ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

कोरोना बीमा स्थगित

विक्री भइसकेको बीमालेखले मान्यता पाउने

२०७७ जेठ, २३  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar मिलन विश्वकर्मा

काठमाडौं । कोरोना संक्रमितको संख्या बढ्दै जाँदा बीमा कम्पनीको दायित्व बढ्ने भएपछि कोभिड–१९ बीमालेख (कोरोना बीमा) को कारोबार स्थगित गरिएको छ । नेपाल बीमक संघको अनुरोधमा बीमा समितिले बिहीवार कोरोना बीमाको कारोबार हालका लागि स्थगित गर्ने निर्णय गरेको हो । यद्यपि, हालसम्म विक्री भएको बीमालेखले भने निरन्तरता पाउने छन् । शुक्रवारदेखि भने नयाँ बीमालेख विक्री नगरिने समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले बताए । पौडेलका अनुसार कारोबारमा जोखिम बढेपछि हाललाई यो व्यवसाय स्थगित गर्ने निर्णय गरिएको हो ।

समितिले गत वैशाख ४ गते कोभिड–१९ बीमालेख जारी गरेपछि वैशाख ७ गतेदेखि यसको औपचारिक कारोबार शुरू भएको थियो । त्यसयता, यस बीमाप्रति आम मानिसको आकर्षण पनि बढ्दै गएको थियो ।

तर, नेपालमा कोरोना संक्रमित बढ्दै गएको र विदेशी पुनर्बीमा कम्पनीले यस बीमाको पुनर्बीमा गर्न नमाने पछि कारोबार स्थगित गर्नुपर्ने बाध्यता आएको बीमा कम्पनीहरूको भनाइ छ । पुनर्बीमा कम्पनीले यस बीमाको पुनर्बीमा गर्न मानेको भए नेपाली बीमा कम्पनीहरूले आफूले वहन गर्न सक्ने दायित्व राखेर बाँकीको पुनर्बीमा गर्ने बताएका थिए । नेपालमा सञ्चालित अन्य प्रकारका बीमामा पनि यस्तै अभ्यास गरिएको छ । कोरोना बीमाको पनि पुनर्बीमा हुने आशामा नै कम्पनीहरू लघुबीमा पुलमार्फत यो व्यवसाय शुरू गरेका थिए । तर, यस व्यवसायलाई विदेशी पुनर्बीमा कम्पनीहरूले स्वीकार नगरेपछि हालका लागि बीमा कम्पनीहरू यसको कारोबारबाट पछाडि हटेका हुन् ।

बीमा समितिका अनुसार बुधवारसम्म ३ लाखभन्दा बढी व्यक्तिले यो बीमा गरेका छन् । उनीहरूले किनेको बीमालेखको आधारमा यसको कुल दायित्व झन्डै २७ अर्ब रुपैयाँ बराबरको छ । त्यसमा पुनर्बीमा कम्पनीबाहेक २० निर्जीवन बीमा कम्पनीलाई मात्र झन्डै २२ अर्ब रुपैयाँ बराबरको दायित्व गर्नुपर्ने हुन्छ । तर, २० निर्जीवन बीमा कम्पनीको जम्मा चुक्तापूँजी नै १६ अर्ब रुपैयाँको हाराहारीमा छ । यसरी पूँजीभन्दा दायित्व बढी भएपछि कोरोना बीमा कारोबार स्थगित गर्नु परेको संघका महासचिव चंकी क्षत्री बताउँछन् ।
पोलिसी बनाउँदा कम्पनीहरूले १० प्रतिशतको अनुपातमा दाबी परेमा दायित्व वहन गर्न सकिने बताएका थिए । तर, बढ्दो कोरोना संक्रमितका कारण यति नै दाबी आउँछ भन्ने टुंगो पनि नभएको कम्पनीहरूको भनाइ छ ।

अहिले एक निर्जीवन बीमा कम्पनीको चुक्तापूँजी १ अर्ब रुपैयाँको हाराहारी छ । ३ लाख बीमितको दायित्व सबै कम्पनीलाई भाग लगाउँदा एक कम्पनीको भाग मा नै १ अर्ब रुपैयाँ बराबरको दायित्व हुने भएको छ । भविष्यमा सबै बीमित संक्रमित भएको अवस्थामा दाबी भुक्तानी गर्न नसक्ने अवस्था आउने भएपछि कारोबारलाई हालका लागी रोकेको बीमक संघका महासचिव चंकी क्षत्रीले बताए ।

