ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सहज बन्दै ढुवानी : नाकामा बढ्न थाल्यो जाँचपास

बन्दरगाहमा घट्दै कन्टेनरको चाप

२०७७ जेठ, १५  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar ओमप्रकाश खनाल

वीरगञ्ज । लकडाउन खुकुलो भएसँगै ढुवानी सहज हुन थालेको छ । आयातकर्ताले वीरगञ्ज नाकाबाट मालसामान छुटाउने क्रम बढेको भन्सार कार्यालयहरूले बताएका छन् ।

कोरोना संक्रमण नियन्त्रणका लागि लगाइएको लकडाउनलगत्तै वीरगञ्ज भन्सारबाट दिनमा करीब १ सय गाडी मालसामान पास हुन्थे । अहिले यो संख्या २ सयको हाराहारीमा पुगेको भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक ढुण्डीप्रसाद निरौलाले बताए ।

वीरगञ्ज नाकाबाट नयाँ सवारीसाधनको जाँचपास पनि बढेको छ । पेट्रोलियम पदार्थ, खाद्यान्न, औषधि, औद्योगिक कच्चा पदार्थलगायत वस्तु भित्रिइरहेको भन्सारको तथ्यांकले देखाउँछ ।

नाकाबाट छुट्ने गाडीका लागि भन्सारबाटै ढुवानीको पास उपलब्ध गराउने व्यवस्था मिलाइएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले बताए । भन्सारबाट अनुमति लिएका साधनले जुनसुकै बेला ढुवानी गर्न सक्ने बस्नेतले जानकारी दिए । सरकारले भन्सारलाई अत्यावश्यकीय सेवामा राखेको छ ।

अत्यावश्यकीय उत्पादन र सेवाबाहेकका ढुवानीलाई साँझ ६ देखि बिहान ६ बजेसम्मको समय छुट्ट्याइएको प्रशासनले बताएको छ । वीरगञ्ज सुक्खा बन्दरगाहमा कन्टेनरको चाप घट्न थालेको छ ।

सरकारले लकडाउन खुकुलो तुल्याएर ४४ प्रकारका उद्योग र व्यवसाय सञ्चालन गर्न दिने भएपछि नाकामा आइपुगेको मालसामान छुट्न थालेको हो । शुरूमा ढुवानी र पूँजीको समस्या भएको भन्दै आयातकर्ताले चासो देखाएका थिएनन् ।

वीरगञ्ज बन्दरगाहमा बुधवारसम्ममा ३ हजार १० ओटा कन्टेनर रहेको बन्दरगाह सञ्चालक हिमालयन टर्मिनल प्रालिका वरिष्ठ अधिकृत अनिमेष कुमारले जानकारी दिए । ‘आयातकर्ताले यो हप्ता बन्दरगाहबाट मालसामान छुटाउने क्रम बढेको छ,’ उनले आर्थिक अभियानसँग भने ।

अघिल्लो सातासम्म बन्दरगाहमा ४ हजारभन्दा बढी कन्टेनर थुप्रिएका थिए । बन्दरगाह भन्सारबाट अहिले दैनिक २ सयभन्दा बढी गाडी निस्किइरहेको भन्सार प्रमुख उमेश श्रेष्ठले बताए । अघिल्लो हप्तासम्म दैनिक १ सयजति कन्टेनरमात्र जाँचपास हुन्थे ।

बारा–पर्सा औद्योगिक कोरिडोरका फलाम र खाद्यान्न उद्योगले पनि कच्चा पदार्थ ढुवानी गर्न थालेका छन् । बन्दरगाहबाट दैनिक ५० मेट्रिक टनको हाराहारीमा फलाम बाहिरिइरहेको हिमालयन टर्मिनलले बताएको छ ।

कोलकातामा घटे कन्टनेर
भारतको कोलकाता बन्दरगाहमा तेस्रो मुलुकबाट नेपालका लागि आएका कन्टेनरको चाप उल्लेख्य परिमाणले घटेको छ । भारतमा लकडाउन खुकुलो बनाइएसँगै आयातकर्ताले त्यहाँ थुप्रिएका कन्टेनर भित्र्याउन थालेका छन् ।

अहिले कोलकातामा नेपालका लागि आएका कन्टेनर २५ सयजति भएको कोलकाता पोर्ट ट्रस्टका अध्यक्ष विनीत कुमारले बताए ।

तीमध्ये रेलमार्फत ढुवानी हुने करीब ३ सय र बाँकी सडकमार्गका रहेको उनले जानकारी दिए ।

यसअघि बन्दरगाहमा कन्टेनर थुप्रिएर सञ्चालनमै समस्या भएको थियो । लडकडाउनमा ढुवानी ठप्प भएपछि नेपाली आयातकर्ताका कन्टेनरको संख्या ४ हजारभन्दा बढी पुगिसकेको थियो । बन्दरगाहले यसअघि नै ७ सय कन्टेनरलाई नजीकका कन्टेनर फ्रेट स्टेशनमा पठाइसकेको छ ।

हटाइयो सहुलियत
बन्दरगाह, एकीकृत जाँचचौकी (आईसीपी) र सिपिङ कम्पनीहरूले आयातित मालसामानमा विलम्ब शुल्क मिनाहा दिन छोडेका छन् । यसअघि लकडाउनले ढुवानी असहज भएको भन्दै कोलकाता बन्दरगाह र सिपिङ कम्पनीहरूले पनि यस्तो सहुलियत दिएका थिए ।

भारतमा लकडाउन शुरू भएको मार्च २५ देखि मे ३ तारीखसम्म यस्तो सहुलियत दिइएको थियो । यस अवधिमा कन्टेनर र गोदाममा विलम्ब शुल्क मिनाहा गरिएको थियो । भारतमा लकडाउन खुकुलो बनाइएसँगै मे ३ तारीखयता यस्तो सहुलियत हटाइएको छ । कोलकाता बन्दरगाहले नेपाली आयातकर्ताका लागि रेलमार्गका कन्टेनरलाई २० र सडकमार्गमा १५ दिनको निःशुल्क समय भने यथावत् राखेको अध्यक्ष विनीत कुमारले बताए । भारतमा लकडाउनलाई मे ३१ तारीखसम्म लम्ब्याइएको छ । नेपाल इन्टरमोडल यातायात विकास समितिले पनि सुक्खा बन्दरगाह र आईसीपीमा गोदाम भाडा र पार्किड शुल्क मिनाहाको व्यवस्था हटाएको छ । जेठ ६ गतेबाट यस्तो सहुलियत हटाइएको हो । चैत ११ देखिको लकडाउनले ढुवानी अवरुद्ध भएको भन्दै चैत २८ यता यस्तो सहुलियत दिइएको थियो ।

आयातकर्ताको आग्रह
आयातकर्ता भने लकडाउन अवधिभरि यस्तो सहुलियत पाउनुपर्ने बताउँछन् । लकडाउन खुकुलो गरिएको भनिए पनि उत्पादन, ढुवानी र बजार पूर्णरूपमा सहज भइनसकेको वीरगञ्ज उद्योग वाणिज्य संघका महासचिव माधव राजपालले बताए ।

लकडाउन अवधिसम्म शुल्क र जरीवाना मिनाहालाई निरन्तरता दिइनुपर्ने आयातकर्ता सुरेश रुंगटाले बताए । भारतीय बन्दरगाह र सिपिङ कम्पनीसँग यसबारेमा पहल गरिदिन आयातकर्ताले सरकारलाई आग्रह गरेका छन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)