ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

खस्किँदै वैदेशिक व्यापार

बन्दाबन्दीको निरन्तरताका कारण आयात र निर्यात चैतमा भन्दा वैशाखमा झनै कम

२०७७ जेठ, १३  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar विजय दमासे

काठमाडौं । दुई महीनाभन्दा लामो बन्दाबन्दीको असर नेपालको वैदेशिक व्यापारका सबैजसो सूचकांकमा देखिन थालेको छ । मुलुकको पहिलो र दोस्रो ठूला व्यापारिक साझेदार भारत र चीन दुवैतर्फको आयातनिर्यात नराम्ररी प्रभावित भएको छ ।

चालू आर्थिक वर्ष २०७६्७७ को वैशाखसम्म गत आवको १० महीनाको तुलनामा नेपालको कुल वैदेशिक व्यापार घटेको देखिन्छ भने आयातनिर्याततर्फका सूचकांकहरूमा पनि पछिल्लो समय असर पर्दै गएको भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकले देखाउँछ ।

चैत ११ गतेदेखि मुलुकमा लगाइएको बन्दाबन्दीका कारण वैदेशिक व्यापार चैतको तुलनामा वैशाखमा झनै प्रभावित भएको छ । चालू आवको फागुन महीनामा १ खर्ब ३० अर्ब रुपैयाँ बराबरको कुल वैदेशिक व्यापार हुँदा चैत महीनामा यो ६२ अर्ब २० करोड रुपैयाँमा झरेको थियो ।

कोरोनाका कारण नेपाल र छिमेकी मुलुक भारतमा लगाइएको बन्दाबन्दीले वैशाखमा वैदेशिक व्यापार झनै खस्केर ४६ अर्ब रुपैयाँमा सीमित भएको भन्सार विभागको पछिल्लो तथ्यांकले देखाउँछ ।

वैशाख महीनामा नेपालमा ४२ अर्ब ६० करोड रुपैयाँको आयात भएको थियो भने ३ अर्ब २४ करोड रुपैयाँको निर्यात भएको छ । चैत महीनामा आयात ५८ अर्ब २९ करोड रुपैयाँको थियो भने निर्यात ३ अर्ब ९१ करोड रुपैयाँको थियो । यी २ महीनामा नेपालमा सबैभन्दा बढी खपत हुने पेट्रोलियम पदार्थको आयात घट्दा त्यसको प्रभाव वैदेशिक व्यापारमा देखिएको हो । भन्सार विन्दुबाट सामान पैठारी तथा निकासी सहज नहुँदा त्यसको असर वैदेशिक व्यापारमा देखिएको छ । निर्यातको ठूलो अंश हवाई कार्गोमार्फत हुने गरेको छ । बन्दाबन्दीका कारण चैतको मध्यदेखि नै अन्तरराष्ट्रिय उडान ठप्प भएकाले त्यसको असर निर्यात क्षेत्रमा देखिएको हो ।

चैतको तुलनामा वैशाखमा तरकारी, पेट्रोलियम पदार्थ, आइरन/स्टील, बोइलर मेशिनेरी, सवारीसाधन आयात घटेको छ भने चामल, औषधिजन्य वस्तुको आयात बढेको छ । पाम आयल र भटमासको तेल चैतको तुलनामा वैशाखमा बढेको छ । चैतमा ३ दशमलव ८२ अर्ब रुपैयाँको चामल आयात भएकामा वैशाखमा ४ दशमलव ७३ अर्ब रुपैयाँको आयात भएको छ । चैतमा ९ दशमलव १९ अर्ब रुपैयाँको पेट्रोलियम पदार्थको आयात भएकोमा वैशाखमा यो घटेर ८ दशमलव २८ अर्ब रुपैयाँमा सीमित भएको छ ।

वैशाख महीनामा मात्र भारतबाट २५ अर्ब ४ करोड रुपैयाँको वस्तु आयात भएको छ भने नेपालबाट जम्मा २ अर्ब ९ करोड रुपैयाँको मात्रै निर्यात भएको छ । उत्तरी छिमेकी चीनबाट वैशाखमा १ अर्ब ९८ करोड रुपैयाँको आयात हुँदा नेपालबाट मात्र ३७ लाख रुपैयाँको निर्यात भएको छ । नेपालको निर्यात व्यापारमा पाम आयल र चियाको भूमिका महत्त्वपूर्ण रहे पनि भारतले पाम आयलमा आयातमा अवरोध गरेका कारण नेपालको निर्यात थप कमजोर हुने देखिन्छ ।

कोरोनाका कारण भन्सार विन्दुमा देखिएका अवरोधहरू विस्तारै हट्दै गएको भन्सार विभागका अधिकारीहरू बताउँछन् । बन्दाबन्दीका बेला नाकाहरूमा देखिएको कतिपय समस्या हटाउन ‘र्‍यापिड रेस्पोन्स टीम’ बनाएर उच्च स्तरीय तवरबाट समस्या समाधान भइरहेको भन्सार विभागका महानिर्देशक सुमन दाहालले बताए । उनका अनुसार भारत–चीनतर्पmका कतिपय नाकामा सामान पैठारी तथा निकासीका देखिएको समस्याका सम्बन्धमा तालुकदार निकाय अर्थ मन्त्रालयलाई जानकारी दिइसकिएको छ । नाकाहरूलाई सहज बनाउन परराष्ट्र मन्त्रालमार्फत कूटनीतिक पहल शुरू भइसकेको उनले बताए । चीनतर्पmको रसुवागढी र मेची भन्सार नाकामा समस्या देखिए पनि अरू भने निर्बाध सञ्चालनमा आएको विभागको भनाइ छ ।

उद्योग तथा वाणिज्य मन्त्रालयका पूर्वसहसचिव रविशंकर सैंजूका अनुसार कोरोनाले विश्व अर्थतन्त्रमा नै असर गरिरहेकाले अहिलेको अवस्थामा आन्तरिक उत्पादन वृद्धि गरी वस्तुहरूको आयात घटाउनेतर्फ लाग्नुपर्छ । उनी भन्छन्, ‘अहिले आत्मनिर्भरताको बाटोमा जाने अवसर मिलेको छ । सधैं परनिर्भर हुनुभन्दा उत्पादन बढाऔं, उत्पादित वस्तुलाई बजारसम्म पुर्‍याऊँ ।’ सैंजूका अनुसार सरकारले अब लिने हरेक नीति परनिर्भरता हटाउने खालको हुनुपर्छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)