ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

लकडाउन बढ्दा निजीक्षेत्र असन्तुष्ट

लकडाउन थप्दै गए अर्थतन्त्र पुनरुत्थान नहुने अवस्थामा पुग्ने उद्यमी व्यवसायीको भनाइ

२०७७ जेठ, १९  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar मिलन विश्वकर्मा

काठमाडौं । सरकारले आर्थिक गतिविधि केही खुला राख्ने गरी लकडाउनलाई लम्ब्याउने बताए पनि मोडालिटी परिवर्तन नगरी यथावत् अवस्थामा नै लकडाउनको अवधि थपेकोमा निजीक्षेत्रले असन्तुष्टि व्यक्त गरेको छ । कोरोना संक्रमण फैलन नदिन महीनौं दिनसम्म लकडाउन गर्दा मुलुकले थेग्नै नसक्ने गरी अर्थतन्त्र प्रभावित भएको अवस्थामा पुनः लकडाउन लम्ब्याउनु चिन्ताजनक रहेको उनीहरूको भनाइ छ ।

पछिल्लोपटक शनिवार जेठ ३२ गतेसम्म लकडाउन लम्ब्याउने निर्णय सरकारले गरेपछि असन्तुष्टि र विरोधको आवाज सुनिन थालेको छ । नेपाल उद्योग वाणिज्य महासंघले आइतवार विज्ञप्ति जारी गर्दै लकडाउन लम्ब्याएको विषयमा असन्तुष्टि व्यक्त गरेको हो ।

महासंघले अर्थतन्त्रलाई चलायमान गराउने गरी लकडाउनको मोडालिटी बनाउनुपर्ने माग गरेको छ । स्वास्थ्य सुरक्षाको संवेदनशीलतालाई ध्यानमा राख्दै लकडाउनको समयसीमा र मोडालिटीबारे पुनर्विचार गर्नुपर्ने महासंघको भनाइ छ ।

सरकारले यसअघि ४२ प्रकारका उद्योग सञ्चालन गर्न दिने निर्णय गरेको थियो । तर, लकडाउनका कारण उद्योग पूर्णरूपमा सञ्चालन हुन सकेका छैनन् भने उत्पादित सामानले बजार नपाउँदा समस्या थपिएको छ । सरकारी निकायहरूबीच समन्वय नहुँदा उद्योग खोल्न पनि समस्या भएको उद्यमी व्यवसायीको भनाइ छ । लकडाउनबाट औद्योगिक क्षेत्र थप धराशयी बने पनि सरकारको ध्यान नपुगेको व्यवसायीहरूको गुनासो छ ।

सरकारले लकडाउन अवधिमा स्वास्थ्य सुरक्षालाई बलियो बनाउने, परीक्षणको दायरा फराकिलो बनाउने तथा आर्थिक गतिविधिलाई चलायमान बनाउने काम प्रभावकारी ढंगले अघि नबढाएको निजीक्षेत्रको आरोप छ । सरकारले अब अन्तरराष्ट्रिय अभ्यासलाई मनन गर्नैपर्ने उनीहरूको भनाइ छ ।

लकडाउनका कारण कुल गार्हस्थ्य उत्पादन (जीडीपी) मा करीब ४ प्रतिशतको आर्थिक नोक्सानी भइसक्दा, लाखौं मानिस बेरोजगार हुँदा तथा उद्योग व्यवसाय थलामा पर्न थाल्दा सरोकारवालाहरूको सुझाव नलिई लकडाउन थप गर्नु चिन्ताजनक रहेको महासंघले बताएको छ । लकडाउनको अवधि बढाउँदा अर्थतन्त्रसँग प्रत्यक्ष जोडिएका सरोकारवालाहरूसँग पनि संवाद गर्नुपर्ने महासंघको माग छ ।

जोखिमको तुलनात्मक स्थितिको यथार्थपरक आकलन र आम मजदूर, साना एवम् मझौला व्यवसायीलगायतको समस्यालाई दृष्टिगत गर्दै उद्योग व्यवसाय सञ्चालन सहज बनाउन र लकडाउन लम्ब्याउने विषयमा गम्भीर रूपमा पुनर्विचार गर्न महासंघले आग्रह गरेको छ ।

महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले अब कुनै पनि हालतमा औद्योगिक क्षेत्रका लागि लकडाउन खुकुलो बनाउनैपर्ने बताए । ‘सरकारले नबुझेको हो कि बुझेर पनि बुझ पचाएको हो, त्यो थाहा भएन । तर, कोरोना भाइरसबाट बच्ने उपाय लकडाउनमात्र होइन,’ उनले भने, ‘हामीकहाँ खुला सीमा भएकाले जोखिम छ । तर, अब सुरक्षाको उपाय अपनाउँदै लकडाउन खुकुलो बनाउनुको विकल्प छैन ।’

