काठमाडौं । लकडाउनका कारण उद्योग, व्यवसाय ठप्प हुँदा एक महीनामा निजी क्षेत्रमा प्रवाह हुने कर्जामा संकुचन आएको छ । नेपाल बैंकर्स संघका अनुुसार गत चैत्रको तुलनामा वैशाखमा वाणिज्य बैंकले प्रवाह गरेको कुल कर्जामा १६ अर्ब रूपैयाँले नकारात्मक भएको छ ।
२०७६ चैत्रमा ४२ अर्ब रूपैयाँ कर्जा प्रवाह भएको थियो । यस अवधिसम्म २७ ओटा वाणिज्य बैंकले कुल २८ खर्ब ४५ अर्ब रूपैयाँ कर्जा प्रवाह गरेका थिए । तर, वैशाखमा कुल कर्जा घटेर २८ खर्ब २९ अर्ब रूपैयाँमा सीमित भएको छ अर्थात् चैत्रको दाँजोमा कुल कर्जा रू. १६ अर्ब कम छ । पुरानो कर्जा फिर्ता आएको र नयाँ कर्जा प्रवाह नभएकाले कुल कर्जा ऋणात्मक बनेको हो । बैंकबाट प्रवाहित कर्जामा संकुचन आए पनि निक्षेप भने बढेको छ यद्यपि चैत्रको दाँजोमा निक्षेप कम संकलन भएको छ । चैत्रमा वाणिज्य बैंकहरूले ४९ अर्ब रूपैयाँ निक्षेप संकलन गरेका थिए भने वैशाखमा ३० अर्ब रूपैयाँमात्र संकलन भएको थियो । चैत्र मसान्तमा कुल निक्षेप ३१ खर्ब ८९ अर्ब रूपैयाँ पुगेकोमा वैशाखमा ३२ खर्ब १९ अर्ब रूपैयाँ पुगेको छ ।
भाइरस संक्रमण र लकडाउनले कारोबार ठप्प हुँदा समग्र बैंकिङ क्षेत्रमा नकारात्मक असर पारेको नेपाल बैंकर्स संघका अध्यक्ष भुवनकुमार दाहाल बताउँछन् । ‘यो लकडाउनको अवधि कति लम्बिने हो टुंगो छैन । अहिले बैंकमा ग्राहकहरूको चहलपहल र कारोबार छैन,’ उनले भने, ‘बैंकको लगानी भएका उद्योग, कलकारखानालगायतका व्यवसाय सबै मारमा छन् ।
नयाँ कर्जा प्रवाह हुने स्थिति छैन । यसै भएर कर्जा प्रवाह नकारात्मक भएको हो । थप कर्जा प्रवाह नहुँदा ब्याज आम्दानी पनि घट्दो छ ।’ पुराना कर्जाको माग भएका फाइलहरूको कामबाहेक थप कर्जा प्रवाह नहुँदा बैंकमा कर्जा पूँजी निक्षेप अनुपात खुकुलो भएर करीब ७६ प्रतिशतको हाराहारीमा भएको उनले जानकारी दिए । बैंकबाट नयाँ कर्जा प्रवाह भएको छैन तर निक्षेप नवीकरण भइरहेको छ । त्यसैले बैंकमा पर्याप्त तरलता भएको बताउँदै अध्यक्ष दाहालले अभियानसँग भने, ‘पर्याप्त तरलतालाई ट्रेजरी बिलजस्ता सरकारी ऋणपत्रमा लगानी गर्दै बसेका छौं ।’
नेपाल राष्ट्र बैंकले गरेको अध्ययनअनुसार २०७६ चैत्रदेखि २०७७ वैशाखसम्मको अवधिमा बैंक तथा वित्तीय संस्थाले रू. ८३ अर्ब निक्षेप संकलन र रू. २२ अर्ब कर्जा लगानी गरेको अपरिष्कृत तथ्यांक छ । बैंक तथा वित्तीय संस्थाबाट कर्जा प्रवाहमा संकुचन आएपछि तरलता बढेको छ । नेपाल राष्ट्र बैंकका प्रवक्ता डा.गुणाकर भट्टका अनुसार २०७६ चैतदेखि २०७७ वैशाखसम्मको अवधिमा बैंकिङ प्रणालीमा सुविधाजनक तरलता रहेको छ । २०७७ वैशाख महीनामा बैंकिङ प्रणालीमा औसत रू. ४९ अर्ब २ करोड अधिक तरलता रहेको छ । बजारमा अधिक तरलतालाई प्रशोचन गर्न तथा सरकारको आन्तरिक ऋण उठाउन ट्रेजरी बिल, नागरिक बचतपत्र लगायत सरकारी ऋणपत्र जारी गरिरहेको राष्ट्र बैंकले बताएको छ ।
Source ke ho yo details ho?