ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

विराटनगर नाकाबाट चिया निकासी सुचारु

लागत बढी पर्दा भारतीय चियासँग प्रतिस्पर्धा गर्न समस्या

२०७७ जेठ, १५  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar वेदराज पौडेल

विराटनगर । मेची नाका बन्द हुँदा काँकडभिट्टाबाट हुने चियाको निकासी विराटनगर भन्सारबाट हुन थालेको छ । विराटनगरबाट चिया निकासी गर्दा लागत बढेकोमा निर्यातकर्ता चिन्तित बनेका छन् ।

विराटनगर नाकाबाट वैशाखमा ९ हजार २ सय ६९ किलो अर्थाेडक्स चियाको निकासी भएको छ भने जेठ महीनाको ११ दिनमा २८ हजार ७ सय ७० किलो अर्थाेडक्स चिया निकासी भएको छ ।

नेपाल चिया उत्पादक संघका पूर्वअध्यक्ष तथा वरिष्ठ सल्लाहकार चण्डी पराजुलीले विराटनगर भन्सारबाट चिया सिलिगुडी पठाउँदा बाटो लामो पर्ने भएकाले चियामा प्रतिकिलोमै ८ रुपैयाँ भारू ढुवानी भाडा लाग्ने उल्लेख गरे । एक किलो चियामा १० रुपैयाँ भारू नाफा राखेर भारतीय चियासँग प्रतिस्पर्धा गरिरहेका नेपालका उद्योगहरूले लामो रूट चिया ढुवानी गर्नु पर्दा निकै ठूलो आर्थिक नोक्सानी बेहोर्नुपर्ने बताए । उनले सरकारलाई कूटनीतिक पहल गरेर मेचीनाका दुवैतर्फ खुलाउन आग्रहसमेत गरेका छन् ।

नेपाल टी प्लान्टर्स एशोसिएशनका सल्लाहकार उदय चापागाईंले पश्चिम बंगालका चिया उद्योगीहरूको प्रभावमा परेर पश्चिम बंगाल प्रहरी र भन्सार विभागले कोरोनाको हाउगुजी देखाएर मेची भन्सारबाट हुने निकासीमा रोक लगाएको बताए । पश्चिम बंगालका चिया उद्योगीहरू नेपालका चिया उद्योगीलाई आफ्नो प्रमुख प्रतिस्पर्धीका रूपमा लिने गरेकाले वर्षाैंदेखि विभिन्न बहाना बनाएर नेपालको चियाको निकासीमा अवरोध पु¥याउँदै आएका छन् । उनले भने, ‘यो नाका एकतर्फी मात्रै सञ्चालन हुन दिने उनीहरूकै रणनीति हो ।’ भारतबाट मालवाहक आउन दिने तर खाली गरेर फर्कन त्यही बाटो नपाउने यस्तो नियम लगाएका छन् । व्यवसायीहरूका अनुसार पछिल्लो समयमा आएको सीमा विवादका कारण मेची नाकाबाट चिया निकासी रोकिएको भने होइन ।

चापागाईंका अनुसार प्रदेश १ बाट निकासी हुने २० लाख किलो सीटीसी र १० लाख किलो अर्थाेडक्स चियाको निकासी मेची भन्सार नाका बन्द हुँदा प्रभावित भएको छ । पश्चिम बंगाल सरकारले नेपाली चियालाई प्रतिबन्ध भनेर घोषणा नगरे पनि त्यहाँका चिया व्यवसायीको प्रभावमा प्रहरी र भन्सार विभाग परेकाले नाका बन्द गरिएको उनको भनाइ छ ।

चिया व्यवसायी भक्ति अधिकारीले सिलिगुडीका चिया व्यवसायीले किनिसकेको नेपालको चिया ढुवानी गर्न नसक्दा उद्योगीहरू समस्यामा परेको बताए । मेची भन्सारबाट सिलिगुडी ४५ किलोमीटर टाढा छ तर विराटनगर भन्सारबाट ४०० किलोमीटर टाढा रहेको छ । चिया उद्योगी, व्यवसायी र किसानका लागि मेची नाकाबाटै चियाको निकासी हुनुपर्ने र नेपाल सरकारले त्यसका लागि कूटनीतिक पहल गर्नुपर्ने उनले बताए । उनले नाका बन्द हुनुमा चियाको राजनीति जोडिए पनि सीमा विवाद भने कारण नभएको बताए ।