‘दायित्व बढी भएपछि हामीले बीमा समितिलाई कारोबार स्थगित गरिदिन लिखित अनुरोध गरेका थियौं । समितिले यही अनुरोधको आधारमा निर्णय गरेको हो,’ उनले भने, ‘यद्यपि, हालसम्मका बीमितहरूको दायित्व भने वहन गर्न सक्छौं । यसमा बीमितहरू ढुक्क भएर बस्दा हुन्छ ।’

पछिल्लो समय कोरोना संक्रमितको संख्या बढ्दै जाँदा नेपाल कोरोनाको जोखिम उच्च अझै छ । ‘समाजमा कुनै एक जना संक्रमित भएमा सबैमा सर्ने खतरा छ । यस अवस्थामा यस बीमा व्यवसाय अगाडि बढाउँदा दायित्व वहन गर्न नसक्ने अवस्था आउने देखियो,’ महासचिव क्षत्रीले भने ।

यो बीमा सेवा पुनः सञ्चालनमा ल्याउन सकिने समिति तथा कम्पनीहरूको भनाइ छ । सरकारले आगामी आर्थिक वर्षको वार्षिक बजेटमार्फत बीमाशुल्कमा ५० प्रतिशत अनुदान दिएर कोरोना बीमा अगाडि बढाउने घोषणा गरेको छ । यस बीमालाई सरकारको नीतिअनुसार पुनः सञ्चालन गरिने समितिका कार्यकारी निर्देशक पौडेलले बताए ।

‘सरकारले के–कसरी यो बीमालाई अगाडि बढाउँछ भन्ने बिषयमा केही अन्योल छ । त्यसैले अहिलेलाई यस बीमालाई स्थगित गरेका हौं । सरकारसँग आवश्यक समन्वय गरेर यो पुनः सुचारु गर्छौं,’ उनले भने, ‘हामीले विदेशी पुनर्बीमा कम्पनीसँग पनि यस विषयमा छलफल गरेका छौं । उनीहरूबाट राम्रै प्रतिक्रिया आयो भने पुनः सञ्चालन गर्न समस्या हुँदैन ।’ यद्यपि, अहिलेको भन्दा फरक मोडालिटीमा यसको सेवा सञ्चालन गरिने उनको भनाइ छ ।

संघका महासचिव क्षत्रीले सरकारले प्रिमियममा सहुलियत दिएर मात्र यो व्यवसाय सञ्चालन गर्न नसकिने बताए । सरकारले दाबी भुक्तानीमा समेत सहयोग गर्नुपर्ने उनको भनाइ छ । ‘सरकारले कोरोना बीमा अगाडि बढाउने भने पनि त्यसको मोडालिटी अझै बाहिर ल्याएको छैन । बीमाशुल्कमा मात्र अनुदान दिएर दायित्व वहन गर्न सकिँदैन,’ उनले भने, ‘अब सरकारले ल्याउने कार्यविधिलगायत मोडालिटीका आधारमा हामी यो व्यवसायलाई अगाडि बढाउन सक्छौं ।’

पुलमार्फत यो कारोबार गरिएकाले यसबाट हुने व्यवसाय र जोखिम सबै निर्जीवन बीमा कम्पनीहरूलाई बराबर बाँडफाँट गर्ने व्यवस्था गरिएको थियो । संघका अनुसार पुनर्बीमामार्फत नेपाल पुनर्बीमा कम्पनीले २० प्रतिशत व्यवसाय पाउने व्यवस्था थियो भने बाँकी रहेको ८० प्रतिशत जोखिम अर्थात् व्यवसाय भने २० निर्जीवन बीमा कम्पनीहरूलाई बराबर रूपमा विभाजन गरिएको थियो । बीमालेख अनुसार रू. १ लाख र रू. ५० हजारको बीमांकमा यस्तो बीमा गर्न सक्ने व्यवस्था थियो । रू. १ लाख बीमांकको बीमा गर्दा प्रतिव्यक्ति रू. १ हजार र रू. ५० हजारको बीमांक बीमा गर्दा प्रतिव्यक्ति रू. ५०० बीमा शुल्क लाग्ने व्यवस्था गरिएको थियो । परिवारका सदस्य र संस्थाका कर्मचारीको संयुक्त रूपमा बीमा गर्दा प्रतिव्यक्ति ४० प्रतिशत छूट दिइने व्यवस्था पनि गरिएको थियो । बीमालेखअनुसार बीमित व्यक्तिले कोरोना संक्रमित भएको पुष्टि हुनासाथ बीमांक बराबरको रकम भुक्तानी पाउने छन् । अहिले बीमाशुल्कबापत १६ करोड रुपैयाँ संकलन भएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)