ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

संक्रमित बढ्दै गएपछि कोरोना बीमा जोखिममा

मोडालिटी परिवर्तन गर्ने तयारीमा कम्पनीहरू

२०७७ जेठ, १८  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar मिलन विश्वकर्मा

काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमितको संख्या उच्च मात्रामा बढ्दै गएपछि कोभिड–१९ बीमालेख (कोरोना बीमा)को व्यवसायमा जोखिम बढ्दै गएको छ । पछिल्ला दिनहरूमा कोरोना भाइरस संक्रमित व्यक्तिको संख्या झन् झन् बढ्दै गएको छ, । फलस्वरूप कोरोना बीमा व्यवसायमा पनि जोखिमको सम्भावना बढ्दै गएको कम्पनीहरू बताउँछन् । विशेषगरी भारतलगायत मुलुकबाट आउने व्यक्तिहरूमा कोरोना भाइरसको संक्रमण देखिने गरेको छ । त्यसमाथि अहिले सरकारले विदेशमा अलपत्र परेको नेपालीलाई उद्धार गर्ने निर्णय गरेको छ । भारतबाट नेपाल प्रवेश गर्ने व्यक्तिहरूको संख्या पनि बढ्दै छ । यसले कोरोना बीमा व्यवसायमा जोखिम बढ्दै गएको हो ।

शुक्रवारसम्म २ लाख ५८ हजार ७४४ जनाले कोरोना बीमा गरेका छन् । तर, अहिलेसम्म बीमा कम्पनीहरूमा दाबी परेको भने छैन । यद्यपि, यही रूपमा कोरोना संक्रमित बढ्दै जाने हो भने बीमा कम्पनीहरूलाई दायित्व वहन गर्न गाह्रो हुने नेपाल बीमक संघका महासचिव चंकी क्षेत्रीले बताए । ‘महामारी भएका कारण विदेशी पुनर्बीमा कम्पनीहरूले यो व्यवसायको पुनर्बीमा गर्दैनन् । यसको सबै जोखिम नेपाली निर्जीवन बीमा कम्पनीहरू र पुनर्बीमा कम्पनीले मात्र वहन गर्नुपर्ने हुँदा समस्या आउन सक्छ,’ उनले बताए, ‘यद्यपि, बीमा गर्नेको संख्या ठूलो भयो भने त्यति समस्या हुँदैन । यो व्यवसायबाट कम्पनीहरूलाई नाफा कमाउनु छैन । घाटामा बेहोर्नु नपरे हुन्थ्यो ।’

बीमा समिति र बीमक संघको छलफलपछि लघुबीमा पुलमार्फत गत वैशाख ४ गतेदेखि यो बीमालेख जारी गरिएको थियो । तत्कालीन समयमा ३ महीनापछि यो व्यवसाय अगाडि बढाउने वा नबढाउने भन्ने विषयमा थप निर्णय गर्ने भनिएको थियो । तर, सरकारले आगामी आवको बजेट मार्फत उक्त बीमालाई निरन्तरता दिने घोषणा गरेको छ । साथै, सामूहिक बीमा गर्नेलाई बीमाशुल्कमा ५० प्रतिशत अनुदान दिने व्यवस्था पनि गरेको छ ।

सगरमाथा इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) समेत रहेका क्षेत्रीले अब बीमालाई अगाडि बढाउन नसकिने  बाध्यता आएको बताए । ‘तर, जोखिम बढ्दै गएको छ, यत्तिकै बन्द गर्दा पनि बीमा क्षेत्रबारे नराम्रो सन्देश जान्छ,’ उनले भने, ‘तसर्थ, अब हामीले मोडालिटी परिवर्तन गरेर यो कार्यक्रम अगाडि बढाउँछौं । यसका लागि सरकारको पनि प्रभावकारी सहयोगको आवश्यकता छ ।’

कोरोना बीमाको मोडालिटी परिवर्तन गर्ने विषयमा आइतवार (आज) बीमक संघ कार्यसमितिको बैठक बस्दै छ । सोही बैठकमार्फत यस विषयमा आवश्यक निर्णय गरिने उनको भनाइ छ । बीमा समितिले यसअघि नै विदेशबाट आउने व्यक्तिको हकमा १५ क्वारेन्टाइनमा बसेको र त्यसपछि परिवारसँग घुलमिल भएको १५ दिनपछि मात्र बीमा गर्न पाउने व्यवस्था गरेको छ । साथै, आरडीटी परीक्षणको रिपोर्ट नेगेटिभ आएको पनि हुनुपर्र्ने व्यवस्था थपिएको छ । यसको कार्यान्वयन गर्न समस्या देखिएको कम्पनीहरू बताउँछन् ।

