ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

कोरोनाको असर वैदेशिक रोजगारीमा : २५ प्रतिशतभन्दा बढी नेपालीको रोजगारी गुम्ने

६ लाखको हाराहारीमा नेपाली स्वदेश फर्कने अनुमान

२०७७ जेठ, ६  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar विजय दमासे

काठमाडौं । कोरोना महामारीले विश्व अर्थतन्त्र नराम्ररी प्रभावित हुँदा प्रमुख श्रम गन्तव्यहरूमा वैदेशिक रोजगारीमा रहेका २५ प्रतिशतभन्दा बढी नेपालीले रोजगारी गुमाउन सक्ने एक अध्ययनले देखाएको छ ।

नेपाल वैदेशिक रोजगार व्यवसायी संघले हालै गरेको अध्ययनले साउदी अरब, यूएई, कतार, ओमान, कुवेत, बहराइन तथा मलेशियालगायत प्रमुख श्रम गन्तव्यहरूमा ठूलो संख्यामा नेपालीहरू बेरोजगार हुने ठहर गरेको छ ।

कोभिड–१९ संकट र समाधान नामक अध्ययन अनुसार वैदेशिक रोजगारीमा रहेका नेपालीमध्ये यूएईमा ३० प्रतिशत, कतारमा २० प्रतिशत, साउदी अरबमा २० प्रतिशत, मलेशियामा ३० प्रतिशत, कुवेतमा १५ प्रतिशतको रोजगारी गुम्ने सम्भावना छ ।

वैदेशिक रोजगारीका सिलसिलामा नेपालीहरू विश्वका १८० भन्दा बढी मुलुकमा पुगे पनि खाडी मुलुकका साथै मलेशिया, दक्षिण कोरिया र जापान नै नेपालीहरूको मुख्य गन्तव्य हो । यी मुलुकले नेपालको वैदेशिक रोजगारको करीब २ तिहाइभन्दा बढी अंश ओगट्छन् ।

अध्ययनअनुसार लकडाउनलगत्तै ६ लाखको हाराहारीमा नेपाली स्वदेश फर्कनेछन् । संघको अध्ययन प्रतिवेदनअनुसार हाल वैदेशिक रोजगारीमा करीब २५ देखि ३० लाख नेपाली आबद्ध छन् । दुईवर्षे करार अवधि वा भिसाको समयावधि समाप्त भई स्वदेश फर्कने श्रमिकको संख्या करीब ६० प्रतिशत रहेको छ भने त्यस्तै कोरोना भाइरस महामारीका कारण रोजगारदाता कम्पनी बन्द भई श्रमिकको उद्धार गरी नेपाल फर्काउनुपर्ने श्रमिकको संख्या करीब २० देखि २५ प्रतिशत देखिन्छ । समग्रमा भिसाको समयावधि समाप्त भएका र रोजगारी गुमाउने करीब ५ देखि ६ लाख नेपाली श्रमिक नेपाल फर्किने अध्ययनको निचोड छ ।

‘वैदेशिक रोजगारीमा गएका नेपालीमध्ये ठूलो संख्या अदक्ष कामदारका रूपमा रहेको छ र कोभिड–१९ को असरबाट कम्पनी, उद्योग, कलकारखाना, व्यापारिक प्रतिष्ठान, होटेल–रेस्टुराँ बन्द हुँदा यिनै कामदार सबैभन्दा बढी प्रभावित हुने छन्,’ अध्ययन प्रतिवेदनले भनेको छ । ‘प्रवेशाज्ञा अवधि समाप्त भए पनि विदेशमा बसी काम गरिरहेका, गैरकानूनी रूपमा विदेश गएका वा कागजातविहीन थुप्रै नेपाली कामदारलाई नेपाल फर्काइनेछ ।’

‘साउदी अरेबियाले आफ्नो गिर्दो अर्थतन्त्रलाई टिकाइराख्न ५ प्रतिशतमा रहेको भ्याटलाई वृद्धि गरी १५ प्रतिशतमा पुर्‍याएको छ भने सरकारी कर्मचारीहरूको सुविधा पनि कटौती गरिसकेको छ,’ अध्ययन प्रतिवेदनमा भनिएको छ, ‘खाडीको सबैभन्दा ठूलो अर्थतन्त्र साउदी अरबले गरेको भ्याट वृद्धि, ठूला परियोजना स्थगित र कर्मचारीको समेत सुविधामा कटौती गरेको घटनाले अन्य देशलाई पनि नकारात्मक प्रभाव पार्ने देखिएको छ ।’

