ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

रानी जमरा कुलरिया सिँचाइ आयोजना : दुईपटक म्याद थपिँदा समेत विद्युत्गृह निर्माण अधुरै

२०७७ जेठ, १८  
सुदूरपश्चिम प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar वीरेन्द्र भट्ट

धनगढी । रानी जमरा कुलरिया सिँचाइ आयोजनाको मूल नहरसँगै विद्युत्गृह ३ वर्षभित्र निर्माण गर्नेगरी सन् २०१४ मा एसडब्ल्यू तुँदी जेभीबीच सम्झौता भयो । निर्धारित समयमा ५ किलोमिटर लामो सिँचाइ नहर र विद्युत्गृह निर्माण नभएपछि सन् २०१७ मा २ वर्ष म्याद थप गरियो । तर थपिएको म्यादमा पनि काम सम्पन्न हुन सकेन । त्यसपछि आयोजनाको सिफारिशमा विद्युत् विकास विभागले दोस्रोपटक १ वर्षका लागि म्याद थप गरे पनि काम बाँकी नै रहेको आयोजना निर्देशक मोहनकुमार शाक्यले बताए ।

‘दोस्रोपटक थपिएको म्याद यही जेठ २२ गते सकिँदै छ,’ उनले भने । मूल नहरसँगै १६ मिटर खाल्डो खनेर विद्युत्गृह निर्माण अघि बढाइए पनि ठेकेदार कम्पनीले विभिन्न कारण देखाउँदै म्याद मात्र थप्न लगाउने गरेको स्थानीयको भनाइ छ । नेपाल सरकारको ४५ करोड रुपैयाँ लगानीमा निर्माण शुरू गरिएको विद्युत्गृह निर्माण सुस्त बनेको छ ।

यसअघि विज्ञहरूको टोलीले सिँचाइ नहरसँगै जलविद्युत् उत्पादनको सम्भावना रहेको भन्दै सरकार समक्ष प्रतिवेदन बुझाएपछि सिँचाइ आयोजनासँगै जलविद्युत् आयोजनाको काम समेत अघि बढाइएको थियो । उत्पादित विद्युत् सिँचाइ आयोजना क्षेत्रभित्रका स्थानीयलाई वितरण गरेर सोबाट हुने आम्दानी सिँचाइ आयोजनाको विकास तथा मर्मतमा लगाइने गरी योजना बनाएको भए पनि लकडाउनका कारण जलविद्युत्का साथै सिँचाइ आयोजनाको काम प्रभावित बनेको निर्देशक शाक्यले बताए ।

सिँचाइ निर्माण पश्चात् कैलालीको पूर्वी क्षेत्रका टीकापुर नगरपालिका र लम्की चुहा नगरपालिकामा करीब २० हजार ३ सय हेक्टर जमीनमा सिँचाइ सुविधा उपलब्ध हुनेछ । विश्व बैंकको ऋण र उपभोक्ताको श्रमदान समेत गरी २७ अर्ब ७० करोड २४ लाख रुपैयाँ लागतमा आयोजना अघि बढाइएको हो । विश्व बैंकतर्फको आयोजनाको पहिलो चरणको काम सन् २०१२ देखि शुरू भएर सन् २०१७ सम्म चलेको थियो । दोस्रो चरणको काम सन् २०१८ देखि शुरू भई २०२३ मा सक्ने लक्ष्य रहेको आयोजना कार्यालय टीकापुरले बताएको छ । विश्व बैंकले पहिलो चरणको निर्माणमा अनुदान रकम उपलब्ध गराएको थियो भने दोस्रो चरण निर्माणका लागि ऋण सहयोग गरेको हो । हालसम्म आयोजनाको वित्तीय प्रगति ४५ प्रतिशत देखिएको कार्यालयले बताएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)