‘भारतबाट आएका व्यक्तिको हकमा राहदानीलगायत कुनै पनि प्रमाण हुँदैन । यसमा स्थानीय तहले सहयोग गरे त राम्रै हुन्छ, स्थानीय तहको सहयोग पाइएन भने हामीलाई समस्या हुन सक्छ,’ क्षेत्रीले बताए । बीमा समितिले पहिला विनाशर्त कोरोना बीमालेख जारी गरेको थियो । तर, समितिले अघिल्लो हप्ता परिपत्र जारी गर्दै विदेशबाट आउने व्यक्तिको हकमा विभिन्न मापदण्ड तोकेको थियो । व्यवसायमा थप जोखिम बढ्दै गएपछि कम्पनीहरू यस बीमाको मोडालिटी नै परिवर्तन गर्ने तयारीमा लागेका हुन् । अब कोरोना बीमामा स्वास्थ्य बीमा पनि सँगै जोडेर अगाडि बढाउनुपर्ने क्षेत्री बताउँछन् । उनले भने, ‘हामीले कोरोना बीमा सेवा शुरू गरेपछि बजारमा बीमाक्षेत्रको रामै्र छाप परेको छ । तर, यो मौसमी व्यवसाय हो । तसर्थ, कोरोना बीमासँगै स्वास्थ्य बीमालाई पनि जोडेर अगाडि बढाउने गरी सरकारले नीति ल्याउनपर्छ ।’

लघुबीमा अन्तर्गत यो पोलिसी ल्याएकाले निर्जीवन बीमा कम्पनीहरूले वैशाख ७ गतेदेखि लघुबीमा पुलमार्फत यसको कारोबार गर्दै आएका छन् । त्यसको संयोजन नेपाल बीमक संघले गरेको छ भने बीमालेख इस्यु म्यानेजर शिखर इन्स्योरेन्स छ ।

संघबाट प्राप्त तथ्यांकअनुसार शुक्रवारसम्म यस बीमाबाट रू. १४ करोड ७ लाख ६२ हजार बीमाशुल्क संकलन भएको छ । बीमाशुल्क संकलन गर्नेमा शिखर इन्स्योरेन्स अगाडि देखिएको छ । उक्त कम्पनीले रू. २ करोड ८२ लाख बीमाशुल्क संकलन गरेको छ । सिद्धार्थ इन्स्यारेन्सले रू. १ करोड १७ लाख र सगरमाथा इन्स्योरेन्सले १ करोड २ लाख बीमाशुल्क संकलन गरेका छन् । यसबाहेकका कम्पनीहरूले भने १ करोड रुपैयाँभन्दा कम बीमाशुल्क संकलन गरेका छन् ।

यद्यपि, पुलमार्फत यो कारोबार गरिएकाले यसबाट हुने व्यवसाय सबै निर्जीवन बीमा कम्पनीहरूलाई बराबर बाँडफाँट गरिनेछ । संघका अनुसार पुनर्बीमामार्फत नेपाल पुनर्बीमा कम्पनीले २० प्रतिशत व्यवसाय पाउनेछ । बाँकी रहेको ८० प्रतिशत जोखिम अर्थात् व्यवसाय भने २० निर्जीवन बीमा कम्पनीहरूलाई बराबर रूपमा विभाजन गरिने बताइएको छ ।
बीमालेख अनुसार आम मानिसले रू. १ लाख र रू. ५० हजारको बीमांकमा यस्तो बीमा गर्न सक्छन् । रू. १ लाख बीमांक बीमा गर्दा प्रतिव्यक्ति रू. १ हजार र रू. ५० हजारको बीमांक बीमा गर्दा प्रतिव्यक्ति रू. ५०० बीमा शुल्क लाग्नेछ । परिवारका सदस्य र संस्थाका कर्मचारीको संयुक्त रूपमा बीमा गर्दा प्रतिव्यक्ति ४० प्रतिशत छूट दिइने व्यवस्था पनि गरिएको छ । बीमालेख अनुसार बीमित व्यक्ति कोरोना भाइरस संक्रमित भएको पुष्टि हुनासाथ बीमांक बराबरको रकम भुक्तानी गरिनेछ । यद्यपि, त्यसमा दाबी १५ दिनको प्रतीक्षा अवधि भने लागू हुनेछ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)