ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

आन्तरिक उडान शुरू गर्न गृहकार्य जारी

निजी सेवाप्रदायकको मिश्रित प्रतिक्रिया

२०७७ जेठ, १३  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar टीपी भुसाल

काठमाडौं । कोरोना महामारी नियन्त्रणका लागि लगाइएको बन्दाबन्दीसँगै बन्द गरिएको आन्तरिक हवाई उडान सुचारु गर्ने विषयमा गृहकार्य शुरू भएको छ । बन्दाबन्दीकै बीच सीमित ठाउँमा भए पनि आन्तरिक उडान शुरू गर्न पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) अहिले छलफलमा छन् । तर, उडान शुरू गर्ने नगर्ने भन्ने अन्तिम निर्णय उच्चतहबाटै हुनेछ । सरकारले कोराना संक्रमणबाट जोगिन शुरूमा गत चैत ९–१८ गतेसम्म सबै अन्तरराष्ट्रिय उडान बन्द गरेको थियो । आन्तरिक तथा तथा अन्तरराष्ट्रिय हवाई उडानमा लगाएको रोक पछिल्लोपटक जेठ मसान्तसम्म लम्ब्याउने निर्णय भएको छ ।

विश्व स्वास्थ्य संगठन, अन्तरराष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ)लगायत संस्थाको मापदण्डलाई आधार बनाएर आन्तरिक उडान सञ्चालनका लागि छलफल भइरहेको उड्डयन प्राधिकरणले बताएको छ । यसका लागि निर्देशिका बनाउने तयारीमा प्राधिकरण जुटेको यसका महानिर्देशक राजन पोखरेलले बताए । ‘जेठ मसान्तसम्म सबै व्यावसायिक उडान बन्द नै छन् तर पनि उडान खुलाउनुपर्ने अवस्था आएमा कसरी जाने भन्ने बारेमा प्राधिकरणले निरन्तर काम गरिरहेको छ,’ उनले भने ।

पोखरेलका अनुसार अब विमानस्थल सञ्चालन गरिँदा सामाजिक दूरी कायम गरी स्वास्थ्य सर्तकताका सबै उपाय अवलम्बन गरिनेमा जोड दिइनेछ । यसका लागि प्राधिकरणले आफ्ना कर्मचारी तथा निजी विमानसेवा कम्पनीका कर्मचारीहरूका लागि तालीम दिँदै छ ।

‘कोरोना महामारीको पृष्ठभूमिमा अब विमानस्थलको सुरक्षित सञ्चालन कुनै एउटा निकायको भरमा मात्र हुन सक्दैन । त्यसैले अन्य देशमा भइरहेका अभ्यास तथा नियमनकारी निकायहरूका निर्देशन र निर्देशिका अनुसरण गर्दै तयारी गरिरहेका छौं,’ उनले भने ।

सञ्चालन निर्देशिका पारित भएपछि सबै विमानस्थल र विमानसेवा कम्पनीहरूलाई पठाइनेछ । प्राधिकरणका अनुसार निर्देशिकामा स्वास्थ्य मापदण्डअनुरूप सामाजिक दूरी कायमदेखि स्वास्थ्य सतर्कताका लागि सेनिटाइजर, मास्क प्रयोग गर्नेजस्ता विषय समेटिने छन् ।

बन्दाबन्दीको अवधि कतिसम्म बढ्ने निश्चित नभएकाले सुरक्षा मापदण्ड अपनाउँदै उडान शुरू गर्नुको विकल्प नभएको हवाई सेवा सञ्चालक संघ (आयोन) का प्रवक्ता योगराज शर्मा कँडेल बताउँछन् । उनले विमान कम्पनीहरू नियामक निकायले तयार पारेको निर्देशिकाबमोजिम सेवा शुरू गर्न तयार रहेको र सोहीअनुसार तयारी गरिरहेको बताए ।

कँडेलका अनुसार अहिले फिक्सड विङतर्फ सरकारी नेपाल वायुसेवा निगम र निजीतर्फ सीता एअर, समिट र तारा एअरले कार्गो उडान सेवा दिइरहेका छन् । त्यस्तै उद्धारका लागि माउन्टेन, कैलास, सिम्रिक, मनाङ र हेलि एभरेस्टले उडान गरिरहेका छन् ।

सरकारको तयारीप्रति निजी वायुसेवा कम्पनीहरूले मिश्रित प्रतिक्रिया दिएका छन् । उनीहरूले आफूहरू तयार रहे पनि लकडाउनको अवस्थामै व्यावसायिक उडान त्यति प्रभावकारी हुन नसक्ने बताएका छन् । निजीक्षेत्रको श्री एअरलाइन्सका म्यानेजर अनिल मानन्धरले बन्दाबन्दीकै बीच उडान शुरू गर्नुको कुनै अर्थ नभएको बताए । ‘हामी त तयार नै छौं तर जबसम्म सार्वजनिक यातायात शुरू हुँदैन तबसम्म जहाज उडाएर मात्रै हुँदैन,’ उनले भने ।

बुद्ध एअरका म्यानेजर रूपेश श्रेष्ठले सरकारले निर्देशिका बनाई वातावरण सहज बनाए आफूहरू तयारी अवस्थामै रहेको बताए । ‘हामी तयारी अवस्थामै छौं । बुद्ध एअरले त आफ्नो आन्तरिक कार्यविधिसमेत बनाएर बसेको छ । अब कहिले खुल्ने कसरी चलाउने त्यो नियामक निकाय र सरकारले भन्ने कुरा हो,’ उनले भने ।

तत्काल उडान गर्ने भनिएका विमानस्थलदेखि जिल्ला सदरमुकाम या प्रदेश सदरमुकामसम्म सुरक्षा अपनाउँदै यातायात सेवाको व्यवस्था गर्नुपर्ने सुझाव आयोनले दिएको कँडेल बताउँछन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)