ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

नाकामा कोरोना संक्रमणको त्रास : आयात नियमनको सुरक्षाविधि कागजमै सीमित

२०७७ जेठ, १२  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar ओमप्रकाश खनाल

वीरगञ्ज । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भन्सार नाकामा खटिएका कर्मचारीलाई कोरोना संक्रमणको उच्च जोखिममात्र औंल्याएन, १ महीनाअघि आयात नियमनको सुरक्षाविधि अपनाउन आग्रह गर्‍यो । आयातित मालसामान, ढुवानीका साधन र चालकबाट कोरोना संक्रमण भित्रिने सम्भावना न्यूनीकरण गर्न मन्त्रालयको आग्रहबारे भन्सार विभागले तत्कालै मातहतका कार्यालयलाई जानकारी पनि गरायो । तर, आयातनिर्यातका हिसाबले मुख्य नाका वीरगञ्जमै अहिलेसम्म यो सुरक्षाविधि लागू हुन सकेको छैन ।

वीरगञ्ज नाकास्थित तीनओटा भन्सारका कर्मचारी, आयातकर्ताका एजेन्ट र कामदार कोरोना संक्रमणको त्रास र जोखिममा काम गरिरहेका छन् । मुख्य नाकामै संक्रमणविरुद्धको कमजोर सतर्कताले अन्य भन्सारमा सतर्कताको अवस्था सजिलै अनुमान गर्न सकिने वीरगञ्ज भन्सारका कर्मचारीहरू बताउँछन् ।

मन्त्रालयले तयार पारेको सुरक्षाविधिको कमजोर कार्यान्वयनबारे वीरगञ्ज भन्सारले भन्सार विभागको ध्यानाकर्षण गराउन भने छोडेको छैन । वीरगञ्ज भन्सारका प्रमुख भन्सार प्रशासक ढुण्डीप्रसाद निरौलाले गत बिहीवार पनि विभागमा महानिर्देशकलाई पत्र लेखेर नाकामा प्रभावकारी सुरक्षा सतर्कताको व्यवस्था मिलाइदिन आग्रह गरे ।

वीरगञ्ज भन्सारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मापदण्डमात्रै होइन, भन्सार ऐनमै भएको व्यवस्था कार्यान्वयन गरेर जोखिम घटाउने उपाय पनि सुझाएको छ । यस्तो अनुरोध गर्ने यो कार्यालयमात्र एक्लो होइन, वीरगञ्जकै सुक्खा बन्दरगाह र विराटनगर भन्सारले पनि विभागलाई यसबारेमा ध्यानाकर्षण गराएका छन् । तर, १ महीना बितिसक्दा पनि भन्सार विभागले यसमा निर्णय दिन सकेको छैन । वीरगञ्जमा कोरोनाका संक्रमित बढ्दै गएपछि भन्सार कर्मचारी र सरोकारका पक्ष त्रासैत्रासमा काम गरिरहेको निरौलाले बताए । स्वास्थ्य मन्त्रालयले आयातित मालसामानको भन्सार जाँचपासका लागि ढुवानीका साधन निःसंक्रमणको प्रमाण पेश गर्नुपर्ने कार्यविधि बनाएको छ ।

ढुवानीका साधन निःसंक्रमण गरेर कन्साइन्मेन्ट लोड गरिएको प्रमाणपत्र अनिवार्य गरिएको छ । यो प्रावधान अहिलेसम्म कार्यान्वयन हुन सकेको छैन । यो स्थानीय स्तरबाट सम्भव नभएको भन्दै भन्सार कार्यालयले पहलका लागि विभागलाई आग्रह गरेको हो ।

आयात अनुमतिपत्र जारी गर्दा यो शर्त समावेश गर्नुपर्ने भए पनि कार्यान्वयनमा आउन सकेको छैन । भन्सारले नाकामा आइसकेका ढुवानीका साधनलाई निःसंक्रमण गरेर यार्डमा छिराउने गरेको छ ।

यसमा स्थानीय सरकार र प्रशासनको समन्वय हुने भनिए पनि भन्सार एक्लैले गर्नुपरेको गुनासो भन्सारका अधिकारीहरूको छ ।

स्वास्थ्य मन्त्रालयको मापदण्डमा मालसामान लिएर आउने चालक र सहचालकको स्वास्थ्य परीक्षण गर्नुपर्ने उल्लेख छ । ‘उनीहरूलाई मापदण्डअनुसार निःसंक्रमण गरेरमात्रै भन्सारको यार्डमा प्रवेश गराइनुपर्नेमा यात्रा विवरण र सामान्य ज्वरो नापेर छोड्ने गरिएको छ,’ निरौलाले भने ।

