ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

‘लकडाउन मात्र विकल्प होइन’

२०७७ जेठ, १९  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar वेदराज पौडेल

विराटनगर । विराटनगरको सात घुम्तीनजीक मेनरोडमा शुक्रवार बिहान प्रहरी र व्यापारीबीच घम्साघम्सी भयो । प्रहरीले पसल बन्द गराउने र व्यापारीले जबर्जस्ती खोल्न खोज्दा दुवै पक्षबीच विवाद भएको थियो । प्रहरीले पसल बन्द गरिदिएर व्यापारीको साँचो खोसे ।

यो प्रतिनिधि घटना मात्र हो । विराटनगर बजारमा दिनहँु प्रहरी र व्यवसायीबीच यसरी घम्साघम्सी हुनु सामान्यभैंm भइसकेको छ । अझ भनौं, प्रहरी र व्यापारीबीच लुकामारी नै चल्छ ।

विराटनगर महानगरपालिकाले बिहान ६ बजेदेखि १० बजेसम्म अत्यावश्यक डेरी, किराना पसल, हार्डवेयर र फलफूल पसल खुल्न दिएको छ । तर, लकडाउन लगातार बढिरहेका कारण व्यापारीहरूमा तनाव थपिँदै गएको छ । बढिरहेको बैंक ब्याज र घरभाडाका कारण तनावमा रहेका व्यापारीहरूले लकडाउनको अवज्ञा गर्न थालेका हुन् ।

विराट व्यापार संघका अध्यक्ष सुजन थापाले विश्व स्वास्थ्य संगठनले तोकेको मापदण्ड अपनाएर अब कपडा पसल, फर्निचर, भाडाकुडालगायत पसल पनि समय तोकेर खोल्न दिनका लागि आफूले पहल गरिरहेको बताए । व्यापारीले लकडाउन उल्लंघन गर्ने अवस्था आउनु भनेको समस्या भयावह हुनु हो । स्वास्थ्य सचेतता अपनाएर निश्चित समयभित्र खोल्ने र बन्द गर्ने गर्दा अवस्था नियन्त्रणभित्र नै रहने भएकाले आफूले पहल थालेको उनले बताए ।

सरकारले कोरोनाको अचुक औषधि लकडाउनमात्र हो झैं गरेर लकडाउन बढाएको बढाएै गरेपछि व्यापारीहरूमा निराशा र आक्रोश उत्पन्न भएको थापाले बताए । सरकारले उद्योगी व्यापारीको मनोबल उच्च हुने किसिमको कार्यक्रम ल्याउन नसकेको आरोप थापाले लगाए ।

अध्यक्ष थापाले साना व्यापारीलाई पनि बिहान ६ बजेदेखि १० बजेसम्म अथवा कुनै उपयुक्त समय मिलाएर पसल खोल्न दिनुपर्ने माग राखे । सरकारले उद्योग सञ्चालन गर भन्ने तर बजार खोल्न नदिनाले उद्योगीहरू समेत समस्यामा रहेको नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ का कार्यवाहक अध्यक्ष राजेन्द्र राउतले बताए । ‘उद्योगका सबै उत्पादन गोदाममा थन्किए बसेको तर बजार खुलेको छैन,’ उनले भने ।

सरकारले प्रत्येक दिन आलोपालो गरेर फरकफरक किसिमका पसल खोल्न दिने नियम लागू गर्नुपर्ने राउतको भनाइ छ । एक दिन हार्डवेयर, अर्काे दिन कपडा, अर्काे दिन विद्युतीय समान, त्यसपछि फर्निचर पसललगायत पालैपालो खोल्ने व्यवस्था मिलाइनुपर्ने उनले बताए । उनले भने, ‘कोरोना देखिएको वडालाई निश्चित अवधि लक गरेर अन्य क्षेत्रका स्वास्थ्य सुरक्षा अपनाएर खोल्न दिनुपर्छ ।’ बैंकहरू पनि पूर्णरूपमा खुल्दा मात्र सुरक्षित कारोबार हुने बताउँदै उनले रकम लिएर कहिले कुन शाखा कहिले कुन शाखामा धाउँदा रकमको असुरक्षा बढेको बताए ।  मोरङ व्यापार संघका अध्यक्ष प्रकाश मुन्दडाले कोरोना देखिएको स्थानबाहेकमा लकडाउन खुकुलो पारेर बजार खोल्नुपर्ने बताए । समस्याबाट भाग्ने भन्दा पनि त्यससँग जुधेर अघि बढ्नुपर्ने उनले बताए । लकडाउन कोरोनाबाट भाग्ने माध्यममात्र भएको उनको भनाइ छ । उद्योगीका उत्पादन गोदाममै थन्किएका छन् । अत्यावश्यक वस्तुको मात्र पसल खुलेको छ । उत्पादित वस्तु समयमा नै बजार नपुग्दा उद्योगीले थप आर्थिक भार खेप्नुपर्ने उनले बताए । उनले भने, ‘असारसम्म धकेलिएको बैंकको ब्याज तिर्न उद्योगीले तयारी मालवस्तु विक्री नै गर्नुपर्ने हुन्छ तर अहिले बजार बन्द छ कसरी विक्री गर्ने ?’  

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)