धनगढी । सुदूरपश्चिम प्रदेश सरकारको आगामी नीति, कार्यक्रम तथा बजेट उत्पादन, उत्पादकत्व, रोजगारी एवं आत्मनिर्भर अर्थतन्त्रको विकासमा केन्द्रित हुने प्रदेश प्रमुख शर्मिलाकुमारी पन्तले बताएकी छन् । मंगलवार आगामी आव २०७७/७८ को वार्षिक नीति तथा कार्यक्रम प्रदेश सभा बैठकमा प्रस्तुत गर्दै प्रदेश प्रमुख पन्तले कृषि, स्वास्थ्य र रोजगारीलाई केन्द्रमा राखेर नीति तथा कार्यक्रम ल्याइएको बताएकी हुन् ।
धनगढीमा २ हजार क्षमताको सभा भवन निर्माणका लागि जग्गा प्राप्ति र अध्ययन शुरू गरिने, बालिकाको सुनौलो भविष्य सुनिश्चित गर्न बालिका बीमाको नीतिगत व्यवस्था, ‘रोगबाट बचाऔं भोकबाट जोगाऔं’ अभियानको थालनी तथा ८८ ओटै स्थानीय तहमा बीउ स्रोत केन्द्र, चिस्यान केन्द्र र मूल्य शृंखलामा आधारित कृषि व्यवसायको विकास गरी रोजगारी सृजना गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।
यसैगरी ‘कृषकसँग कृषि विद्यार्थी’ कार्यक्रम सञ्चालन गरिने प्रदेश प्रमुख पन्तले बताएकी छिन् । ‘प्रदेश विश्वविद्यालय स्थापना गर्न सम्भाव्यता अध्ययन गरिनेछ भने सो विश्वविद्यालयमा कृषि अध्ययन र अनुसन्धानलाई प्राथमिकता दिइनेछ,’ उनले भनिन् ।
प्रस्तुत नीति तथा कार्यक्रममा सुदूरपश्चिम आयुर्वेद प्रतिष्ठान प्रादेशिक आयुर्वेद चिकित्सालय स्थापना, प्रादेशिक गौरव आयोजनाको रूपमा बहुउद्देश्यीय रंगशाला निर्माण, प्रदेशको अधिकार क्षेत्रमा रहेको जलविद्युत् आयोजनालाई प्रदेश आफै वा साझेदारीमा सञ्चालन गर्ने नीति अवलम्बन गरिने उल्लेख छ । यस्तै आव २०७७/७८ भित्रै २० मेगावाट क्षमताको आयोजना अघि बढाउनुका साथै थप आयोजनाको अध्ययन गरिने भएको छ । यस्तै २१४ किलोमिटर सडक कालोपत्र गरिनेछ भने विस्तृत प्रतिवेदनका आधारमा यसै वर्षदेखि प्रदेश बस सेवा सञ्चालनमा ल्याइने भएको छ । सबै जिल्ला सदरमुकाममा विपद् सामग्रीको भण्डार केन्द्र निर्माण गरिने समेत नीति तथा कार्यक्रममा भनिएको छ ।
चालू आव २०७६/७७ को वार्षिक नीति तथा कार्यक्रममा समावेश गरिएका विषयमध्ये ५० प्रतिशत अनुदानमा ५१० मेट्रिकटन गहुँको उन्नत बीउ वितरण गरी ४ हजार २५० हेक्टर जमीनमा खेती गरिएको र त्यसबाट करीब १२ हजार ७५० मेट्रिकटन उत्पादन भएको प्रदेश प्रमुख पन्तले जानकारी दिएकी छिन् । सो अवधिमा ५० प्रतिशत अनुदानमा ६०० मेट्रिकटन धानको उन्नत बीउ वितरण गरिएको उनले बताइन् । उनका अनुसार ३०० किसानलाई हाते ट्र्याक्टरसहित आधुनिक कृषि यन्त्र वितरण गरिएको छ भने थप ६०० किसानलाई वितरणको तयारी भइरहेको छ । यस्तै सुदूरपश्चिम प्रदेश राजधानीमा पूर्वाधार विकास परियोजनाका लागि जग्गा प्राप्तिलगायत प्रक्रिया अघि बढाइएको जानकारी उनले दिइन् ।