ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

कोरोना बीमा : जोखिम बढ्दै गएपछि तोकियो मापदण्ड

२०७७ जेठ, १२  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar मिलन विश्वकर्मा

काठमाडौं । नेपालमा कोरोना भाइरसको जोखिम बढ्दै गएपछि बीमा समितिले कोभिड–१९ बीमालेख (कोरोना बीमा) मा पनि विभिन्न मापदण्ड तोकेको छ । बीमा समितिले गत वैशाख ४ गते विनाशर्त उक्त बीमालेख जारी गरेको थियो । तर, अहिले परिपत्र जारी गर्दै तोकिएको शर्त पूरा गरेर मात्र उक्त बीमालेख विक्री गर्न बीमा कम्पनीहरूलाई निर्देशन दिएको छ ।

समितिले विशेषगरी छिमेकी मुलुकसहित विभिन्न मुलुकबाट आउने व्यक्ति र उनीहरूको परिवारलाई लक्षित गरेर मापदण्ड तोकेको हो । नयाँ व्यवस्थाअनुसार विदेशबाट फर्किएका व्यक्ति १५ दिन अनिवार्य रूपमा क्वारेन्टाइनमा बसेको हुनुपर्नेछ । त्यसपछि आप्mनो परिवारमा समावेश भएको थप १५ दिनपछि मात्र उक्त व्यक्तिले यो बीमालेख खरीद गर्न पाउने व्यवस्था गरिएको छ ।

विदेशबाट फर्किएको व्यक्ति र उसको परिवारले यस्तो बीमा गर्दा अनिवार्य रूपमा आरडीटी परीक्षण गराउनुपर्ने र त्यो नेगेटिभ हुनुपर्ने परिपत्रमा उल्लेख छ ।

परिपत्रअनुसार विदेशीबाट आएको व्यक्ति क्वारेन्टाइनमा बसेको भनेर सम्बद्ध स्थानीय तहले प्रमाणित गर्नुपर्ने छ । आरडीटी परीक्षणको रिपोर्ट भने स्वास्थ्य मन्त्रालयअन्तर्गतको निकायले प्रमाणित गरेको हुनुपर्ने छ ।

कम्पनीहरूले यो बेहोरा उल्लेख भएको बीमालेखको फारम आप्mनो आधिकारिक वेबसाइटमा राख्नुुपर्नेछ । फारम भरेर स्वीकृत भएपछि मात्र बीमालेख जारी हुने व्यवस्था कम्पनीले गर्नुपर्नेछ । अनलाइनबाट बीमालेखा विक्री गर्दा पनि अनिवार्य रूपमा प्रमाणपत्र समावेश गर्नुपर्नेछ ।

आइतवार बेलुकीसम्म नेपालमा ६०३ जनामा कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको छ । तीमध्ये अधिकांश छिमेकी मुलुक भारतबाट आएका व्यक्तिहरू रहेका छन् । उनीहरूबाट नै आफ्नो परिवार र अन्य व्यक्तिहरूमा यो भाइरस पैmलिएका छ । जोखिम बढेकाले कोभिड–१९ बीमालेखमा आवश्यक मापदण्ड तोकिएको समितिका सूचना अधिकारी निर्मल अधिकारीले बताए ।

उनले भने, ‘भारतबाट फर्किने नेपालीहरूको चाप बढ्न थालेको छ । अन्य देशमा वैदेशिक रोजगारीमा गएका नेपाली कामदार पनि फर्किने सम्भावना छ । त्यसैले विशेष खालको अन्डरराइटिङ निर्देशन जारी गरेका हौं ।’ समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले उनीहरूलाई बीमा गरेपछि १५ दिनको प्रतीक्षा अवधि पनि लागू हुने बताए ।
नेपालमा पनि कोरोना भाइरसको जोखिम बढ्दै गएपछि बीमा समितिले बीमक संघसँगको सहकार्यमा वैशाख ४ गते उक्त बीमालेख जारी गरेको थियो । वैशाख ७ गतेदेखि यसको कारोबार शुरू गरिएको थियो । समितिले लघुबीमाअन्तर्गत यो पोलिसी ल्याएकाले निर्जीवन बीमा कम्पनीहरूले लघुबीमा पुलमार्पmत यसको कारोबार गर्दै आएका छन् । त्यसको संयोजन नेपाल बीमक संघले गरेको छ भने बीमालेख इस्यु म्यानेजर शिखर इन्स्योरेन्स रहेको छ ।

पुलमार्फत यो कारोबार गरिएकाले यसबाट हुने व्यवसाय सबै निर्जीवन बीमा कम्पनीहरूलाई बराबर बाँडफाँट गरिनेछ । संघका अनुसार पुनर्बीमामार्फत नेपाल पुनर्बीमा कम्पनीले २० प्रतिशत व्यवसाय पाउनेछ । बाँकी रहेको ८० प्रतिशत जोखिम अर्थात् व्यवसाय भने २० निर्जीवन बीमा कम्पनीहरूलाई बराबर रूपमा विभाजन गरिनेछ ।

बीमक संघको तथ्यांकअनुसार शनिवारसम्म १ लाख ८५ हजार ६८२ जनाले यस्तो बीमा गरेका छन् । त्यसबापत रू. १० करोडभन्दा बढी बीमाशुल्क संकलन भएको छ । बीमालेखअनुसार आम मानिसले रू. १ लाख र रू. ५० हजारको बीमांकमा यस्तो बीमा गर्न सक्छन् । रू.१ लाख बीमांक बीमा गर्दा प्रतिव्यक्ति रू. १ हजार र रू. ५० हजारको बीमांक बीमा गर्दा प्रतिव्यक्ति रू. ५०० बीमा शुल्क लाग्छ । परिवारका सदस्य र संस्थाका कर्मचारीको संयुक्त रूपमा बीमा गर्दा प्रतिव्यक्ति ४० प्रतिशत छूट दिइने व्यवस्था पनि गरिएको छ ।

बीमालेखअनुसार बीमित व्यक्ति कोरोना भाइरस संक्रमित भएको पुष्टि हुनासाथ बीमांक बराबरको रकम भुक्तानी गरिनेछ । यद्यपि, त्यसमा १५ दिनको प्रतीक्षा अवधि भने लागू हुनेछ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)