अहिले सीटीसी र अर्थाेडक्स गरी ३० करोड मूल्य बराबरको २५ लाख किलो चिया नेपालका उद्योगहरूमा तयार भइसकेको छ । त्यसको निकासी भारत र तेस्रो मुलुक हुन्छ । नेपालको चिया दार्जिलिङको भन्दा राम्रो र सस्तो हुने भएकाले सिलगुडीका व्यवसायीले यहाँको चिया किनेर भारतका अन्य प्रान्तहरूमा पठाउने गरेका छन् ।

तर, मेची नाका एकतर्फी मात्र सञ्चालन भएकाले चिया निकासीमा समस्या भएको उनको भनाइ छ । विराटनगरका चिया उद्योगी रामकुमार राठीले आफूले विराटनगर नाकाबाट चिया निर्यात गरिरहेको जानकारी दिए । उनका अनुसार विराटनगरबाट निकासी गर्दा कुनै समस्या छैन । उनले ३० वर्षदेखि विराटनगर नाकाबाटै निर्यात गर्दै आएका छन् । उनी भन्छन्, ‘हाम्रो कम्पनीको चिया प्रायः जोगबनीबाटै भारत निर्यात हुन्छ ।’

पश्चिम बंगाल सरकारले चैत्र २९ गतेदेखि मेची नाकाबाट हुने निकासी र पैठारी दुवै रोकिदिएको थियो । त्यसको १ महीनापछि भारतको पश्चिम बंगाल सरकारले वैशाख २७ गतेबाट पानीटंकी नाका एकतर्फी मात्र सञ्चालनमा ल्यायो । भारतबाट आउने मालवस्तु काँकडभिट्टा प्रवेश गर्न दिए पनि नेपालबाट भारत निकासी हुने सामानको निकासी भने रोक्यो ।

नेपालबाट मेची भन्सार हुँदै हुने भारत निकासी हुने सम्पूर्ण वस्तुमा बन्देज लगाएपछि अहिले चिया, अदुवा, अम्रिसो, अलैंचीलगायत वस्तुको निकासी ठप्प छ । तर, पछिल्लो समय प्रदेश १ मा उत्पादित चियाको निकासी विराटनगर नाकाबाट हुन थालेको छ । वैशाख महीनामा विराटनगर भन्सार नाकाबाट ३१ लाख १४ हजार मूल्य बराबरको ९ हजार २ सय ६९ किलो अर्थाेडक्स चिया भारत निकासी भएको छ । जेठ महीनामाको ११ दिनमा १ करोड ३० लाख ३७ हजार बराबरको २८ हजार ७ सय ७० किलोग्राम अर्थाेडक्स चियाको निकासी भएको विराटनगर भन्सार प्रमुख शिव भण्डारीले जानकारी दिए । उनले भने, ‘विराटनगर भन्सारबाट हुने चियाको निकासीमा कुनै समस्या छैन ।’ भारतले एकतर्फी नाका खोलेको कारण उताबाट नेपाल आउने सामान आइरहेको तर नेपालबाट खाली ट्रकसमेत पानीटंकी नाकाबाट प्रवेश गर्न रोक लगाएको मेची भन्सार प्रमुख ध्रुवबहादुर विश्वकर्माले बताए । ‘नाका एकतर्फी मात्रै सञ्चालन भएकाले नेपालबाट निकासी हुने चिया, अदुवा, अम्रिसो, अलैंचीलगायत सम्पूर्ण वस्तुको निकासी अहिले ठप्प छ,’ उनले भने, ‘पश्चिम बंगाल सरकारले कोरोनाको कारण जनाउँदै चैत २९ गते नाका पूर्णरूपमा बन्द गरेपछि १ महीना निकासी र पैठारी दुवै रोकिएको थियो ।’ भन्सार प्रमुख विश्वकर्माका अनुसार वैशाख २७ गतेबाट भारतबाट सामान आउन मात्र दिने र नेपालबाट सामान भारत जान नदिने गरी नाका एकतर्फी रूपमा खुलेको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)