ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सुरूङ मार्गको मापदण्ड बनाउँदै सडक विभाग

२०७७ जेठ, १९  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar हिमा वि.क.

काठमाडौं । नेपालका विभिन्न ठाउँमा सुरूङ मार्ग बनाउने आयोजनाहरू बनिरहेको सन्दर्भमा सरकारले पहिलोपटक सुरूङ मार्गका लागि छुट्टै मापदण्ड बनाउन शुरू गरेको छ । अर्थ मन्त्रालयले समेत स्रोत सुनिश्चित गरेको सिद्धार्थ राजमार्गको बुटवल–पाल्पा खण्डको निर्माण नेपालको आफ्नै मापदण्ड नहुँदा रोकिएपछि अहिले विभागले मापदण्ड तयार गर्न लागेको हो । निजीक्षेत्र विशेष गरी जलविद्युत् आयोजनाहरूमा सुरूङ बनाएका प्राविधिक तथा आयोजना प्रमुख र विभागबीच सहकार्य गरी यस्तो मापदण्ड बनाउन लागिएको हो । जलविद्युत् र खानेपानी (मेलम्ची) आयोजनामा सुरूङको अभ्यास भए पनि नेपालका सडक तथा राजमार्गमा भने यसको प्रयोग निकै कम छ । सरकारले विभिन्न राजमार्गका साथसाथै छिमेकी चीनसँग जोड्ने सडकमा समेत सुरूङ मार्ग बनाउने घोषणा गरिसकेको छ । तर, मापदण्ड नहुँदा समस्या भएकाले बनाउन लागिएको सडक विभागका उपमहानिर्देशक शिवप्रसाद नेपालले जानकारी दिए । जनशक्ति, मेशिन र आधारभूत औजार तथा उपकरणसहितको मापदण्ड बनाउने उनले बताए ।

आगामी आवको बजेट वक्तव्यमा नागढुंगा, सिद्धबाबामा सुरूङ मार्ग निर्माण शुरू गरिने उल्लेख गरिएको छ । यसैगरी चालू आवमै भएका सुरूङ मार्ग आयोजनाका साथसाथै सरकारले काठमाडौं–नुवाकोट–रसुवा सडकको टोखा–छहरे खण्ड र वेत्रावती–स्याफ्रुबेंशी खण्डमा सुरूङ मार्ग निर्माणका लागि सम्भाव्यता अध्ययन सम्पन्न गरी निर्माण प्रारम्भ गरिने उल्लेख छ ।

सुरूङ मार्ग अध्ययनका लागि विभागलाई प्राप्त भएको बजेटमध्ये खर्च भने लाखसम्म मात्रै भएको र यो अवस्थामा अरू रकम खर्च हुने सम्भावना कम रहेको सुरूङ मार्ग योजनासमेत हेर्दै आएका विभागका उपमहानिर्देशक नेपालले जानकारी दिए । उनले कोरोना र लकडाउनका कारण धेरैजसो आयोजनाको काम प्रभावित भएको भन्दै अध्ययन गर्न पनि नसकिएको बताए । एघार सुरूङ मार्गमध्ये खुटिया–दिपायल र गोदावरी–मानेचौर (काभ्रे)को सम्भाव्यता अध्ययन गर्ने तयारी भए पनि लकडाउनका कारण रोकिएको नेपालले बताए । तीमध्ये ५ स्थान मकवानपुरको कुलेखानी–भीमफेदी (४ किलोमीटर), बनेपा–सिन्धुली सडक खण्डको पुर्काेट–सिन्धुली (९ किमी), पोखरा–बागलुङ सडक खण्डको पोखरा हेम्जा–नयाँ पुल (५ किमी), दोलखाको चरिकोट–लामाबगरको लाप्चा गाउँ (१ किमी) र नारायणगढ–बुटवल सडक खण्ड दाउन्ने (५ किमी)को सम्भाव्यता अध्ययन भइसकेको छ । बुटवल–पाल्पा सडक खण्डमा बन्ने सिद्धबाबा सुरूङ मार्गको डीपीआर तयार भइसकेको छ । अन्य सुरूङ मार्गमा कोटेश्वर–जडीबुटी खण्ड, टोखा–छहरे–गुर्जे भन्ज्याङ खण्ड, नारायणगढ–दाउन्ने खण्ड र बीपी लोकमार्गको खुर्काेट–चियाबारी खण्ड हुन् । सम्भाव्यता अध्ययन गरिने ६ सुरूङ मार्गमा बिपीनगर–खुटिया–दिपायल, गणेशमान सिंह मार्गको थानकोट–चित्लाङ, गोदावारी कुण्ड–काभ्रे मानेचौर, कुलेखानी–भीमफेदी, पोखरा–बाग्लुङ हेम्जा (नयाँपुल) लामाबगर र नारायणगढ–बुटवल दाउन्ने खण्ड रहेका छन् ।

सुरूङ मार्गको बजेट खर्च निराशाजनक

आगामी आर्थिक वर्ष (आव) २०७७/७८ को बजेटमा सरकारले अधिकांश ठूला पूर्वाधार आयोजनाहरूको बजेट कटौती गरे पनि सुरूङ मार्गका लागि भने रू. १५ करोड बढाएर रू. ६ अर्ब ४२ करोड पुर्‍याएको छ । तर, चालू आर्थिक वर्ष २०७६/७७ मा विभिन्न ११ स्थानका सुरूङ मार्गको सम्भाव्यता अध्ययनदेखि विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) बनाउन रू.५८ करोड ६० लाख बजेट पाएको सडक विभागले खर्च भने करोडसम्म पनि गर्न सकेको छैन । नेपालको सडक पूर्वाधारमा पहिलो सुरूङ मार्ग नागढुंगा–नौबीसे सुरूङ मार्ग निर्माण गर्न चालू आवमा रू. ६ अर्ब २७ करोड विनियोजन गरिएको छ । तर, चालू आवको यो अवधिसम्ममा झन्डै रू. २ अर्ब मात्रै खर्च भएको छ । कोरोना भाइरस (कोभिड–१९) देखियता काम गर्न नपाएपछि उक्त आयोजनाका लागि विनियोजन गरिएको बजेट पनि सबै खर्च नहुने देखिएको छ । सो आयोजनाका एक अधिकारीले चालू आवमा सुरूङ मार्गका लागि विनियोजन गरिएको बजेटको खर्च निराशाजनक भएको बताए ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)