ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

जलविद्युत् आयोजनाका मजदूरलाई गाउँ प्रवेश गर्न रोकः ३० जना सडकमै अलपत्र (तस्वीरहरु)

२०७७ जेठ, २०  
गण्डकी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar ध्रुवसागर शर्मा

जेठ २०, म्याग्दी । उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका वडा नं–४ नारच्याङमा निर्माणाधिन निलगिरी जलविद्युत् आयोजनामा काम गर्नको लागि विभिन्न जिल्लाबाट म्याग्दी ल्याइएका ३० जना बढी मजदूरहरुलाई आयोजना स्थलमा प्रवेश गर्न नदिइएपछि उनीहरु सडकमै अलपत्र परेका छन् ।

सोमवार सल्यान, सिन्धुपाल्चोक र नुवाकोटलगायतका ठाउँबाट नारच्याङमा ल्याइएका मजदूरहरुलाई स्थानीयबासीले गाउँ प्रवेशमा रोक लगाएका हुन् ।

ठेकेदार कम्पनीले उर्जा मन्त्रालयको अनुमती र कोरोना जोखिमलाई मध्यनजर गर्दै आरडीटी परीक्षण गरेर मात्रै आयोजनामा काम गर्नको लागि मजदूर ल्याएको जनाएपनि स्थानीयबासीले गाउँमा बाहिरबाट कसैलाई पनि प्रवेश नदिने भन्दै उनीहरुलाई प्रवेश गर्न दिएका छैनन् । 

गाउँ प्रवेशमा रोक लगाएसँगै आफूहरु अलपत्र पर्ने अवस्थामा आएको सल्यानबाट मजदूर ल्याएर आएका समूहका नाइके प्रेम बस्नेतले गुनासो गरे ।

‘हामी पोखरामा आरडीटी परीक्षण गरी रिपोर्ट नेटेटिभ आएपछि मात्रै यहाँ आएका हौँ, यहाँ आएर पनि गाउँघरमा जाने होइन, आयोजनाको काम गर्न जाने हो, यहाँ आइसकेपछि गाउँलेले प्रवेश दिएका छैनन्, कम्पनीले स्थानीयबासी र जनप्रतिनिधिसँग समन्वय गरिरहेको भनेको छ, तर कहाँ बस्ने, के खाने ठेगान भएको छैन’ उनले भने ।

सिन्धुपाल्चोकबाट आएका अर्का मजदूर कालु तामाङले समेत काम गर्न पाउने र नपाउने निक्यौल नभएको र आउँदा ल्याएका खर्च समेत सकिएको बताए । सिई कन्ट्रक्सन मार्फत आयोजनामा काम गर्नको लागि मन्त्रालयमार्फत अनुमती पाएर आफूहरु यहाँसम्म आएको बताउँदै उनले राती गाडीमै सुत्नुपर्ने अवस्था आएको प्रतिक्रिया दिए ।

कम्पनी मार्फत आयोजनामा काम गर्न आएका ३० जना बढी मजदूरहरु अहिले अलपत्र परेका छन् । अन्नपूर्ण गाउँपालिकाकै वडा नम्बर ६ घारमा निर्माणाधिन घारखोला जलविद्युत् आयोजनामा काम गर्न ल्याइएका मजदूहरुलाई समेत स्थानीयबासीले गाउँमा नल्याउन चेतावनी दिएपछि पोखरेबगरमै रोकिएका छन् ।

नारच्याङ गाउँ प्रवेश गर्ने कालिगण्डकी नदीमाथि निर्माण गरिएको मोटरेवल पुलमा छेकबार लगाएर स्वयमसेवक खटिएर गाउँ प्रवेशमा कडाई गरिएको स्थानीय युवा विवेक पुर्जाले बताए ।

विभिन्न जोखिमयुक्त ठाउँबाट आउनेहरुमा कोरोना संक्रमण हुन सक्ने र गाउँमा फैलन सक्ने जोखिमलाई मध्यनजर गर्दै गाउँलाई स्थानीयले पूर्ण रुपमा बाहिरबाट आउन रोक लगाइएको उनको भनाइ छ ।

लकडाउनको सुरुवातमा घर फर्किएपछि आयोजनाहरुको काम प्रभावित बनेको अवस्थामा फेरी मजदूरहरुलाई काममा ल्याउन थालिएसँगै स्थानीयबासीबाट अवरोध आएकाले जोखिमलाई समेत मध्यनजर गर्दै समन्वयलाई अघि बढाइएको गाउँपालिकाका अध्यक्ष क्याप्टेन डमबहादुर पुनले बताए ।

‘लकडाउन शुरु भएसंगै नजाउ भन्दा सबै मजदूरहरु घर गए, अहिले फेरी आयोजनाहरुले बाहिरबाट मजदूर ल्याउन थालेका छन्, स्थानीयबासीले कोरोना संक्रमणको जोखिम हुने भएकाले प्रवेश गर्न दिन्नौँ भन्छन्, के गर्ने हामी पनि अन्यौलमा छौँ’–उनले भने । अहिले मजदूरहरुलाई आरडीटी परीक्षण र क्वारेनटाइनमा राखेर काममा लगाउने कि फिर्ता पठाउने भन्ने विकल्पमा छलफल चलाइएको छ ।

यता प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले जलविद्युत आयोजनाहरुले जिल्ला प्रशासन, स्थानीयबासी र स्थानीय तहसँग समन्वय नै नगरिकन बाहिरबाट मानिस ल्याएको बताए । 

स्थानीयबासी र स्थानीय तहले स्वीकार गर्ने र आयोजनाहरुले सुरक्षित रुपमा काममा लगाउने अबस्था आएमा उनीहरुलाई काममा लगाउन सकिने तर त्यस्तो अवस्था नआएमा उनीहरुलाई फिर्ता पठाइने उनको भनाइ छ ।

 

 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [1]
User Image

Ramram

[Jun 2, 2020 12:12pm]

Bikas birodhi harkat.



   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)