ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

भन्सारमा पार्किङ र गोदामको शुल्क फेरि लिन थालियो

२०७७ जेठ, ९  
Aarthik Abhiyan 18th Anniversary NA
author avatar वेदराज पौडेल

विराटनगर । कोरोना संकटका कारण सरकारले भारत र तेस्रो मुलुकबाट आउने सवारीलाई भन्सारको यार्डभित्र लिइँदै आएको पार्किङ, गोदामलगायत शुल्कमा पूर्ण छूट दिन निर्देशन दिएको १ महीनापछि विराटनगर एकीकृत भन्सार जा“चचौकीमा आउने मालवाहक सवारीलाई ट्रान्स नेपाल फ्रेन्ट सर्भिसेज्ले पुनः शुल्क लिन थालेको छ ।

अर्थ मन्त्रालय र सरकारले नै छूट दिने निर्णय गरेपछि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गतको नेपाल इन्टरमोडल यातायात विकास समितिले चैत २८ गतेदेखि शुल्क नलिन ट्रान्स नेपाल फ्रेन्ट सर्भिसेज् प्रालि एकीकृत जा“चचौकीलाई निर्देशन दिएको थियो । तर, विनाकुनै कारण समितिले जेठ ६ गतेदेखि पार्किङ र गोदाम शुल्क लिनु भन्ने लिखित निर्देशन ट्रान्स नेपाललाई दिएपछि भन्सार परिसरमा रहेका ढुवानी र अन्य सवारीसाधनको शुल्क लिन थालिएको हो । कोरोना विपत्ति नसकिँदै फेरि शुल्क लिन शुरू गरेकोमा उद्योगी व्यवसायीले विरोध गर्दै लकडाउनको अवधिभरि शुल्क पूर्ण छूट हुनुपर्ने माग गरेका छन् ।

समितिका निर्देशक हेमेन्द्रमोहन शाहीद्वारा हस्ताक्षरित पत्रमा कोरोनाका कारण चैत २८ गतेदेखि दिइँदै आएको गोदाम भाडा, सवारीसाधन कन्टेनरको पार्किङ शुल्क जेठ ४ गतेसम्म मात्रै दिने भनिएको छ । जेठ ६ गतेबाट पुनः शुल्क लाग्ने निर्णय भएको भन्दै कार्यान्वयनका लागि ट्रान्स नेपाललाई विकास समितिले पत्र पठाए पनि शुल्क लिनुको कारण भने खुलाइएको छैन ।

कोरोनाका कारण भारत र तेस्रो मुलुकबाट आउने सवारीको भाडा बढेकाले उद्योगी व्यवसायी खर्च कसरी कम गर्ने भन्नेमा चिन्तित छन् ।

यस्तोमा उपभोक्तालाई मूल्यमा थप भार पर्नेगरी पार्किङ शुल्क लिन थालिनु उपभोक्ताको अधिकार माथिको बेवास्ता भएको नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ का कार्यवाहक अध्यक्ष राजेन्द्र राउतले बताए ।

उद्योगी व्यवसायीहरूले उद्योग बचाउन र रोजगारी सृजना गरिरहन आर्थिक भार पर्ने विषयमा छूट माग गरिरहेका बेला कोरोना विपत्ति नसकीकनै शुल्क लिनथाल्नु भनेको थप आर्थिक भार थप्नु हो । त्यसैले लकडाउनको अवधिभर शुल्क लिन नहुने राउतको भनाइ छ । कोरोनाका कारण भारतबाट नेपाल आउने सवारीको भाडा र खर्च डेढ गुनाले बढेकाले आर्थिक भार कम पार्न भन्सार परिसरमा लिइँदै आएको शुल्क पूर्ण छूट गर्नुपर्ने उनले बताए ।  

शुल्क लिँदा उद्योगी व्यवसायी र ढुवानी व्यवसायीमाथि अन्याय भएको विराटनगर भन्सार एजेन्ट संघका अध्यक्ष विजेन्द्र परासरले बताए । सरकारले महामारीका बेलामा उद्योगी व्यवसायी र ढुवानी व्यवसायीलाई छ्रूट दिएर प्रोत्साहन गर्नुपर्नेमा उल्टै शुल्क लिने निर्णय गरेर थप भार थपिदिएको परासरले बताए । उनले भने, ‘संसारभरिका मुलुकका सरकारहरूले व्यवसायी उद्योगीलाई कसरी बचाउन सकिन्छ भनेर अत्यधिक लचिलो भएको अवस्थामा हाम्रो सरकार भने कठोर भएर आएको छ ।’ सरकारले तत्कालै इन्टरमोडल यातायात विकास समितिको निर्णय खारेज गरी कोरोना विपत्ति रहुन्जेलसम्म भन्सार गोदाम र पार्किङ शुल्क मिनाहा यथावत् गर्न परासरले माग गरे । शुल्क किन पुनः लिन थालियो भन्ने विषयमा ट्रान्स नेपालका विराटनगर प्रबन्धक गणेश घिमिरेले आफूहरूले निर्देशनबमोजिम काम गरेको बताए ।

प्रबन्धक घिमिरेका अनुसार लकडाउनको समयमा ५ सय गाडी आउँछ र दैनिक २ लाख ५० हजारसम्म पार्किङ शुल्क उठ्दै आएको छ । अहिले भन्सारमा २ सय गाडीमात्र आइरहेको उनले जानकारी दिए । अहिले १ लाख ५० हजार दैनिक गोदाम र पार्किङ शुल्क उठिरहेको छ ।

भन्सार परिसरमा प्रवेश गरेको २४ घण्टासम्म गोदाम र पार्किङको शुल्क नलाग्ने तर २४ घण्टा कटेपछि ठेला रिक्साको ३० रुपैयाँ, जीप/कारको १०० रुपैयाँ, ट्रकको ३०० र कन्टेनर तथा लरीको ४०० रुपैयाँ शुल्क लाग्छ । त्यसै गरी भन्सार गोदाममा सामग्री राख्दा प्रतिटन ८४ रुपैयाँ लाग्ने गरेको छ । ७ दिनपछि भने यो शुल्क थप हुँदै जाने नियम छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)