म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–६ दुखु गाउँका स्थानीयले बाँझो जग्गा जोतेर धमाधम सामूहिक तरकारीखेती र नगदेबाली लगाउन शुरू गरेका छन् । गाउँपालिकाको ‘एक घर एक आत्मनिर्भर’ अभियान अन्तर्गत स्थानीयले बाँझो जग्गामा धमाधम सामूहिक तरकारीखेती र नगदेबाली शुरू गरेका हुन् ।
कोरोना भाइरसको संक्रमणबाट जोगिन देशव्यापी रूपमा लकडाउन गरिएपछि गाउँ फर्केका युवालाई संलग्न गरी १७० रोपनी बाँझो जमीनमा सामाजिक दूरी कायम गरी नगदे र तरकारी बाली लगाउन शुरू गरिएको मालिका गाउँपालिका–६ का वडाध्यक्ष सन्तनाथ सुवेदीले बताए ।
‘उत्पादित वस्तुको बजारीकरणमा पनि सघाउँछौं, हरेक घरधुरीलाई व्यावसायिक कृषिमा आकर्षित गरेका छौं,’ अध्यक्ष सुवेदीले भने । वडाभित्र बाँझो खेतमा तरकारी र खेतीपाती गर्न चाहनेलाई अनुदान सहित वडाबाट आवश्यक सहयोग गरिने उनले बताए ।
समुदायलाई तरकारी
खेतीमा आकर्षित गर्न गाउँपालिकाले ३ लाख र वडाबाट समेत ३ लाख गरी रू. ६ लाख विनियोजन गरिएको छ । वर्षौंदेखि बाँझो रहेको जमीन हरियाली बनाउने अभियानमा समुदायले समेत साथ दिएका छन् । सामूहिक खेतीमा दैनिक ६ हल गोरुले जोतेर अभियानको शुरुआत गरिएको छ ।
अध्ययन, रोजगारी, व्यवसाय वा अन्य अवसरको खोजीमा गाउँ छाडेर शहर वा विदेश पसेकाहरु अहिले धमाधम गाउँ फर्किएर बाँझिएका जमिनको खोजी गर्न थालेको अवस्थामा दुखुका स्थानीयको अभियानले गाउँपालिकाका अन्य वडामा समेत थप सहज हुने बताइएको छ । कृषकको उत्पादनलाई दरवाङ बजारमा नै खपत गर्न सकिने भएकाले मालिका गाउँपालिकाका सबै वडामा तरकारी, फलफूल लगायत नगदे बालीमा समुदाय आकर्षित भएको गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोकाले बताए ।
अध्यक्ष रोकाका अनुसार मालिका गाउँपालिका वडा नं १ मा सतुवा र अलैंचीखेती, वडा नं २ मा सतुवा, सुन कागती र एभोकाडोखेती, वडा नं ३ मा कागती सुन्तला र एभोकाडोखेती, वडा नं ४ मा सुन्तला, कागती, एभोकाडो, टिमुरखेती, वडा नं ५ मा टिमुरखेती सतुवा र तरकारीखेती, वडा नं ६ मा किवीखेती, अर्गानिक तरकारीखेती, सुन्तला, कागती, टिमुर र नगदेबाली, (भटमास र सिमी) र वडा नं ७ मा एभोकाडो, सतुवा र सुन्तला बाली सिफारिश गरिएको छ ।