काठमाडौं । कोरोनाको विश्वव्यापी प्रभावका कारण वैदेशिक र देशभित्र नै रोजगारी गुमाएकाहरूलाई रोजगारी दिन चुनौती थपिएको सन्दर्भमा आगामी आर्थिक वर्ष २०७७/ ७८ को बजेटले झन्डै ८ लाख नयाँ रोजगारी सृजना हुने गरी कार्यक्रम ल्याएको छ । सरकारले देशभित्र १० लाख र विदेशमा ५ लाखले रोजगारी गुमाउने अनुमानसहित रोजगारी कार्यक्रमलाई बजेटमा उच्च प्राथमिकता दिएको छ ।
अर्थमन्त्री डा. युवराज खतिवडाले मर्यादित काम, सामाजिक सुरक्षा र आदर्श श्रम सम्बन्धको माध्यमबाट श्रमको उत्पादकत्व अभिवृद्धि गर्दै सबै नेपालीलाई काम र रोजगारीको अवसर सृजना गर्ने कार्यक्रम तय गरेको बताएका छन् ।
नेपालमा वर्षेनि ५ लाख श्रमशक्ति श्रम बजारमा आउने गरेका छन् । अहिले वैदेशिक रोजगारीमा ४७ लाख ९२ हजार जना गएकामा झन्डै १५ लाख फर्किने अनुमान सरकारको रहेको छ । त्यसैले ठूलो संख्यामा रोजगारी सृजना गर्नु सरकारको लागि चुनौती बनेको छ ।
यसका लागि ‘आफ्नो गाउँ आफै बनाऊँ’को भावनाअनुसार स्थानीय तहबाट सञ्चालन हुने विकास निर्माणका श्रममूलक सामाजिक तथा भौतिक विकास आयोजनामा विपन्न परिवार लक्षित कामका लागि खाद्यान्न कार्यक्रम सञ्चालन गरिने भएको छ । बेरोजगार रहेका, कोरोनाका कारण रोजगारी गुमेका र वैदेशिक रोजगारीबाट फर्केकालाई पारिश्रमिकसहितको श्रममूलक विकास निर्माणमा परिचालन गर्न अर्थमन्त्रीले बजेट विनियोजन गरेका छन् ।
बजेटमा श्रमस्वीकृति नलिई विदेशी नागरिकलाई काममा लगाउन नपाउने व्यवस्थाको कडाइका साथ कार्यान्वयन गरिने बताइएको छ । यो व्यवस्था अहिले पनि छ तर लाखौं भारतीय कामदारले विनाश्रम स्वीकृति यहाँ काम गरिरहेका छन् जब कि श्रमस्वीकृति लिनेको संख्या १ हजार ६०० मात्रै रहेको आर्थिक सर्वेक्षणले देखाएको छ । भारतमा काम गर्न गएका नेपालीले ल्याउने विप्रेषणभन्दा यहाँबाट भारत जाने रकम बढी भएको तथ्यांक छ । त्यसैले श्रम कार्यालयलाई थप बजेट मिलाई श्रम निरीक्षणको व्यवस्था गर्ने तयारी सरकारको छ । अर्थविद् डा. शंकर शर्मा यो नेपालका लागि ठूलो अवसर भएको बताउँछन् । भारतीय कामदार जत्तिको खट्न नसक्ने भए पनि र दक्ष नभए पनि यस्ता काममा नेपालीहरूको प्रवेश गराउन सकियो भने ठूलो अन्तर आउँछ । त्यसैले यहाँका उद्यमीको आवश्यकता हेरेर उनीहरूकै निर्देशनमा शीप तालीम दिनुपर्ने शर्माको भनाइ छ ।
प्रधानमन्त्री रोजगार कार्यक्रमको दायरा विस्तार गरी यसमा थप २ लाख रोजगारी सृजना गर्ने बजेटले लक्ष्य लिएको छ । संघ, प्रदेश र स्थानीय तहमा सञ्चालित सार्वजनिक विकास निर्माण कार्यमा सृजना हुने यस्तो कार्यक्रमले १ सय दिनको रोजगारी दिने प्रधामन्त्री रोजगार कार्यक्रमका उपसचिव डा. लोकनाथ भुसालले बताए ।
यो कार्यक्रमको शुरूमा रू. ३ अर्ब बजेट विनियोजन गरिएकामा चालू आवमा ५ अर्ब विनियोजन गरिएको छ ।
