जेठ ८, धनगढी । सुदूरपश्चिम प्रदेशको नौओटै जिल्लाबाट गरी २ लाख २६ हजार ७३ व्यक्ति वैदेशिक रोजगारीमा गएको पाइएको छ । यो संख्या भारतबाहेक कामका लागि सम्बन्धित जिल्ला प्रशासन कार्यालयबाट पासपोर्ट बनाएर बाहिरिएको संख्या हो ।
कतार, मलेशिया, दुवैलगायत मुलुकहरूमा कामका लागि बाहिरिएको संख्या सबैभन्दा बढी छ । घरखेत बैंक धितोमा राखेर वैदेशिक रोजगारीमा गएकाहरूले कोभिड १९ को विश्व महामारी र जारी लकडाउनका कारण अधिकांश मजदूरले काम गर्न नपाएपछि रोजगारदाता कम्पनीले पारिश्रमिक नदिएपछि कतै बन्धकमा राखेको घरखेत गुम्ने त होइन भन्ने चिन्ता कामदार र उनीहरूको परिवारमा परेको छ ।
लकडाउनयता कामका लागि बाहिरिएका कुनै पनि मजदूरले रकम पठाउन नसकेको अवस्थामा वैदेशिक रोजगारमा निर्भर श्रमिकका परिवारको दैनिक जीवनयापन कष्टकर बन्दै गएको अधिकारीहरु बताउँछन् । दुवै छोरा डेढ वर्षअघि मलेशियामा रहेको बताउँदै धनगढी उपमहानगरपालिका–१३ राजपुरकी पदमादेवी कलौनीले फागुनयता छोराहरूले पैसा पठाउन नसकेको गुनासो पोखिन् ।
सबैभन्दा बढी वैदेशिक रोजगारीमा कैलालीबाट ६२ हजार ६४४, कञ्चनपुरबाट ३८ हजार ३९८, बाजुराबाट ८ हजार ५४, बझाङबाट २२ हजार ८४५, दार्चुलाबाट ६ हजार ८६४ तथा बैतडीबाट २१ हजार ३९ व्यक्ति रहेका छन् । केही वर्षयता वैदेशिक रोजगारीमा जानेहरूको संख्या बढ्दै गएका बेला फागुनयता भने कोभिड १९ का कारण पासपोर्ट बनाउन कोही पनि नआएको सम्बन्धित जिल्ला प्रशासन कार्यालयको भनाइ छ ।
वैदेशिक रोजगारी रहर नभएर बाध्यता भएको बताउँदै कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले वार्षिक करोडौं रुपैयाँ रेमिट्यान्सको रूपमा सुदूरपश्चिम भित्रिने गरेकोमा हाल आउन छोडेको बताए । ‘यसले श्रमिक र उनको परिवारलाई त आर्थिक संकट परेको छ नै साथसाथै प्रदेशको आगामी विकासमा पनि अवरोध आउने देखिन्छ,’ उनले भने ।
डँडेलधुरा जिल्लाबाट कामका लागि बाहिरिएको संख्या ११ हजार ६७०, डोटीबाट २३ हजार ५४४ तथा अछामबाट ३१ हजार १५ रहेको अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक तथा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२० को अध्ययन प्रतिवेदनले देखाएको छ ।
ठूलो संख्यामा वैदेशिक रोजगारीमा रहेकाहरूको मानवीय एवं आर्थिक सुरक्षामा राज्यले विशेष ध्यान दिन नसके यसले ठूलै चुनौती खडा गर्ने इन्सेक सुदूरपश्चिम प्रदेश प्रतिनिधि कृष्णबहादुर विकले बताए । यो बाहेक एउटा छुट्टै संस्थाले गरेको एक अध्ययनअनुसार भारतका विभिन्न राज्यहरूमा मात्र सुदूरपश्चिमबाट कामका लागि ६ लाखभन्दा बढी श्रमिक रहेको उल्लेख छ ।