जाँचपासमा संलग्न कर्मचारीको सुरक्षाविधिसमेत अवलम्बन गर्न नसकिएको निरौलाको भनाइ छ । कन्साइन्मेन्टको जाँचपासमा संलग्न कर्मचारीलाई पूरै जिउ छोप्ने कपडा र आँखाको सुरक्षाका लागि ठूलो आकारको चश्मा लगाउनुपर्ने छ । दुवै हातमा रबरको डिस्पोजेबल पन्जा र सर्जिकल मास्क लगाउन भनिएको छ । भन्सारका कर्मचारी पन्जा र मास्कको भरमा काम गरिरहेका छन् ।

उपलब्ध भएसम्म सुरक्षा सतर्कताका सबै उपाय अपनाइएको विभागका उपमहानिर्देशक श्यामप्रसाद भण्डारीले बताए । ‘नाकामा आइपुगेका ढुवानीका साधनलाई निःसंक्रमण गरिएको छ । त्यहाँ खटिने कर्मचारीका लागि पन्जा, मास्क, सेनिटाइजरलगायत साधन उपलब्ध गराएका छौं,’ भण्डारीले आर्थिक अभियानसित भने ।

सेवाग्राहीसँग कुराकानी गर्दा कम्तीमा २ मीटरको दूरी कायम गर्ने र भन्सारमा मालसामानको लोडअनलोडमा खटिने मजदूरबीच न्यूनतम सामाजिक दूरी कायम गरिने भनिएको छ । पर्याप्त पूर्वाधार नहुँदा यो विधि कार्यान्वयन हुन नसकेको निरौलाले बताए ।  

पूर्वाधारको व्यवस्थाका लागि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा पहल गर्न विभागलाई आग्रह गरेको छ । वीरगञ्जको आईसीपी भन्सारको सञ्चालन यो मन्त्रालयमातहतको नेपाल इन्टरमोडल यातायात विकास समितिको जिम्मामा छ । नाकाबाट भित्रिने ताजा तरकारी र फलपूmलबाट पनि कोरोना भाइरस भित्रिने सम्भावना भएकाले यसका लागि पनि स्पष्ट निर्देशनको माग भन्सारले गरेको छ ।

कार्यविधिमा भन्सार प्रक्रियाका लागि आवश्यक कागजात सम्भव भएसम्म विद्युतीय माध्यमबाट हेर्ने व्यवस्था मिलाउन भनिएको छ । तर, भन्सार ऐनमा भएको आधिकारिक पासवर्डबाट जाँचपास गर्न सकिने प्रावधान समेत अहिलेसम्म कागजमै सीमित छ ।

संक्रमण  फैलिएपछि विद्युतीय माध्यमबाटै आयातित मालसामानको जाँचपासको विकल्प भन्सार कार्यालयहरूले सुझाएका थिए । भन्सार ऐन २०६४ को दफा ८९ मा (घ) मा भन्सार अधिकृतले कम्प्युटर प्रणालीमा भएको अभिलेखअनुसार आधिकारिक पासवर्डमार्फत अघि बढाएको कागजी प्रक्रियामा दस्तखत नभए पनि त्यस्तो कागजातलाई दस्तखत भएसरह मानिने व्यवस्था छ ।

अनलाइन जाँचपासमा अन्य पक्षबाट भन्सारको प्रविधि दुरुपयोगको जोखिम भएकाले तत्काल यो विकल्पमा जान नसकिएको उपमहानिर्देशक भण्डारीले बताए । प्रविधि अद्यावधिक र सुरक्षित बनाउने काम भइरहेकाले छिट्टै उपयोगमा ल्याइने दाबी पनि उनले गरे ।

अहिले अनलाइन विवरणका आधारमा आयातकर्ता वा प्रतिनिधिले ल्याएको कागजातमा भन्सार कर्मचारीले हस्ताक्षर गर्छन् । यो प्रक्रियामा कर्मचारी र सेवाग्राहीको सीधा सम्पर्क हुँदा संक्रमण फैलिने जोखिम पनि बढी हुने कर्मचारी बताउँछन् । अनलाइनबाट आएको कागजातमा पासवर्डमार्फत प्रक्रिया अघि बढाउँदा प्रत्यक्ष सम्पर्कको अवस्था रहँदैन ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)