यसमार्फत ६० हजारलाई रोजगारी दिने भनिए पनि कोरोनाका कारण कार्यक्रम प्रभावित भएको छ । आगाामी आवका लागि यस कार्यक्रमका लागि रू. ११ अर्ब ६० करोड बजेट व्यवस्था गरिएको छ । सय दिनकै भए पनि २ लाख व्यक्तिले रोजगारी पाउँदा संकटको बेलामा ठूलै राहत हुने अर्थविद् डा. शंकर शर्माको भनाइ छ ।
वैदेशिक रोजगारी गुमाएकाहरूलाई उत्पादन र सेवाक्षेत्रका हस्तकला, प्लम्बिङ, बिजुली मर्मत, इलेक्ट्रोनिक्स, कुक, कालिगड, सिकर्मी, डकर्मी, सिलाइ कटाइ, ब्युटिसियन, कपाल कटाइलगायत शीप विकास तालीम तथा प्रशिक्षण संघ र प्रदेशस्तरमा सञ्चालन गरी कम्तीमा ५० हजार रोजगारी सृजना गर्ने लक्ष्य बजेटले लिएको छ ।
यसका लागि रू. १ अर्ब विनियोजन गरिएको छ ।
रोजगार सेवा केन्द्रलाई श्रम सूचना बैंकको रूपमा समेत उपयोग गरी निजीक्षेत्रका उत्पादनशील उद्योगलाई आवश्यक पर्ने र श्रम सूचना बैंकबाट सिफारिश भएका श्रमिकलाई रोजगारीसहितको तालीम प्रदान दिने व्यवस्था गरिएको छ ।
यस्तो व्यक्तिलाई उद्योगले न्यूनतम २ वर्ष रोजगारी सुनिश्चित गरेमा सरकारले बढीमा ३ महीनासम्मको तालीम अवधिको न्यूनतम पारिश्रमिकको ५० प्रतिशत रकम अनुदान प्रतिष्ठानलाई उपलब्ध गराउने व्यवस्था गरिएको छ । यसबाट करीब ५० हजार रोजगारी सृजना हुने अनुमान सरकारले गरेको छ ।
प्राविधिक तथा व्यावसायिक तालीम प्रदान गर्ने संस्थाका माध्यमबाट ७५ हजार व्यक्तिलाई शीपमूलक तालीम प्रदान गर्ने योजना छ । यसका लागि रू. ४ अर्ब ३४ करोड विनियोजन गरिएको छ । डा. शर्माको भनाइमा शीप तालीम दिने संस्थाहरूको क्षमता बढाउन सके मात्रै यस्तो तालीमले परिणाम दिन्छ ।
सरकारले स्वरोजगार बनाएर केहीलाई रोजगारी दिने योजना पनि आगामी आर्थिक वर्षका लागि ल्याएको छ । यसका लागि बैंक तथा वित्तीय संस्थाबाट सहुलियतपूर्ण कर्जा प्रदान गर्ने योजना छ । वाणिज्य बैंकले प्रतिशाखा कम्तीमा १० तथा विकास बैंकले प्रतिशाखा कम्तीमा ५ जनाका दरले सहुलियतपूर्ण कर्जा उपलब्ध गराउनुपर्ने व्यवस्था छ । साढे ५ सयभन्दा बढी शाखाबाट यस्तो कर्जा प्रवाह गरी स्वरोजगार दिलाउने लक्ष्य छ ।
साना किसान कर्जा कार्यक्रमबाट थप ४० हजार रोजगारी सृजना गर्ने, स्वरोजगार कर्जा कार्यक्रमको माध्यमबाट थप १२ हजार युवालाई स्वरोजगार बनाउने लक्ष्य बजेटले लिएको छ । गरीबका लागि लघु उद्यमलगायत उद्योग क्षेत्रका कार्यक्रमबाट १ लाख २७ हजार र वन पैदावारमा आधारित कार्यक्रमबाट थप ३० हजार रोजगारी सृजना गर्ने सरकारको तयारी छ ।
‘गरीबी निवारण कोषद्वारा प्रवर्द्धित ३२ हजारभन्दा बढी संस्थालाई सहकारी प्रणालीमा रूपान्तरण गरी १ लाख ५० हजार रोजगारी सृजना गरिनेछ,’ अर्थमन्त्रीले बजेट वक्तव्यमा भने ।
वैदेशिक रोजगार प्रवर्द्धन कोषलाई रोजगारी पुनःस्थापना गर्ने कार्यक्रममा उपयोग गर्ने सरकारको तयारी छ । वैदेशिक रोजगारीबाट फर्केका व्यक्तिहरूको शीप, अनुभव र रुचिको अभिलेख बनाई उनीहरूलाई देशभित्र नै रोजगारी दिने नीति सरकारले लिएको छ ।