जेठ १३, म्याग्दी । बागलुङको काँठेखोला गाउँपालिका वडा नं ३ धम्जाका बुद्धिबहादुर विक र बुद्धराम मगरको पुर्ख्यौली पेशा भेडापालन हो ।
बाजेको पालादेखि शुरु गरेको भेडापालने नातिको पुस्तासम्म आइपुग्दा व्यवसायिक रुप लिइसकेको छ । बागलुङको धम्जामा भेडिगोठ राखेर म्याग्दीको स्वर्गाश्रम क्षेत्रको जंगलमा भेडा चराउनु विक र मगरको दैनिकी बनेको छ ।
४४ वर्षिय बुद्धिबहादुर विकले आफू जान्ने भएदेखि नै म्याग्दीको बेलढुङ्गा र स्वर्गाश्रम क्षेत्रको जंगलमा भेडा चराउँदै आएको बताए । विकले आफ्ना ५२ ओटा भेडालाई बिहानको खाना खाएपछि दैनिकरुपमा यस क्षेत्रमा चराउन ल्याउने गरेको पनि ठ्याक्कै ३२ वर्ष भयो ।
१२ वर्षको उमेरदेखि भेडा चराउने पेसा अपनाएका विक आफ्नो जागिर र व्यवसाय दुवै भेडापालन नै भएको बताउँछन् ।
त्यस्तै, विकसँगै भेडा चराउन म्याग्दीको जंगलमा आएका वागलुङका वुद्धराम मगरले पनि आफ्नो बाल्यकाल र युवा अवस्था भेडासँगै जंगलमा नै बिताएका छन् । ‘बालापन र वैश दुवै यसैमा वित्यो हजुर, अब त यसैमा आनन्द छ, आफ्ना ४२ ओटा भेडालाई खेद्दै ओरालो झर्दै गरेका मगरले भने ‘जापान पनि यहि हजुर कोरिया नि यही ।‘
ठट्यौलो स्वभावका विक र मगरका भेडाहरु पनि हेर्दै लोभलाग्दा छन् । अधिकांश सेता र केही काला भेडाहरुको बथान लिएर ओरालो झर्दै गरेका यी भेडापालक कृषकहरुको आम्दानी पनि सामान्यरुपमा अनुमान गरिने भन्दा फरक छ । विक भन्छन् ‘एउटा भेडाको मूल्य ५ हजारदेखि ५० हजारसम्म पर्छ । वर्षमा रू. ५/७ लाख कमाइ हुन्छ ।‘
मगरले पनि भेडा विक्री गरेर वर्षमा ५ लाख भन्दा बढि कमाउने गरेको बताए । मासिक सरदर ५० हजार कमाइ भएपछि विक र मगरलाई गाउँको भेडिगोठ र जंगलको चरनमा नै रस बसेको छ ।
मगर भन्छन् ‘अमेरिका अष्ट्रेलिया जाउँला भन्ने कहिल्यै लागेन, जाबो अरब कतारको कमाइ यहीँ हुन्छ, हामी त यतै मस्त यतै व्यस्त ।
भेडापालक कृषकको समस्या भनेको भेडालाई चरनको अभाव नै हो । आफ्नो नजिकको जंगल सामुदायिक वन बनेपछि भेडापालन गर्न समस्या भएको उनीहरुको भनाइ छ । ‘नजिकमा चराउने ठाउँ छैन, त्यसैले यति टाढा चराउन ल्याएका हौं, मगरले भने ‘ सरकारले गाउँगाउँमा केजाती हो (रोजगारी) दिन्छु भन्थ्यो, हामीलाई त वन खुला गर्दिए हुन्थ्यो । विक र मगरजस्तै धम्जामा ९ जना कृषकले व्यावसायिक भेडापालन गरेका छन् ।