पर्वत । पर्वतका लागि चारओटा ठूला आयोजनालाई बजेटले सम्बोधन गरेको छ । आगामी आर्थिक वर्षको बजेटमा जिल्लाका चारओटा महत्त्वपूर्ण सडक पूर्वाधारका लागि बजेट विनियोजन गरिएको हो ।
जिल्लाको कुश्मा नगरपालिका–१ मालढुंगादेखि म्याग्दी सदरमुकाम जोड्ने सडक मालढुंगा–बेनी सडकलाई दुई लेनको बनाउनेगरी स्तरोन्नतिका लागि बजेट विनियोजन गरिएको अर्थमन्त्री डा. युवराज खतिवडाले घोषणा गरेका छन् । करीब १० किलोमिटर सडक खण्ड साँघुरो हुँदा यात्रा कष्टकर बनिरहेको छ ।
जिल्लामा निर्माणाधीन कालीगण्डकी लोकमार्ग निर्माणका लागि समेत बजेट विनियोजन भएको छ । लोकमार्गको केही खण्ड बागलुङ र गुल्मी क्षेत्रमा निर्माण भइरहे पनि कालीगण्डकी नदीको दायाँ क्षेत्र जिल्लामा समेत निर्माण भइरहेको छ । चालू आर्थिक वर्षमा यो सडक कालोपत्र गर्नेगरी मन्त्रालयमा बजेट माग भएको थियो । रानीपानी देखि बर्राचौर हुँदै फलेवास ढिकसम्म सडक स्तरोन्नतिमा बजेट भए पनि कालोपत्रका लागि बजेट खाँचो परेको थियो । यसैगरी पर्यटकीय गन्तव्य गुल्मीको रिडीसम्म पुग्ने पोखरा–रिडी सडकका लागि सरकारले बजेट विनियोजन गरेको छ ।
आगामी बजेटमा पोखराबाट–पामे–भदौरे–राम्जा–आर्थर–कार्कीनेटा–लुंखु–त्रिवेणी–सेतीेणी–रिडी सडकका लागि बजेट विनियोजन गरिएको छ । बहुर्षीय ठेक्कामार्फत सडक निर्माण हुनेछ । गुल्मीको रिडीदेखि पर्वतको सेतीवेणी हुँदै पोखरासम्मको सडक गतवर्ष पनि राष्ट्रिय योजनामा पनि परेको थियो ।
मध्यपहाडी लोकमार्गको सडकका बाँकी काम पनि पुरा हुने बजेटमा उल्लेख छ । चालू आवमा सम्पन्न हुनेगरी काम शुरू भए पनि मध्यपहाडी लोकमार्गको काम तोकिएको अवधिमा पूरा नहुने भएको छ । बहुचर्चित कालीगण्डकी जलाशययुक्त परियोजनाको विषयमा भने बजेटमा केही उल्लेख छैन ।