ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

गण्डकी सरकारको बजेट प्राथमिकतामा पर्यटन क्षेत्र

२०७७ जेठ, १५  
गण्डकी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar नरहरि पौड्याल

पोखरा । गण्डकी प्रदेश सरकारले कोरोना महामारीका कारण शिथिल पर्यटन क्षेत्रको पुनरुत्थानमा प्राथमिकता दिनेगरी आगामी आर्थिक वर्षको बजेट ल्याउने भएको छ । गण्डकी प्रदेश सभाको बजेट अधिवेशनमा बुधवार ‘विनियोजन विधेयक २०७७/०७८ को सिद्धान्त र प्राथमिकता’ प्रस्तुत गर्दै प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले पर्यटनसहित स्वास्थ्य, कृषि, भौतिक पूर्वाधार लगायत क्षेत्रलाई बजेटको प्राथमिकतामा राखिएको बताए ।

पर्यटन क्षेत्रलाई पुनरुत्थान गर्न ऋणमा पुनर्तालिकीकरण, ब्याजमा अनुदान र थप कर्जा प्रवाह गर्न गराउन बैंक तथा वित्तीय संस्थासँग सहजीकरण गरिने जानकारी उनले दिए ।पर्यटनको पुनरुत्थानका लागि प्रदेशको स्रोत र साधनका आधारमा विशेष कार्यक्रम सञ्चालन पनि गरिने उनको भनाइ छ । कोरोनाको रोकथाम, नियन्त्रण तथा उपचारको अभियान प्रभावकारी बनाउन आवश्यक स्रोत र साधन सुनिश्चित गरिने उनले बताए ।

जिल्ला अस्पतालहरूमा शय्या थप गरी सघन उपचार कक्ष स्थापना एवं पर्याप्त पीसीआर परीक्षणको व्यवस्था गर्न बजेट विनियोजन गरिने मन्त्री गुरुङले बताए । अत्याधुनिक प्रविधिसहितको सुविधासम्पन्न संक्रामक तथा सरुवा रोग अस्पतालको स्थापना र सञ्चालनका लागि बजेट विनियोजन गर्ने प्रदेश सरकारको तयारी छ । प्रदेशभित्र मुटु, मिर्गौला, क्यान्सर, मातृ तथा बालरोग सम्बन्धी विशिष्टीकृत अस्पताल निर्माण कार्यक्रमलाई निरन्तरता दिइने बजेट प्राथमकिता र सिद्धान्तमा उल्लेख गरिएको छ ।

मनाङ र मुस्ताङमा तीन र अन्य ९ जिल्लामा पाँच शय्याको आईसीयूसहितको अस्पताल बनाउन सरकारले बजेट सुनिश्चित गरेको छ । प्रदेश सरकारले दिगो र समावेशी विकास मार्फत आर्थिक तथा सामाजिक असमानताको अन्त्य गर्दै समाजवाद उन्मुख आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्न उन्मुख बजेट ल्याइने बताएको छ ।

यसैगरी स्वदेशी कच्चा पदार्थमा आधारित आन्तरिक उत्पादन बढाउने, आयात प्रतिस्थापन गर्दै निर्यात बढाउने, स्वरोजगार तथा रोजगारी सृजना गर्ने र गरीबी निवारणमा सहयोग पुर्‍याउने कार्यक्रमलाई जोड दिइने मन्त्री गुरुङले जानकारी दिए । सरकारले चालू आर्थिक वर्षमा सबैभन्दा बढी बजेट भौतिक पूर्वाधारका लागि छुट्याउने भएको छ । साथै विगतकै धेरै योजनालाई निरन्तरता दिइने बताइएको छ ।

प्रदेश गौरवका आयोजना, एक निर्वाचन क्षेत्र एक सडक, स्थानीय तहको केन्द्रलाई जिल्ला र प्रदेश केन्द्र जोड्ने तथा रणनीतिक महत्वका सडक पूर्वाधार निर्माणका कार्यक्रमलाई सरकारले निरन्तरता दिनेछ । बृहत् पोखरा चक्रपथ, प्रदेश बसपार्क र मेट्रो बसपार्कको सम्भाव्यता अध्ययन तथा निर्माण गर्ने कार्यक्रम पनि प्रदेश सरकारको प्राथमिकतामा छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)