ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

म्याग्दीमा खाद्य संकटविरुद्धको तयारी शुरू

बाँझो जमीन जोतेर सामूहिक खेती, पाखो र खोरियामा लहलहाउँदो बाली अभियान

२०७७ जेठ, २३  
गण्डकी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar ध्रुवसागर शर्मा

म्याग्दी । कोरोना भाइरसका कारण आगामी दिनमा उत्पन्न हुनसक्ने खाद्य संकटको पूर्वानुमान गर्दै हिमाली जिल्ला म्याग्दीमा सम्भावित खाद्य संकटविरुद्धको तयारी शुरू गरिएको छ । वैदेशिक रोजगारी र लकडाउनका कारण काठमाडौंलगायत शहरबाट गाउँ फर्किएका युवाहरूले वर्षौंदेखि बाँझो रहेका जमीनलाई खनजोत गरी खेती गर्न थालेका छन् ।
पश्चिम म्याग्दीको मालिका, धवलागिरि र मंगला गाउँपालिका, उत्तरी म्याग्दीको अन्नपूर्ण र रघुगंगा गाउँपालिकाका साथै बेनी नगरपालिकाका युवाहरू यतिखेतर बाँझो जमीन जोत्न, खोरिया फाँड्न र तरकारी, फलफूल तथा बर्षेबाली लगाउन व्यस्त छन् ।

संघीय सरकारले हालै पारित गरेको नीति तथा कार्यक्रम र बजेटमा कृषि क्षेत्रलाई उच्च प्राथमिकता दिएको र बाली लगाउनुअघि नै किसानको नाफा सुनिश्चित गर्ने नीति लिँदै कृषि पूर्वाधारमा ठूलो लगानी गर्ने घोषणा गरेपछि यहाँका युवाहरू कृषि क्षेत्रतर्फ आकर्षित भएका हुन् ।

दुखुमा सामूहिक कृषि
पश्चिम म्याग्दीको मालिका गाउँपालिका–६ दुखुमा वडा कार्यालयको सहयोगमा बाँझो जमीनलाई हरियाली बनाउने अभियान थालिएको छ । दुखुका गाउँलेहरू मिलेर सामूहिक खेती शुरू गरेका हुन् । लगडाउनको समयमा गाउँ फर्किएका युवाहरू मिलेर स्थानीय रूपमा उत्पादन हुने सिमी, भट्टा, कोदो, मकैलगायत खेती लगाउन बाँझो जमीन खनजोतलाई तीव्र पारेका हुन् ।

दुखुका १६ घरधुरीको १७० रोपनी जमीन २२ वर्षदेखि बाँझै थियो । झाडीमा परिणत भएको उक्त बाँझो जमीन फाँड्न र खनजोतमा गाउँका किसानसहित युवाहरू जुटेका छन् । किसानहरूले १० वर्षसम्म उपभोग गर्ने गरी जग्गाधनीसँग सम्झौता गरेका छन् । मालिका–६ का अध्यक्ष सन्तनाथ सुवेदीले ‘एक गाउँ एक उत्पादन’ योजनासँगै रैथाने बालीको पकेट क्षेत्र निर्धारण गरेर भूगोलअनुसार खेती शुरू गरेको बताए । स्थानीय सर्गबहादुर रोकाले बाँझो बसेको जमीनलाई हरियाली बनाउने अभियानमा सरिक हुन शहर वा गाउँबाहिर रहेका युवाहरूलाई गाउँमा फर्किन आग्रह गरे ।

बाँझो जोत्न रू. ३ लाख बजेट
खेतीतर्फ आकर्षित, आयात घटाउने, रोजगारी र आयआर्जन बढाउने तथा आवश्यक स्थानीय खाद्यान्न उत्पादनसँगै आम्दानी बढाउने उद्देश्यले बाँझो जमीन जोत्न दुखुलेकमा गाउँपालिकाले रू. ३ लाख बजेट छुट्ट्याएको छ । सार्वजनिक जग्गामा टिमुर लगाउन रू. १ लाख र बाँझो जमीन वा खेती गर्दै आएको जग्गामा खनजोतसहित सिमीको बीउविजन खरीद गर्न रू. २ लाख विनियोजन गरेको वडासदस्य पदबहादुर रोकाले बताए ।

