ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

वित्तीय संस्थाका कर्मचारीलाई पुनर्बहाली गर्न माग

कर्मचारीको बीमा तथा पीसीआर परीक्षण गर्नुपर्ने

२०७७ जेठ, १४  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
फाइल फोटो
author avatar ममता थापा

जेठ १४, काठमाडौं । नेपाल वित्तीय संस्था कर्मचारी संघले कोरोना महामारीको बहानामा केहि वित्तीय संस्थाहरुले अस्थाई तथा करार कर्मचारीहरुलाई कामबाट निकालेकोमा आपत्ति प्रकट गरेको छ ।

साथै संघले त्यस्ता कर्मचारीलाई पुनर्बहाली गर्न मागसमेत गरेको छ । संघले वुधवार विज्ञप्ति जारी गर्दै उक्त माग गरेको हो ।

‘जागिरबाट हटाइएका कर्मचारीहरुलाई तत्काल पुनर्बहाली गर्न सम्बन्धित बैंक तथा बीमा कम्पनीहरुलाई अनुरोध छ, साथै यसअघि बीमा समितिबाट कर्मचारीहरुको पुनर्बहाली गर्ने निर्देशन जारी गरेको थियो, यसलाई कार्यान्वयन गर्नसमेत माग गर्छौं,’ विज्ञप्तिमा उल्लेख छ ।

साथै संघले नेपाल राष्ट्र बैंकबाट पनि यस विषम परिस्थितिमा जागिरबाट हटाइएका कर्मचारीहरुलाई तत्काल पुनर्बहाली गर्न तथा अब उप्रान्त कर्मचारी हटाउने निर्णय नगर्न आवश्यक निर्देशन दिन संघले अनुरोध गरेको छ ।

देशका अधिकांश लघुवित्त वित्तीय संस्था लगायत ग्रामीण विकास लघुवित्त वित्तीय संस्थामा फिल्डमा गई ग्राहकहरुसँग प्रत्यक्ष सम्पर्कमा रही काम गर्नुपर्ने भएकाले उनीहरुलाई स्वास्थ्य सामग्रीहरुको  तथा बीमाको व्यवस्था गर्न समेत संघको अनुरोध छ ।

यसैगरी संघले जोखिमबाट सुरक्षा प्रदान गर्न सम्पूर्ण बैंक,बीमा लगायतका वित्तीय संस्थाका कर्मचारी र परिवारको बीमा र पीसीआर परीक्षण गर्न माग गरेको छ 
 

संघका अध्यक्ष पदमराज रेग्मीका अनुसार महामारीको जोखिमा वित्तीय संस्थाका कर्मचारी  र आश्रित तथा एकाघर परिवारका सदस्यहरुको अनिवार्य कोरोना बीमा गर्ने व्यवस्था सम्बन्धित संस्थाले गर्न माग गरेका हौं ।

‘यसरी बीमाबापत गरिएको खर्चलाई संस्थाको संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) शिर्षक अन्तर्गत खर्च गर्न पाउने व्यवस्थाको लागि नियामक निकायबाट निर्देशन जारी समेत भनेका छौं,’ उनले भने, ‘कर्मचारीहरुलाई उत्प्रेरित गराउँदै कार्यमैत्री वातावरण सृजना गर्न तथा कर्मचारीहरुको मनोबल गिर्ने खालका कुनै पनि प्रकारका गतिविधिहरु नगर्न पटक–पटक सम्बन्धित निकायहरुलाई विज्ञप्ति मार्फत ध्यानाकर्षण गरेको स्मरण गराएका छौं ।’

जीवन तथा निर्जीवन बीमा कम्पनीहरुले कोभिड–१९ द्वारा सृजित विषम परिस्थितिमा कर्मचारीहरुलाई सुरक्षित गराई उच्च मनोबलका साथ कार्य गर्ने वातावरण सृजना गराउनुको सट्टा जागिरबाट हटाई कर्मचारीहरुको रोजी–रोटी खोसेको भन्दै संघले यसतर्फ बीमा समितिको ध्यानाकर्षण गराएको छ । 

 नेपाल धितोपत्र बोर्डद्वारा इजाजतपत्र प्राप्त भएका संंस्थाहरुमा कार्यरत कर्मचारीहरुकोे सेवा तथा सेवा शर्तको सुरक्षा एवं संस्थागत समस्याहरुको समाधान गर्ने सम्बन्धमा सम्वन्धमा संघले बोर्डलाई ध्यानाकर्षणसमेत गराएको छ ।

बिहीवार सार्वजनिक गर्न लागिएको आव २०७७/ ०७८ को वार्षिक बजेटमा उल्लिखित मुद्दाहरु समेत समावेश गरी समग्र वित्तीय क्षेत्रको सुरक्षा तथा उक्त क्षेत्रका कर्मचारीहरुको पेशागत सुरक्षाको लागि आवश्यक कार्यक्रमहरु ल्याइने समेत संघले ध्यानाकर्षण गराएको छ ।

बैंक, बीमा, लघुवित्त तथा अन्य वित्तीय क्षेत्रमा कार्यरत कर्मचारीहरु कोभिड–१९ को उच्च जोखिमका बीच पनि कार्यरत भएको भन्दै कर्मचारीहरुको मनोबल गिराउने कार्यहरु बन्द गर्न संघले भनेको छ । 

संघले वर्तमान परिस्थितिको कारण बैंक, बीमा, लघुवित्त तथा अन्य वित्तीय क्षेत्रमा निकट भविष्यमा पर्न सक्ने गम्भिर प्रभावहरुलाई ध्यानमा राख्दै वित्तीय क्षेत्रमा अल्पकालीन, मध्यकालीन तथा दीर्घकालीन सुधारका प्याकेज ल्याउन भनेको छ । 

विषम परिस्थितिको कारण मुलुकको समग्र क्षेत्रमा परेको नकारात्मक असरले वित्तीय क्षेत्र लगायत अर्थतन्त्रमा दुष्प्रभाव पर्ने औंल्याउदै संघले समयमै योजनाबद्ध नीति, योजना र कार्यक्रमहरु ल्याउनेतर्फ नेपाल सरकार, नियामक निकाय, सम्बन्धित संस्था, उच्च व्यवस्थापन तथा अन्य सरोकारवाला निकायहरुको ध्यानाकर्षण गराएको छ ।  

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)