जेठ १३, पर्वत । पर्वतको फलेवास नगरपालिकाले बाँझो जमीनको उपयोग गर्ने नीति कार्यान्वयन गरेको छ । नगर कार्यपालिकाको सोमवार बसेको बैठकले बाँझो जमीनको उपयोग गरी खेतीपाती गर्ने नीति पारित गरेको हो ।
पछिल्लो समय विदेशबाट फर्किने यूवालाई कृषितर्फ आकर्षित गर्ने र उत्पादनमा जोड्ने नगरपालिकाको योजना छ ।
उत्पादन बढाउन, रोजगारी सृजना गर्न र खाद्य संकट कम गर्न किसानलाई जमीन उपयोगीताको आधारमा अनुदान दिन लागेको नगरप्रमुख पदमपाणि शर्माले जानकारी दिए ।
‘प्रतिरोपनी रू. दुई हजार किसानलाई प्रोत्साहन दिने निर्णय गरेका हौँ,’ नगरप्रमुख शर्माले भने, ‘दुई वर्षदेखि बाँझो रहेको जमिनमा खेती गरेको हुनुपर्ने कार्यविधि बनेको छ ।’
परम्परागत रुपमा हुँदै आएको धान, मकै, कोदो, गहुँ उत्पादन गर्न किसानलाई प्रेरित गर्ने कार्यक्रम रहेको शर्माले बताए ।
नगरपालिकाले बाँझो जमिनमा खेती गरे वडा कार्यालयवाट प्राप्त तथ्यांकको आधारमा अनुगमन गरी वास्तविक देखिएमा मल, बीउ व्यवस्थापनका लागि पनि थप अनुदान दिने भएको छ ।
कोरोना भाइरसका कारण वैदेशिक रोजगारी संकटमा पर्ने सक्ने आंकलन छ । कतिपय भारत र तेस्रो मुलुकमा रहेका यूवाहरु धमाधम गाउँ फर्किरहेका छन् ।
नगरपालिकाले विदेशबाट फर्किएका यूवालाई कृषिमा आकर्षित गर्ने लक्ष्य लिएको आर्थिक समितिका संयोजक एवं वडा नम्बर ८ का अध्यक्ष मनवहादुर कुँवरले बताए ।
गतवर्ष शुरु भएका एक वडा एक कृषि फर्म, एक वडा एक पशु फर्म, बिरुवा हाम्रो फल तपाईको लगायतका कृषिसँग सम्बन्धित कार्यक्रम निरन्तर रुपमै सञ्चालन हुने कुँवरले बताए ।
‘नगरपालिकामा रहेको बाँझो जमीनको यथार्थ तथ्यांक संकलन गर्न लागिसकेका छौँ’, कुँवरले भने, ‘११ ओटै वडामा प्राविधिकहरुले मूल्यांकनको काम थालेका छन् ।’
नगरपालिकाले खेती गरिने स्थान वरिपरी अनुत्पादशील रुख कटानीछटानीको व्यवस्था गर्नुपर्ने भनेको छ । इच्छुक व्यक्तिले नागरिकताको प्रमाणपत्रको प्रतिलिपी, सम्बन्धित टोलको सिफारिस, जग्गा धनी प्रमाणपत्र र लिज वा भाडामा भए सम्झौता पत्र र लिनेदिनेको नागरिकताको प्रमाणपत्र सहित १५ दिनभित्रमा वडा कार्यालयमा बुझाउनु पर्ने जानकारी दिएको छ ।
फलेवासमा बसाईसराईको दर बढ्दो छ । बसाईसराईका कारण अधिकांश गाउँमा खेतवारी बाँझिदै गएको छ । जनशक्तिको अभाव, सिँचाईको असुविधा, बाँदर आतंक लगायतका कारण पनि खेतीयोग्य जमीन बाँझिँदै गएको सरोकारवाला बताउँछन् ।