उत्पादित कृषिउपज सहकारीले किन्ने
सम्भावित खाद्य संकटको अवस्था आउन नदिन यहाँका स्थानीय तहले रोजगारी सिर्जना गर्न अुनदान लगायतको व्यवस्था गरेका छन् । गाउँमा उत्पादित कृषिउपजहरू टिमुर, सिमी, गहत, भट्टल गायतको बजारीकरण गर्ने जिम्मा आत्मनिर्भर व्यवसायी कृषि सहकारी संस्थाले लिएको छ । उत्पादनको बजारीकरण गर्न सहकारी अग्रसर भएपछि किसानमा थप उर्जा थपिएको छ ।

बाँझो जमीनमा खेती गर्नेलाई अनुदान
धवलागिरि गाउँपालिकाले बाँझो जमीनमा खेती गर्नेलाई अनुदान दिने भएको छ । कार्यपालिकाको बैठकले खेती हुन छाडेर बाँझिएका जमीन उपयोग गर्नेलाई प्रोत्साहन गर्ने निर्णय गरेको उपाध्यक्ष रेशम छन्त्यालले बताए । आगामी आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रम र बजेटमा समावेश गरी बाँझो जमीन प्रयोगमा ल्याउनेसम्बन्धी कार्यविधि ल्याएर कार्यान्वयन गर्ने उनले जानकारी दिए ।

गाउँपालिकाको उपल्लो क्षेत्रमा खाद्यबालीका साथै उच्च बजारमूल्य भएका दलहन, तरकारी, फलफूल, जडिबुटीको व्यावसायिक खेतीतर्फ युवा तथा किसानलाई आकर्षित गर्न लागिएको उनको भनाइ छ । तल्लो क्षेत्रमा केरा, सुन्तला र उच्च पहाडी क्षेत्रमा सतुवा, टिमुरलगायत जडिबुटी खेती गर्न किसानहरूलाई आग्रह गरिएको छ ।

७ ओटै वडामा खाद्य बैंक
कारोना भाइरसको विश्वव्यापी महामारीका कारण खाद्य संकटको अवस्था आउन नदिन धवलागिरिका ७ ओटै वडामा खाद्य बैंक स्थापना गरेर समस्यामा पर्ने विपन्न, मजदुरलाई खाद्यान्न उपलब्ध गराउने नीतिसहित अगाडि बढेको छन्त्यालको भनाइ छ । सम्भावित खाद्य संकट, सामाजिक विचलन र आर्थिक संकटलाई दृष्टिगत गरी मदिरा उत्पादनबाट जिविकोपार्जन गर्दै आएकाहरूलाई वैकल्पिक शीप सिकाउने गाउँपालिकाको योजना छ ।

उत्तरी म्याग्दीमा खोरिया फाँड्ने अभियान
यस्तै उत्तरी म्याग्दीको रघुगंगा गाउँपालिकामा पनि धमाधम खोरिया फाँडेर तरकारी खेती गर्ने अभियान शुरू भएको छ । गाउँपालिकाका सबै वडाहरूमा २०० रोपनीभन्दा बढी बाँझो जग्गामा तरकारी, फलपूmल र खाद्यान्न बाली लगाइएको गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले बताए ।

अन्नपूर्णका युवा व्यस्त
अन्नपूर्ण गाउँपालिकाका युवाहरू पनि कृषि कर्ममा लागेका छन् । गाउँमा यतिबेला खेतबारीको कामको सिजन भएको छ । धानको व्याड बनाउने, बीउ राख्ने, बाँझो जोत्नेलगायत काममा युवाहरू खटेको अन्नपूर्ण गाउँपालिकाका प्रवक्ता एवं वडा नं ६ का अध्यक्ष कृष्णप्रसाद बरुवालले जानकारी दिए । ‘विगतमा कृषि कर्मका लागि जनशक्तिको अभाव हुने गर्दथ्यो, अहिले युवाहरू नै खेतीपातीको काममा लागेपछि निकै सहज भएको छ’, प्रवक्ता बरुवालले भने ।

नगर क्षेत्रमा तरकारी र फलफूल
जिल्लाको बेनी नगरपालिकाका १० ओटै वडाहरूमा बाँझो रहेका खेतीयोग्य जमीनको पहिचान गरी सामूहिक वा एकल खेती गर्ने अभियान शुरू गरिएको छ । बेनी नगरपालिका २ बगरफाँटमा बाँझो रहेका जग्गामा अहिले धमाधम केराखेती थालिएको छ । यस्तै नगरपालिकाको ३ नं. वडास्थित तोराखेतमा खोरिया फँडानी गरिँदै भने वडा नं ४ सिंगामा १ टुक्रा पनि जमीन बाँझो नराख्ने अभियान सञ्चालन गरिएको स्थानीय जनप्रतिनिधिहरूले बताएका छन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)