ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

लकडाउनको सदुपयोग : ६१ घरका छाना फेरिए

२०७७ जेठ, ५  
गण्डकी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar ध्रुवसागर शर्मा

जेठ ५, म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीका जनप्रतिनिधिले लकडाउनकै समयको सदुपयोग गर्दै वडालाई खरको छाना मुक्त वडा बनाउन सफल भएका छन् ।

लकडाउनको ५४ औं दिन आइतवारसम्म भकिम्लीका ६१ ओटा घरका छाना फेरिएका छन् । खरले छाएका छाना भत्काएर जस्ता पाताले छाइएको छ । जसले गर्दा भकिम्लीका घरहरुमा जस्ता पाताका छाना टल्किएका छन् ।

बेनी नगरपालिकाको शत प्रतिशत अनुदानमा भकिम्लीका ६१ घरमा खरको छाना हटाएर जस्तापाताले छाइएको बेनी नगरपालिका ३ का वडा अध्यक्ष पदम पुनले जानकारी दिए । भकिम्ली खरका छाना मुक्त वडा बनेको छ ।

अधिकांश गरीब र दलित समुदायका व्यक्तिहरुका छाना फेरिएको छ । त्यसैगरी २१ जना एकल महिलाका पनि छाना फेरिएको वडाअध्यक्ष पुनले बताए ।

नगरपालिकाको रू. २० लाख २४ हजार अनुदानमा जस्तापाता खरीद गरेर छाना परिवर्तन गरिएको बेनी नगरपालिकाका नगर प्रमुख हरिकुमार श्रेष्ठले बताए ।

खरले छाएको छानाबाट वर्खायाममा पानी चुहिएर समस्या भोग्दै आएका नगरबासिका घरको छाना फेर्न चालू आर्थिक वर्ष २०७६/७७ मा बेनी नगरपालिकाले रू. ७० लाख विनियोजन गरेको छ । छाना फेर्नका लागि प्रतिव्यक्ति न्यूनतम रु. २० हजार देखि रु. ५५ हजार सम्म अनुदान दिइएको छ ।

बेनी नगरपालिकाका सबै वडामा खरको छाना विस्थापित गर्ने कार्यक्रम सञ्चालन गरिएको नगर कार्यपालिकाका प्रवत्ता रामकृष्ण बराइलीले बताए । 

उनका अनुसार बेनी बजारमा खरका छाना रहेका घर नभएकाले बजार बाहेक नगरपालिकाका अन्य सबै वडामा खरका छाना मुक्त घर अभियान सञ्चालन गरिएको हो ।

यसैबीच आइतवार नै बेनी नगरपालिका ३ मा भएका विकास आयोजनाहरुको अनुगमन गरिएको छ । भकिम्लीमा खरका छाना विस्थापित गर्ने लगायतका विकास आयोजनाको नगरप्रमुख हरिकुमार श्रेष्ठ, उपप्रमुख सञ्जु बरुवाल, प्रशासकीय अधिकृत छवीलाल सुवेदी, कार्यपालिका सदस्य कृष्णकुमार विश्वकर्मा, वडा अध्यक्ष पदम पुन, नगर कार्यपालिकाका प्रवत्ता रामकृष्ण बराइली लगायत प्राविधिकहरुको टोलीले अनुगमन गरेका छन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)