ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

चुनढुंगा उत्खनन नहुँदा क्लिंकर र सिमेन्ट उत्पादनमा समस्या

२०७७ जेठ, ७  
समाचार
Aarthik Abhiyan 18th Anniversary NA
author avatar हिमा वि.क.

काठमाडौं । सरकारले वैशाख २६ गतेदेखि विभिन्न ४४ प्रकारका उद्योग तथा व्यवसायहरू सञ्चालन गर्न दिने निर्णय गरे पनि सिमेन्ट तथा क्लिंकरकोे प्रमुख कच्चा पदार्थ चुनढुंगा (लाइमस्टोन) उत्खनन गर्न नसक्दा उद्योग सञ्चालनमा समस्या आउने देखिएको छ ।

चुनढुंगा भण्डारण गर्ने समयमै उत्खननमा रोक लगाइएको र अहिले सरकारले सिमेन्ट उद्योग र खानी सञ्चालन गर्न दिए पनि सम्बद्ध निकायले सहजीकरण नगर्दा चुनढुंगा उत्खनन गर्न सकिएको छैन । उत्पादकहरूले चुनढुंगा नभए क्लिंकर र सिमेन्ट उत्पादन गर्न नसकिने बताएका छन् ।

क्लिंकर उत्पादन गर्न हिउँदको सिजनमा चुनढुंगा भण्डारण गर्नुपर्ने हुन्छ । वर्षायाम अर्थात् असारदेखि भदौसम्म खानीबाट चुनढुंगा उत्खनन गर्न नमिल्ने भएकाले क्लिंकर उत्पादकले माघदेखि जेठसम्म चुनढुंगा उत्खनन गर्दै आएका छन् । तर, यो वर्ष लकडाउनका कारण सरकारले मध्यफागुनदेखि नै चुनढुंगा उत्खननमा रोक लगाएको थियो । सरकारको पछिल्लो निर्णयले खानी सञ्चालन गर्ने बाटो खुला गरिदिए पनि क्लिंकर उद्योगहरूले चुनढुंगा उत्खनन गर्न सकेका छैनन् ।

सिमेन्ट तथा क्लिंकरसमेत उत्पादन गर्दै आएको अम्बे ग्रूपका अध्यक्ष हरि न्यौपानेले कच्चा पदार्थकै अभावमा आगामी ४ महीनासम्म सिमेन्ट तथा क्लिंकर उत्पादन गर्न नसकिने बताए । अहिले कम्पनीहरूसँग रहेको क्लिंकरले डेढ महीनासम्मको माग धान्न सक्छ । त्यसपछिको अवस्थामा चुनढुंगाकै अभावमा प्लान्टहरू बन्द हुने अवस्था आउने न्यौपानेले बताए । अहिले चुनढुंगा उत्खनन गर्न सहजीकरण नगर्ने हो भने क्लिंकर र सिमेन्ट उत्पादनमा समस्या आउने उनको भनाइ छ ।

‘सरकारले निर्णय गरे पनि स्थानीयले खानीसम्म जान नदिएकाले उत्खनन गर्न सकिएको छैन,’ उनले भने, ‘स्थानीय तहले सहजीकरण गरे खानीस्थलबाट केही दूरीमा ल्याएर स्टक गर्ने र पछि कारखानामा ल्याउन सहज हुने थियो ।’ उद्योग खोल्न दिने निर्णयपछि प्रधामन्त्री केपी शर्मा ओलीले लकडाउन खुकुलो बनाएको भन्दै असन्तुष्टि जनाएपछि उत्पादन कार्य अघि बढाउन नसकिएको उद्योगी बताउँछन् ।

दुई दशककै अवधिमा सिमेन्ट र क्लिंकरमा आत्मनिर्भर बनेको नेपाली सिमेन्ट तथा क्लिंकर उद्योग कच्चा पदार्थकै अभावका कारण समस्यामा पर्ने देखिएको छ । चुनढुंगा उत्पादन नहुँदा सिमेन्ट उत्पादन गर्न नसकिने र चुनढुंगाकै अभाव भए क्लिंकर पनि भारतबाट आयात गर्नुपर्ने हुन सक्छ । यस्तो समस्या प्रदेश नं. १ मा रहेका सिमेन्ट तथा क्लिंकर उद्योगमा देखा पर्न थालेको छ । सिमेन्ट उद्योगलाई क्लिंकर अभाव हुँदा केही उद्योग बन्दसमेत भएका छन् भने केही भारतबाट क्लिंकर आयात गर्ने तयारीमा छन् ।

