जेठ २२, काठमाडौं । मन्त्रिपरिषद् बैठकले लकडाउन खुकुलो पार्ने मोडालिटी दुई दिनभित्र पेस गर्न कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिलाई निर्देशन दिएको छ । लकडाउनको नयाँ मोडालिटी तय गर्न बिहीवार बसेको बैठकले सो निर्देशन दिएको हो ।
लामो समयसम्म लकडाउन जारी राख्दा व्यवसायीले अवज्ञा गर्न थालेपछि बुधवार मात्रै प्रधानमन्त्रीले लकडाउनको मोडालिटी र भावी कार्यदिशाका बारेमा विज्ञहरुसँग छलफल गर्नुभएको थियो ।
लकडाउनको मोडालिटी परिवर्तनबारे प्रधानमन्त्री केपी शर्मा ओलीले बुधवार साँझ विज्ञहरुसँग ५ घण्टा छलफल गर्नुभएको थियो । त्यस क्रममा स्वास्थ्यविद्, अर्थविद्, योजनाविद्लगायतले लकडाउनको मोडालिटी परिवर्तन गर्न प्रधानमन्त्रीलाई सुझाव दिएका थिए ।
बैठकले समितिले ल्याएको कार्ययोजनापछि पुनः मन्त्रिपरिषद्को बैठक बस्ने र निर्णय गर्ने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री ह्दयेश त्रिपाठीले जानकारी दिए ।
प्रधानमन्त्रीले लकडाउन खुकुलो बनाउने गरी कुन निकाय खुला गर्ने वा कुन निकाय खुला नगर्ने भन्ने विषयमा खाका तयार पार्न समितिलाई निर्देशन दिनु भएको उनले बताए ।
चैत ११ गतेदेखि देशभर लागू लकडाउन पटकपटक म्याद थप्दै पछिल्लो समय यही जेठ ३२ गतेसम्म लम्ब्याइए पछि व्यवसायीहरुले पनि लकडाउनको मोडालिटी परिवर्तन गर्न सरकारलाई सुझाव दिएका छन् । सोही अनुसार सरकारले लकडाउनको नयाँ मोडालिटी तय गर्न लागेको हो ।