संघले गरेको अध्ययनले वैदेशिक रोजगारीमा गएका नेपालीमध्ये निर्माण क्षेत्रमा २१ दशमलव १ प्रतिशत, उद्योगमा १७ दशममलव ३ प्रतिशत, होटेलमा ९ दशमलव ३ प्रतिशत, कार्पेन्टरमा ८ दशमलव ३ प्रतिशत र सेक्युरिटी गार्डका लागि ७ प्रतिशत, क्लिनर, घरायसी कामदारका लागि १६ दशमलव ६ प्रतिशत रहेका छन् ।

श्रम गन्तव्यहरूमा देखिएको प्रतिकूलताले वार्षिक ८ दशमलव ७९ खर्ब रुपैयाँ रेमिट्यान्स प्राप्त गर्ने नेपाली अर्थतन्त्रमा गम्भीर धक्का लाग्ने अध्ययनकोे ठहर छ । विगत रेमिट्यान्स पाउँदै गरेका करीब ५६ प्रतिशत घरधुरी प्रभावित हुने अनुमान गरिएको छ ।

‘कोरोना भाइरसको महामारीले सबै आर्थिक गतिविधि रोकिँदा र कच्चा तेलको मूल्यमा आएको विश्वव्यापी गिरावटले नेपाली कामदारको प्रमुख गन्तव्य देशको आर्थिक गतिविधि पनि गम्भीर रूपमा प्रभावित भई आर्थिक संकट दिन प्रतिदिन गहिरिँदै गएको हाम्रो निष्कर्ष छ,’ संघका महासचिव सुजित श्रेष्ठले भने ।

वैदेशिक रोजगारविज्ञ डा. गणेश गुरुङ पनि वैदेशिक रोजगारीबाट फर्किनेलाई व्यवस्थापन गर्न चुनौतीपूर्ण रहेको बताउँछन् ।

उनका अनुसार विप्रेषणले लामो समयसम्म मुलुक चलेकाले आपत् परेर स्वदेश फर्कन लागेका नेपालीलाई सरकारले सही रूपमा व्यवस्थापन गर्नुपर्छ । कृषिसेवाजस्ता क्षेत्रमा लगानीका लागि सहुलियत कर्जासँगै उनीहरूलाई पूर्वाधार विकासमा लगाउनुपर्ने उनको भनाइ छ ।

श्रम मन्त्रालयका अनुसार प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत स्वदेशमा आउने नेपालीलाई रोजगारी दिइने र सहुलियत कर्जाका कार्यक्रमसमेत आगामी बजेटमार्फत ल्याउने तयारी भइरहेको छ । ‘प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत रोजगारी दिनेदेखि सहुलियतपूर्ण कर्जामार्पmत लगानीका लागि शीपअनुसार विभिन्न क्षेत्रमा प्रोत्साहन गरिनेछ,’ श्रम मन्त्रालयका सहसचिव सुमन घिमिरेले भने ।

उनका अनुसार अलपत्रको उद्धारका लागि श्रम मन्त्रालयले कार्ययोजना बनाएर सरकारलाई बुझाइसकेको छ । केकस्तो मोडालिटीमा ल्याउने भन्नेबारे उच्चस्तरीय समितिले सरकारलाई सुझाव दिएपछि मन्त्रिपरिषद्को निर्णयका आधारमा अलपत्रलाई उद्धार गरिने उनको भनाइ छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [1]
User Image

Keshav NS Adhikari

[May 19, 2020 06:14am]

यसरी बुझे यो असहज अवस्थालाई अवसरको अवस्था बनाउन सकिन्छ - ६ लाख भन्दा बढी उर्जावान नेपालीहरु आफ्नो उर्जा र सिप लिएर स्वदेश फिर्दैछन् । अब देशले बडो सुझबुझ र उपयूक्त नीतिद्वारा यीनलाई देशको संबृद्धीमा सामेल गर्नपर्छ ।



   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)