सिमेन्टका लागि चाहिने ८० प्रतिशत कच्चा पदार्थ चुनढुंगा नेपालमै उपलब्ध हुन्छ । तर, अहिले क्लिंकर उत्पादकहरू खानीसम्म जान पाएका छैनन् । फलस्वरूप सीमाक्षेत्र र पूर्वका सिमेन्ट तथा क्लिंकर उद्योगहरूले भारतबाट क्लिंकर ल्याउने तयारी गरिरहेको एक सिमेन्ट उत्पादकले बताए । नेपाल सिमेन्ट उत्पादक संघका अध्यक्ष धुव्र थापाले निर्णय भएको झन्डै १ हप्ता हुँदासमेत तल्लो तहबाट सहजीकरण नहुँदा खानीसम्म जान नसकिएको बताए ।

‘सरकारले निर्णय गरे पनि खानीसम्म जान सवारी पास, खानी भएको जिल्लाप्रवेश र खानीबाट पुनः चुनढुंगा ल्याउने व्यवस्था गरिएको छैन,’ थापाले भने, ‘यो विषयमा कसैले पनि उत्पादकहरूलाई सहजीकरण गरेका छैनन् ।’ केही समयका लागि भण्डारले पुग्ने भए पनि आगामी महीनाहरूका लागि भने कच्चापदार्थ शून्य रहेको उनको भनाइ छ । स्वास्थ्य परीक्षण गर्न स्वास्थ्यकर्मीको उपलब्ध गराएर स्थानीय तह, प्रमुख जिल्ला अधिकारीले सहयोग गर्नुपर्नेमा उनले जोड दिए ।

थापाले भने, ‘खानीमा ५ देखि ६ जना भए पुग्छ, खानी सञ्चालन गर्न सरकारले सहयोग तथा सहजीकरण गर्न ढिलाइ गरिरहेको छ, ७० देखि ८० लाख टन चुनढुंगा भण्डारण गर्न सके १ वर्षसम्म क्लिंकर तथा सिमेन्ट उत्पादनका लागि पर्याप्त हुन्छ ।’ अहिले केही उद्योगसँग भएको सीमित स्टक सिमेन्ट हाइड्रो र पुल निर्माणका लागि प्रयोग भएको तर अब चुनढुंगा नै नहुँदा क्लिंकर बन्न नसक्ने र त्यसले सिमेन्ट उत्पादनमै असर गर्नेछ ।

सरकारले तोकेका स्वास्थ्य सुरक्षाका मापदण्डहरू पालना गर्दै भौतिक दूरी कायम राखेर उत्खनन गर्न तयार रहेको उत्पादकहरूको भनाइ छ । उत्खनन र ढुुवानीका लागि धेरै जनशक्ति आवश्यक नपर्ने, ढुवानीका साधन ट्रक, उत्खननका लागि एस्काभेटर पनि उत्पादकहरूसँग नै भएको र श्रमिकहरू पनि खानीक्षेत्रमै भएकाले कुनै जोखिम नहुने उत्पादकहरू बताउँछन् । क्लिंकर बनाउन ८० देखि ९० प्रतिशत चुनढुंगा आवश्यक पर्छ । वर्षायाममा भने चुनढुंगा खानीसम्म पुग्न नै कठिन हुने भएकाले यो कार्य रोकिन्छ ।
अहिले प्रत्येक उद्योगले उत्पादन क्षमताअनुसार न्यूनतम ३ लाखदेखि १० लाख टन चुनढुंगा भण्डारण गर्नुपर्छ । संघका अनुसार मुलुकभर २१ ओटा क्लिंकरसहित सिमेन्ट उत्पादन गर्ने उद्योगको संख्या ६१ छ । क्लिंकरको माग वार्षिक ८ मिलियन टन छ भने उत्पादन क्षमता ८ दशमलव २ मिलियन टन छ । सिमेन्टको खपत वार्षिक १० मिलियन टन रहेको छ भने क्षमता १५ टन रहेको संघको भनाइ छ ।

नेपालमा सिमेन्ट उद्योगका प्लान्टहरू अंधिकांश तराई क्षेत्रमा छन् भने चुनढुंगा खानी महाभारत क्षेत्रमा पर्छन् । क्लिंकर बनाउन ललितपुर, चितवन, धादिङ, अर्घाखाँची, दाङ, पाल्पा, प्युठानलगायत जिल्लाबाट चुनढुंगा ल्याउने गरिन्छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)