ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

कैलालीको सीमा नाकामा स्वदेश फर्कनेको भीड

२०७७ जेठ, १२  
सुदूरपश्चिम प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar वीरेन्द्र भट्ट

धनगढी । भारतमा कोरोना संक्रमितको संख्या दिनानुदिन बढ्दै गएपछि नेपालीहरू स्वदेश फर्किने क्रम बढेको छ । कैलालीको दक्षिणी सीमा नाका गौरीफन्टा र पश्चिमी नाका कञ्चनपुरको गड्डाचौकी हुँदै स्वदेश फर्कने नेपालीको भीड एक सातायता ह्वात्तै बढेको छ ।

भारतीय पक्षले रेल तथा बसको माध्यमबाट नेपालीहरूलाई सीमा नाकासम्म ल्याइपुर्‍याएपछि यहाँको प्रदेश तथा स्थानीय सरकारलाई सीमासम्म आइपुगेका नेपाली श्रमिकको व्यवस्थापनमा चुनौती थपिएको छ । बालबालिकादेखि वृद्धवृद्धासम्म सीमा नाकामा आइपुगेपछि अहिले व्यक्तिगत विवरण मात्र लिएर प्रदेश र स्थानीय सरकारले बसको व्यवस्था गरी उनीहरूलाई सम्बन्धित जिल्ला पठाउने गरेको कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले बताए ।

भारतमा कोरोना संक्रमणको उच्च जोखिममा रहेका शहरबाटै नेपालीहरू आइपुगेकाले गाउँगाउँमा संक्रमणको त्रास फैलिएको जनगुनासो छ । यो एक साताको अवधिमा मात्र कैलालीको गौरीफन्टा र कञ्चनपुको गड्डाचौकी नाकाबाट ७ हजारको हाराहारीमा नेपाली श्रमिकको प्रवेश भएको प्रशासनको तथ्यांक छ । तीमध्ये ७ सयको संख्यामा मात्र सीमा नाकामै आरडीटी परीक्षण गरिएको पाइएको छ । संक्रमित क्षेत्रबाट आएकाहरूलाई कुनै परीक्षणविना गाउँगाउँमा प्रवेश दिँदा शुक्रवार, शनिवार र आइतवार गरी कैलालीका तीन, बैतडीका ५, डँडेलधुरा र अछाममा एक÷एक व्यक्तिमा कोरोना पोजेटिभ देखिएको थियो । ती व्यक्ति यही भीड हुँदै भारतबाट यहाँ प्रवेश गरेका थिए । यो समाचार तयार पार्दासम्म यो प्रदेशभित्र कोरोना संक्रमितको संख्या १५ पुगेको छ । पाँचजना भने निको भएर यसअघि नै घर फर्किसकेका छन् ।

सीमा नाकामा जाँच नगरी गाउँगाउँमा पठाउने हो भने संक्रमितको संख्या भयावह भएर हाम्रो स्रोत र जनशक्तिले भ्याउन नसकी उपचारमा समस्या आउन सक्ने चिकित्सकहरूको चेतावनी छ । यो प्रदेशका १५ अस्पतालमध्ये सेतीमा १० र महाकाली अस्पतालमा ४ आईसीयु बेड छन् । त्यस्तै सेतीमा ६ र महाकाली अस्पतालमा दुई भेन्टिलेटर मात्र छन् भने ९ जिल्ला र प्राथमिक स्वास्थ्य केन्द्र गरी १५ अस्पतालमा आइसोलेसन बेड संख्या १६३ रहेको प्रदेशका सामाजिक विकासमन्त्री कृष्णराज सुवेदीले बताए ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)