ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

जलविद्युत् आयोजनाका मजदूरलाई गाउँ प्रवेश गर्न दिइएन

२०७७ जेठ, २१  
गण्डकी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar ध्रुवसागर शर्मा

म्याग्दी । उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा निर्माणाधीन नीलगिरि जलविद्युत् आयोजनामा काम गर्न विभिन्न जिल्लाबाट आएका मजदूरलाई आयोजना स्थलमा प्रवेश गर्न नदिइएपछि उनीहरू सडकमै अलपत्र परेका छन् ।

सोमवार सल्यान, सिन्धुपाल्चोक र नुवाकोट लगायत ठाउँबाट नारच्याङमा ल्याइएका मजदूरलाई स्थानीयवासीले गाउँ प्रवेशमा रोक लगाएका हुन् । ठेकेदार कम्पनीले ऊर्जा मन्त्रालयको अनुमति लिनुका साथै कोरोना जोखिमलाई ध्यानमा राख्दै आरडीटी परीक्षण गरेर मात्र आयोजनामा काम गराउन मजदूर ल्याएको बताए पनि स्थानीयवासीले गाउँमा बाहिरबाट कसैलाई पनि प्रवेश नदिने भन्दै रोक लगाएका छन् । गाउँ प्रवेशमा रोक लगाएसँगै आपूmहरू अल्पत्र पर्ने अवस्थामा आएको सल्यानबाट मजदूर लिएर आएका समूहका नाइके प्रेम बस्नेतले गुनासो गरे ।

‘हामी पोखरामा आरडीटी परीक्षण गरी रिपोर्ट नेटेटिभ आएपछि मात्र यहाँ आएका हौं, यहाँ आएर पनि गाउँघरमा जाने होइन, आयोजनाको काम गर्ने, यहाँ आइसकेपछि गाउँलेले प्रवेश दिएका छैनन्,’ उनले भने, ‘कम्पनीले स्थानीयवासी र जनप्रतिनिधिसँग समन्वय गरिरहेको भनेको छ, तर कहाँ बस्ने, के खाने ठेगान भएको छैन ।’

सिन्धुपाल्चोकबाट आएका अर्का मजदूर कालु तामाङले समेत काम गर्न पाउने र नपाउने निक्र्योल नभएको र आउँदा ल्याएका खर्च समेत सकिएको बताए । सीई कन्ट्रक्शनमार्फत आयोजनामा काम गर्न मन्त्रालय मार्फत अनुमति पाएर आफूहरू यहाँसम्म आएको बताउँदै उनले राति गाडीमै सुत्नुपर्ने अवस्था आएको प्रतिक्रिया दिए ।

कम्पनीमार्फत आयोजनामा काम गर्न आएका ३० जना बढी मजदूर अहिले अल्पत्र परेका छन् । अन्नपूर्णकै वडा नं ६ घारमा निर्माणाधीन घारखोला जलविद्युत् आयोजनामा काम गर्न ल्याइएका मजदूहरूलाई समेत स्थानीयवासीले गाउँमा नल्याउन चेतावनी दिएपछि पोखरेबगरमै रोकिएका छन् ।

नारच्याङ गाउँ प्रवेश गर्ने कालीगण्डकी नदीमाथि निर्माण गरिएको मोटरेबल पुलमा छेकबार लगाएर स्वयम्सेवक खटिएर गाउँ प्रवेशमा कडाइ गरिएको स्थानीय युवा विवेक पुर्जाले बताए । विभिन्न जोखिमयुक्त ठाउँबाट आउनेहरूमा कोरोना संक्रमण हुन सक्ने र गाउँमा फैलन सक्ने जोखिमलाई मध्यनजर गर्दै गाउँलाई स्थानीयले पूर्णरूपमा बाहिरबाट आउन रोक लगाइएको उनको भनाइ छ ।

लकडाउनको शुरुआतमा घर फर्किएपछि आयोजनाहरूको काम प्रभावित बनेको अवस्थामा पुनः मजदूरलाई ल्याउन थालिएसँगै स्थानीयवासीबाट अवरोध आएकाले जोखिमलाई समेत ध्यानमा राख्दै समन्वय अघि बढाइएको गाउँपालिकाका अध्यक्ष डमबहादुर पुनले बताए । ‘लकडाउन शुरू भएसँगै नजाऊँ भन्दा सबै मजदूर घर गए, अहिले फेरि आयोजनाले बाहिरबाट मजदूर ल्याउन थालेका छन्, स्थानीयवासीले कोरोना संक्रमणको जोखिम हुने भएकाले प्रवेश गर्न दिन्नौं भन्छन्, हामी पनि अन्योलमा छौं,’ उनले भने । अहिले मजदूरलाई आरडीटी परीक्षण र क्वारेन्टाइनमा राखेर काममा लगाउने कि फिर्ता पठाउने भन्ने विकल्पमा छलफल चलाइएको छ । यता, प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले जलविद्युत् आयोजनाले जिल्ला प्रशासन, स्थानीयवासी र स्थानीय तहसँग समन्वय नै नगरीकन बाहिरबाट मानिस ल्याएको बताए ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)