ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

तेस्रो मुलुकबाट पहिलो चरणमा २५ हजार नागरिक ल्याउने तयारी

त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलले गर्‍यो सबै तयारी पूरा 

२०७७ जेठ, २०  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar टीपी भुसाल

जेठ २०, काठमाडौं । सरकारले कोरोना भाइरस (कोभिड–१९) को कारण तेस्रो मुलुकमा अलपत्र परेका करीब २५ हजार नेपालीहरुलाई स्वदेश ल्याउने तयारी गरेको छ । 

तेस्रो मुलुकबाट आउने नेपाली नागरिकको पहिचान, प्राथमिकीकरण, विवरण संकलन गरी पहिलो चरणमा करीब २५ हजार नेपाली स्वदेश ल्याउने तयारी भइरहेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ ।

यसको लागि विभिन्न देशमा रहका नेपाली दूतावासले विवरण संकलन गरी परराष्ट्र मन्त्रालयलाई बुझाएका छन् । फर्किएर आउनेहरुको व्यवस्थापनको लागि संस्कृति पर्यटन तथा नागरिक उड्डयन, श्रम रोजगार तथा सामाजिक सुरक्षा, गृह, प्रदेश सरकार र स्थानीय तहले थप तयारी गरेका छन् । 

कोरोनाले गर्दा स्वदेश आउनैपर्ने परिस्थितिमा रहेका नेपाली नागरिकलाई स्वदेश फर्काउन सहजीकरण गर्न सरकारले २६ बुँदे विशेष कार्ययोजना बनाएर सोही अनुरुप नेपाली नागरिकलाई स्वदेश ल्याउने तयारी थालेको हो ।

मन्त्रिपरिषद्को यही जेठ १२ गतेको बैठकले स्वीकृत गरेको उक्त कार्ययोजनामा नेपाल फर्कन चाहने त्यस्ता नागरिकलाई महामारी फैलन नदिने गरी संक्रमणबाट सुरक्षितरूपमा स्वदेश आउने, क्वारेन्टाइनमा बस्ने, स्वास्थ्य परीक्षण गर्ने, स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्ड पालना गर्ने र गराउने विषय समेटिएको छ । 

सरकारले विदेशबाट फर्केका नागरिकलाई सम्बन्धित स्थानीय तहसम्म पुर्‍याउने जिम्मा नेपाली सेनालाई दिएको छ । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट होलिल्ङ सेन्टर र त्यहाँबाट सम्बन्धित जिल्लासम्म पुर्‍याउने जिम्मा नेपाली सेनालाई दिइएको हो । 

भारतबाट आउने नेपालीलाई नेपाल प्रवेशको लागि सरकारले नेपाल भारत सीमाका विभिन्न २० ओटा नाकालाई आधिकारिक नाका तोकिसकेको छ । सीमाबाट आउेहरुलाई पनि सम्बन्धित नाकाबाट स्वास्थ्य सुरक्षाको पूर्ण ख्याल गरी प्रदेश र स्थानीय निकायको संयोजनमा गन्तव्यमा पुर्‍याइने छ । 

भारतबाट आउनेका लागि तोकिएका नाका नजिकै होल्डिङ सेन्टर बनाइने छ । सामुदायिक विद्यालय, सामुदायिक भवन, कभर्ड हल, पार्टी प्यालेस वा अन्य खुला ठाउँमा होल्डिङ सेन्टर तयार गरिने छ । 

विदेशबाट आउनेहरुलाई कसरी ल्याउने भन्नेबारे संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले तयारी थालेको छ भने होल्डिङ सेन्टर वा विमानस्थलमा स्वास्थ्य सम्बन्धि अन्य काम स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गर्ने र त्यहाँबाट गन्तव्यमा लैजाने काम नेपाली सेना, प्रदेश सरकार र स्थानीय तहको संयोजनमा हुने भएको छ । 

यसैबीच विदेशबाट नेपाली ल्याउने तयारी भएसँगै त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलले सामाजिक दूरी कायम गर्नेदेखि उडानका सबै प्रक्रिया व्यवस्थित गराउने गरी भौतिक संरचना निर्माणको काम सम्पन्न गरेको छ । 

विमानस्थलले विदेशबाट आउने नेपालीहरुलाई सुरक्षित ढंगले बाहिर ल्याउने तथा पछि सरकारले व्यवसायिक उडान शुरु गर्ने निर्णय गर्नासाथ गरिने उडानलाई समेत ध्यान दिएर सबै तयारी पूरा गरिएको विमानस्थलका महाप्रबन्धक देवेन्द्र केसीले जानकारी दिए । 

महाप्रबन्धक केसीका अनुसार विमानस्थलमा एक अर्को यात्रु कम्तीमा एक मिटरको दूरीमै उभिनुपर्ने, कर्मचारी र यात्रुहरुबीच भौतिक दूरी कायम गर्ने तथा विदेशबाट आउनेहरुको विमानस्थल हलतर्फ प्रवेश गर्नासाथ होलबडि सेनिटाइज गर्ने व्यवस्था गरिएको छ । 

अब विमानस्थल सुरक्षा प्रवन्ध कायम गरी उडान सञ्चालनका लागि तयार भएको उनले बताए । यसरी स्वदेश फर्कनेहरु आफ्नै खर्चमा होटलमा बस्छु भनेमा क्वारेनटाइनका रुपमा होटलमा बस्न सक्नेछन् । होटेल एशोसिएशन नेपाल (हान)ले मुलुकभित्रका होटेलहरूलाई क्वारेन्टाइनका रूपमा प्रयोग गर्न होटलको स्तर हेरी रू. ३ हजारदेखि रू. १६ हजारसम्म शुल्क तोकेको छ । 

विदेशबाट नेपाल आई एकतारे तथा पर्यटकीय स्तरका होटेलमा क्वारेन्टाइनका रूपमा बस्ने नेपालीले ३ हजार रुपैयाँ तिर्नुपर्ने छ । हानले काठमाडौं, पोखरा, चितवन, भैरहवा, नेपालगञ्ज, विराटनगर, भक्तपुर लगायतका शहरमा रहेका २० हजार कोठालाई  क्वारेन्टाइनको रुपमा प्रयोग गर्न सकिने जानकारी पर्यटन मन्त्रालयलाई दिइको छ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)