ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

मन्त्रिपरिषद्द्वारा नेपालको नयाँ नक्सा पारित

२०७७ जेठ, ६  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar टीपी भुसाल

काठमाडौं । सरकारले लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटेर नेपालको नयाँ नक्सा पारित गरेको छ । सोमवार बसेको मन्त्रिपरिषद् बैठकले नक्सा पारित गरेको हो । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले प्रस्ताव गरेकोे अद्यावधिक नक्सा स्वीकृत गरेको अर्थ तथा सञ्चार मन्त्री डा. युवराज खतिवडाले जानकारी दिए । मन्त्रालयले तयार पारेको नयाँ नक्सामा अन्तरराष्ट्रिय सीमा लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रलाई समेटिएको उनले जानकारी दिए । नयाँ नक्सामा संघीयता अनुरूप प्रदेश र स्थानीय तह समावेश गरिएको उनले बताए । ‘सरकारले स्वीकृत गरेको अद्यावधिक नक्साअनुसार अब निशान छाप, सरकारी कार्यालय, विद्यालय तथा सम्पूर्ण क्षेत्रमा यही नक्सा प्रयोग गरिनेछ,’ उनले भने । ऐतिहासिक तथ्यका आधारमा लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र नेपालको भए पनि भारतले गत नोभेम्बरमा आफ्नो नयाँ नक्सा लिम्पियाधुरालाई समेटेर जारी गरेपछि नेपालमा त्यसको विरोध भएको थियो ।

गत महीना भारतले  तिब्बतको मानसरोवर जान लिपुलेकमा नेपाली भूमि अतिक्रमण गर्दै बनाएको सडक उद्घाटन गरेपछि यो विषयले नेपालको संसद र सडक दुवैतर्फ चर्को विरोध भयो । संसदीय समितिहरूले सरकारलाई नेपाली भूभागलाई समेटेर नयाँ नक्सा जारी गर्न सरकारलाई निर्देशन दिएको थियो । राष्ट्रपतिद्वारा जेठ २ गते प्रस्तुत सरकारको नीति तथा कार्यक्रममा पनि सरकारले भारतले अतिक्रमण गरेको सो नेपाली भूमि फिर्ता ल्याउने घोषणा गरेको थियो । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै लिम्पियाधुरा, कालापानी र लिपुलेकमा अतिक्रमित नेपाली भूमि फिर्ता ल्याउन पहल गरिने र लिम्पियाधुरा लगायतको क्षेत्र समेटेर तत्काल नयाँ नक्सा पनि जारी गर्ने बताउनुभएको थियो ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)