कोरोना भाइरसलाई सामना गर्नुको विकल्प नभएको उनी बताउँछन् । ‘नेपालमा अझै केही संक्रमित बढ्न सक्छन् भने केहीको मृत्यु पनि हुन सक्छ । त्यसलाई सामना गर्न हामी तयार भएर बस्नुपर्छ,’ उनले भने, ‘र, विस्तारै आर्थिक गतिविधिलाई चुस्त बनाउँदै लैजानुपर्छ ।’

लकडाउन कारण प्रभावित अर्थतन्त्रलाई पुनरुत्थान गर्ने भार नै निजीक्षेत्रलाई परेको उनी बताउँछन् । ‘निजीक्षेत्रले लाखौं मानिसलाई रोजगारी दिएको छ । राजस्वमा ७० प्रतिशत अंश निजीक्षेत्रको नै छ । तसर्थ, अर्थतन्त्र पुनरुत्थान गर्न निजीक्षेत्रलाई ठूलो दबाब छ । तर, लकडाउन यसरी नै लम्ब्याइयो भने अर्थतन्त्र पुनरुत्थान नहुने अवस्थामा पुग्छ,’ उनले भने ।

नेपाल उद्योग परिसंघका अध्यक्ष सतीशकुमार मोरले पनि अब सुरक्षाका उपाय अपनाउँदै लकडाउन खुकुलो बनाउनुपर्ने बताए । ‘लकडाउनका कारण मुलुकको अर्थतन्त्र थेग्नै नसक्ने गरी प्रभावित भएको छ । यस अवस्थामा पनि सरकार गम्भीर भएन भने अर्थतन्त्र थप धराशयी हुन सक्छ,’ उनले भने, ‘तसर्थ, अब जोखिमको क्षेत्र पहिचान गरेर बढी जोखिम भएको ठाउँमा लकडाउन कडाइ गर्नुपर्छ । अन्य ठाउँमा भने आर्थिक गतिविधि सञ्चालन गर्न दिनुपर्छ ।’

महासंघका पूर्वअध्यक्ष पशुपति मुरारकाले सरकारले जनधन दुवै बचाउने नीति ल्याउनुपर्ने बताए । सरकारको ध्यान कोरोना फैलन नदिनमा मात्र छ । तर, अर्थतन्त्र बचाउने नीतिमा सरकार अगाडि नबढेको उनी बताउँछन् ।

‘लकडाउनका कारण आपूर्ति पक्ष बिग्रिँदै गएको छ । केही उद्योग सञ्चालमा आए पनि उनीहरूको उत्पादन बजारसम्म जान सकेको छैन । साथै, उद्योगले स्वदेशी खानीबाट नै आवश्यक सामग्री ल्याउन पाएका छैनन्,’ उनले भने, ‘तसर्थ, अब औद्योगिक क्षेत्रलाई सहज रूपमा काम गर्न दिने गरी नीति ल्याउनुपर्छ । अब कोरोनासँगै बाँच्नुको विकल्प छैन ।’ नेपाल उद्योग वाणिज्य संघका अध्यक्ष राजेशकाजी श्रेष्ठले राज्यले व्यवसायीहरूको समस्यालाई बेवास्ता गरेको आरोप लगाए । राज्यले आफ्नो प्रमुख काम नै लकडाउन गर्ने हो भन्ने बुझेर व्यवसायीहरूका पीरमार्कालाई ध्यान नदिएको उनले बताए । ‘अब सरकारले लकडाउनको मोडालिटी परिवर्तन गरी व्यवसाय सञ्चालन गर्न  दिनेतर्फ तत्काल ध्यान दिनुपर्छ,’ उनले भने ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [2]
User Image

Keshav NS Adhikari

[Jun 1, 2020 07:02am]

निजी क्षेत्र भनेर चिनिने व्यापारी तथा सम्पत्तीको सिरानीमा अडेस पाएका व्यवसायीहरुको आवाज त मिडियाले पनि ढ्वांगबाट फुकेर प्रचारिदिन्छ । साँच्चै छाक जुटाउन नसक्ने भएर फत्र्याक-फत्र्याक परिरहेका गरीब सर्वसाधारणको ब्यथा चाहिं कस्ले सुन्दिने, कस्ले लेखिदिने, कसरी ठाउँमा पुग्ने ?


User Image

Ramram

[Jun 1, 2020 12:13am]

Lockdown unnecessary.



   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)