ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

लकडाउन खुकुलो नबनाए अवज्ञा गर्छौं : पोउवा संघ

२०७७ जेठ, २२  
गण्डकी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar नरहरि पौड्याल

कास्की । पोखरा उद्योग वाणिज्य संघले लकडाउनको खुकुलो नबनाए अवज्ञा गर्ने बताएको छ । लकडाउन खुकुलो बनाउन माग गर्दै संघले आफूहरूलाई यसको अवज्ञा गर्ने परिस्थिति नल्याउन सरोकारवाला निकायसँग आग्रह गरेको छ ।  संघले बुधवार आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष दामु अधिकारीले कोरोना महामारी कहिलेसम्म रहन्छ भन्ने निश्चित नभएकाले लकडाउन जारी राख्नु जायज नभएको तर्क गरे । कोरोनाबाट भन्दा अन्य रोगबाट मृत्यु हुनेको संख्या बढी रहेको तथ्य पेश गर्दै उनले लकडाउन जारी रहे अवस्था भयावह हुने औंल्याए । ‘हामी समय तालिका अनुसार व्यवसाय खोल्नुपर्ने पक्षमा छौं । समय तालिका मिलाइदिए सोही अनुसार अघि बढ्छौं । यसका लागि सुरक्षाका सबै प्रबन्ध मिलाउन तयार छौं, उनले भने, ‘हामीलाई लकडाउनको अवज्ञा गर्न बाध्य नपारियोस् ।’

अन्य कुराको विकल्प भए पनि भोकको विकल्प भोजन नै भएको उनले बताए ।  लकडाउनले उत्पन्न विषम परिस्थितिमा बाँच्नकै लागि भए पनि यसको प्रकृति खुकुलो बनाउनुको विकल्प नभएको निष्कर्षमा आफूहरू पुगेको उनको भनाइ छ । ‘पोखरा उद्योग वाणिज्य संघले केही दिनअघि वस्तुगत संघहरूसँग गरेको भर्चुअल बैठकले पनि सुरक्षा प्रबन्ध मिलाएर, आलोपालो रूपमा समय तालिका अनुसार सबै व्यवसाय खुलाउनुपर्ने राय दिएकाले यो निर्णयमा पुगेका हौं,’ उनले भने ।

पोखरा महानगरपालिकाका केही वडाले तरकारी नष्ट गरेकोमा कडा आपत्ति व्यक्त गर्दै उनले दोषीमाथि कारबाहीको माग दोहोर्‍याएका छन् । ‘विश्व स्वास्थ्य संगठनले तरकारीबाट कोरोना सर्दैन भनेको सन्दर्भमा अमूक व्यक्तिबाट भएको यस्तो कार्यले व्यवसायीले भोगेको क्षति एकातिर छ भने अर्कोतर्फ अराजकता फैलने खतरा बढेको छ,’ उनले भने, ‘अन्तरदेशीय, अन्तर प्रदेश तथा अन्तर स्थानीय निकाय व्यापार रोक्ने अधिकार कसैलाई पनि छैन ।’

पत्रकार सम्मेलनमा गण्डकी प्रदेशका सभासद तथा संघका पूर्वअध्यक्ष विन्दुकुमार थापाले पीसीआर परीक्षणको दायरा बढाएर उद्योग व्यवसाय खोल्नेतर्फ ध्यान दिन प्रदेश सरकारलाई आग्रह गरे । कोरोना कोषमा भएको ११ करोड रुपैयाँ राहत र कोरोना नियन्त्रणमा खर्चनुपर्ने माग पनि उनले गरे । सधैं व्यवसाय बन्द गरेर बस्न नसकिने भन्दै उनले लकडाउन खुकुलो नभए सुरक्षाका प्रबन्धसहित व्यवसाय खोल्नुको विकल्प नरहेको बताए ।

संघका महासचिव अर्जुन पोखरेलले अर्थ मन्त्रालय मातहतको आन्तरिक राजस्व विभागले आय कर, मूल्य अभिवृद्धि कर, अन्तःशुल्कको विवरण र कर रकम दाखिला गर्न असार ७ गतेसम्म समयसीमा बढाए पनि अपुग हुने बताए । संघले असार मसान्तसम्म सयमसीमा बढाउन आग्रह गरेको स्मरण गर्दै उनले तत्काल कर तिर्न आऊ भन्नु राज्यको स्वेत आतंक भएको प्रतिक्रिया दिए ।

नेपाल उद्योग वाणिज्य महासंघ गण्डकीका अध्यक्ष तथा संघका पूर्वअध्यक्ष सञ्जीवबहादुर कोइरालाले निजीक्षेत्रले सरकारलाई पहिल्यै लकडाउन खुकुलो बनाउन सुझाएको बताए । यस्तै संघका वरिष्ठ उपाध्यक्ष नारायण कोइरालाले राज्यलाई कर तिरेका व्यवसायीलाई यो वा त्यो बहानामा मानमर्दन नगर्न सरकार र स्थानीय प्रशसनसँग माग गरे । गण्डकी प्रदेश सरकारले नै लकडाउन खुकुलो बनाउने घोषणा गरेको स्मरण गर्दै उनले यही जेठ २५ गतेसम्म आफूहरूले प्रतीक्षा गर्ने र त्यो बेलासम्म पनि कुनै निर्णय नभए बाध्य भएर व्यवसाय खोल्ने बताए ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)