउँपालिकाले ३ लाख र वडाबाट समेत ३ लाख गरी रू. ६ लाख विनियोजन गरिएको छ । वर्षौंदेखि बाँझो रहेको जमीन हरियाली बनाउने अभियानमा समुदायले समेत साथ दिएका छन् । सामूहिक खेतीमा दैनिक ६ हल गोरुले जोतेर अभियानको शुरुआत गरिएको छ ।

अध्ययन, रोजगारी, व्यवसाय वा अन्य अवसरको खोजीमा गाउँ छाडेर शहर वा विदेश पसेकाहरु अहिले धमाधम गाउँ फर्किएर बाँझिएका जमिनको खोजी गर्न थालेको अवस्थामा दुखुका स्थानीयको अभियानले गाउँपालिकाका अन्य वडामा समेत थप सहज हुने बताइएको छ । कृषकको उत्पादनलाई दरवाङ बजारमा नै खपत गर्न सकिने भएकाले मालिका गाउँपालिकाका सबै वडामा तरकारी, फलफूल लगायत नगदे बालीमा समुदाय आकर्षित भएको गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोकाले बताए ।

अध्यक्ष रोकाका अनुसार मालिका गाउँपालिका वडा नं १ मा सतुवा र अलैंची खेती,वडा नं २ मा सतुवा, सुन कागती र एभोकाडो खेती, वडा नं ३ मा कागती सुन्तला र एभोकाडो खेती, वडा नं ४ मा सुन्तला, कागती, एभोकाडो, टिमुर खेती, वडा नं ५ मा टिमुर खेती सतुवा र तरकारी खेती, वडा नं ६ मा किवी खेती, अर्गानिक तरकारी खेती, सुन्तला, कागती, टिमुर र नगदेबाली, (भटमास र सिमी) र वडा नं ७ मा एभोकाडो, सतुवा र सुन्तला वबली सिफारिश गरिएको छ ।
 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [1]
User Image

Thapa Shailu

[May 18, 2020 08:19am]

I want to share and elaborate such news. but, unfortunately i didn't see share options. Regards



   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)