ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

म्याग्दीमा भारतबाट फर्किने बढे, क्वारेन्टाइनको क्षमता बढाइँदै

२०७७ जेठ, १२  
गण्डकी प्रदेश
Aarthik Abhiyan 18th Anniversary NA
author avatar ध्रुवसागर शर्मा

म्याग्दी । नेपाल–भारत सीमानामा अलपत्र म्याग्देलीहरू धमाधम आफ्नो गृह जिल्ला फर्किंदै छन् । शुक्रवार भारतको नौतनवा नाकामा अलपत्र परेका ११ जनालाई म्याग्दीमा ल्याइएको छ । उनीहरूलाई बेनीको वेष्ट प्वाइन्ट आवासीय माविको क्वारेन्टाइनमा राखिएको छ ।नेपाल–भारतका विभिन्न सीमा नाकाहरूमा ६० जना म्याग्देली अलपत्र परेका छन् । उनीहरूलाई जिल्लामा ल्याउने तयारी भइरहेको जिल्ला प्रशासन कार्यालय म्याग्दीले बताएको छ । उनीहरूलाई राख्न म्याग्दी सदरमुकाम बेनी बजारस्थित म्याग्दी बहुमुखी क्याम्पसमा ५१ बेड क्षमताको क्वारेन्टाइन निर्माण गरिएको छ । नेपाल भारत सीमा नाकामा आएर अलपत्र परेका म्याग्देलीलाई उद्धार गरी म्याग्दी ल्याएपछि राख्न क्वारेन्टाइन निर्माण गरिएको हो ।

क्वारेन्टाइन निर्माणका लागि नेपाली सेना, सशस्त्र, नेपाल प्रहरी, र स्वयम्सेवक युवाहरू खटिएका छन् । जिल्लामा कोरोना भाइरसको संक्रमण फैलिन नदिन भारतबाट फर्किएका म्याग्देलीहरूलाई १४ दिन क्वारेन्टाइनमा राख्ने व्यवस्था गरिएको प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले बताए । केही म्याग्देली सीमापारि भारतीय भूमिमा भएकाले उनीहरूको पनि उद्धारको प्रयास भइरहेको उनले बताए । सुरक्षा र अन्य सेवा सुविधाका हिसाबले पनि बेनीमा राख्न ठीक हुने भएकाले क्वारेन्टाइन क्षमता विस्तार गरिएको प्रजिअ ढकालले बताए । क्वारेन्टाइनमा बसेकाहरूको खानपानका लागि बेनी नगरपालिका लगायत स्थानीय तहहरूले आर्थिक व्यवस्थापन गर्नेछन् । कमाण्ड पोष्टको निर्णय बमोजिम क्वारेन्टाइन निर्माण र व्यवस्थापनका लागि आवश्यक सहयोग नगरपालिकाले गरेको बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठले बताए । कोरोनाको महामारी फैलिएको भारतबाट म्याग्देलीहरू जिल्ला फर्किन थालेका छन् । उनीहरूलाई राख्न जिल्लास्थित राजनीतिक दल, स्थानीय तहका जनप्रतिनिधि, सुरक्षा निकाय लगायत सरोकारवाला निकाय क्वारेन्टाइन निर्माणमा जुटेका छन् ।

 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)