ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

संस्थागत लगानीकर्ता बढाउनुपर्छ : अर्थमन्त्री

ऋणपत्रको कारोबारमा जोड

२०७७ जेठ, २६  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar प्रजिता बुढाथोकी

काठमाडौं । नेपालको शेयरबजारले अपेक्षित गति लिन नसकिरहेको भए पनि प्राथमिक शेयरमा ७७ जिल्लाबाटै लगानी भएको छ भने शेयर बजारको पहुँच ५ दशमलव ५ प्रतिशतमा जनतामा पुगेको छ ।

दोस्रो बजारमा करीब ३ लाख जना आबद्ध भए पनि सक्रिय रूपमा शेयर कारोबार गर्नेको संख्या भने न्यून रहेको पाइन्छ । शेयरबजारको नियामक निकाय नेपाल धितोपत्र बोर्ड स्थापना भएको २८औं वार्षिकोत्सवमा यसले अपेक्षित मात्रामा प्रगति गर्न नसकेको सरोकारवालाले बताए ।

लकडाउनका कारण औपचारिक कार्यक्रम नमनाइए पनि भिडियो कन्फरेन्सबाट वार्षिकोत्सव मनाइयो । कार्यक्रमा अर्थमन्त्री डा. युवराज खतिवडाले नेपालको पूँजी बजारको विकासका लागि संस्थागत लगानीकर्ता बढाउनुपर्नेमा जोड दिएका छन् ।

आइतवार नेपाल धितोपत्र बोर्ड (सेबोन) ले भिडियो कन्फ्रेन्समार्पmत गरेको अन्तरक्रियामा अर्थमन्त्री खतिवडाले बजारमा तरलता सृजना गर्न व्यक्तिगत लगानीकर्ताभन्दा संस्थागत लगानीकर्ताको भूमिका बढी हुने हुँदा त्यसतर्फ ध्यान दिनुपर्ने बताए ।

उनले बजारमा स्टक डिलरका रूपमा काम गर्न संस्थागत लगानीकर्ताहरू इच्छुक देखिएको सन्दर्भमा त्यसतर्फ बोर्डले जतिसक्दो चाँडो व्यवस्था मिलाउनुपर्ने बताएका छन् ।

बजारमा व्यक्तिगत लगानीकर्ताभन्दा संस्थागत लगानीकर्ताहरूमा विश्लेषण गरी लगानी गर्ने क्षमता बढी भएकाले व्यक्तिगत लगानीकर्ताको समेत वित्तीय अवस्था बढाउन बोर्डले पहल गर्नुपर्ने खतिवडाको भनाइ छ । उनले बजारमा भित्रिरहेको र भिœयाउने प्रविधिको बारेमा समेत लगानीकर्तालाई स्पष्ट रूपमा बुझाउनुपर्ने बताए ।

बजारमा तरलता सृजना गर्न हाल कायम टी प्लस थ्रीको राफसाफ प्रक्रियालाई घटाउन अर्थमन्त्री खतिवडाले सुझाव दिएका छन् । लकडाउनको समय बजार सुधारका काम गरी बजार खुलेको दिन सहज रूपमा अघि बढ्न अर्थमन्त्री खतिवडाले बोर्डले सुझाव दिएका छन् ।

‘बैंक तथा वित्तीय संस्थाहरूले पनि ठूलो मात्रामा ऋणपत्र जारी गरिरहेको अवस्थामा जतिसक्दो चाँडो नियामक निकायले यो बजार विस्तारका लागि पहल गर्नुपर्छ,’ उनले भने, ‘क्रेडिट रेटिङ प्रक्रियालाई अझ विश्वसनीय बनाउन आवश्यक छ ।’

कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सबैभन्दा बढी अंश ओगटेको बैंक तथा वित्तीय क्षेत्रको गतिविधिले पूँजी बजारमा प्रभाव पार्ने हुँदा यस विषयमा राष्ट्र बैंक सचेत रहेको बताए ।

उनले भने, ‘आगामी मौद्रिक नीतिमा पनि पूँजी बजारका सरोकारवाला निकायबाट प्राप्त सुझावका आधारमा आवश्यक विषय समेट्ने छौं ।’

धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानाले लकडाउनपूर्व बजारले राम्रो गति लिएको बताए । उनले भने, ‘लकडाउनका कारण बन्द बजार सहजरूपमा सञ्चालन गर्न पहल भइरहेको छ ।’ दोस्रो बजारको पनि पहुँच विस्तारका लागि अनलाइन कारोबार प्रणालीलाई अझ प्रभावकारी बनाउनेतर्फ लागिपरेको ढुंगानाको भनाइ छ ।

दोस्रो बजारमा कारोबारका लागि करीब ३ लाख लगानीकर्ता आबद्ध भए पनि सक्रिय लगानीकर्ताको संख्या कम रहेको नेपाल स्टक एक्सचेन्जका प्रमुख कार्यकारी अधिकृत चन्द्र सिंह साउदले जानकारी दिए ।

अनलाइन कारोबार प्रणाली प्रत्यक्ष रूपमा नेप्सेले सञ्चालन गरेपछि सहायक कम्पनी सीडीएस एन्ड क्लियरिङ लिमिटेडबाट शेयरको विद्युतीय हस्तान्तरण र नेपाल क्लियरिङ हाउसको नेटवर्कमार्फत तोकिएको बैंक तथा वित्तीय संस्थाबाट विद्युतीय भुक्तानी हुने जानकारी साउदले गराए ।

ऋणपत्र बजार विस्तारका लागि नेप्से पनि तयार रहेको अहिलेको प्रणाली सबैखाले ऋणपत्रको कारोबार गराउन सक्षम रहेको समेत साउदको भनाइ छ ।

कार्यक्रमका अतिथिका रूपमा रहेका मर्चेन्ट बैंकर एशोसिएशनका अध्यक्ष ध्रुव तिमिल्सिनाले पूँजी बजारमा पूर्वाधार भए पनि पर्याप्त नभएको टिप्पणी गरे । बजारको स्थायित्व ल्याउन महत्वपूर्ण भूमिका खेल्ने सामूहिक लगानीकोष सञ्चालनका लागि राज्यले उपयुक्त वातावारण तयार गर्नुपर्ने माग उनको छ । विशेष गरी यस्ता कोषमा लाग्ने दोहोरो करसम्बन्धी विवाद तत्काल समाधान हुनुपर्ने अध्यक्ष तिमिल्सिनाको सुझाव छ ।

मालपोत कार्यालय तथा सुनचाँदी पसल आइतवारदेखि खुलिसकेको अवस्थामा पूँजी बजार अझै बन्द हुँदा बजारको विश्वसनीयतामाथि प्रश्न उठेको स्टक ब्रोकर एशोसिएशनका अध्यक्ष भरत रानाभाटको भनाइ छ ।

बजेटबाट आफूहरुले दिएको सुझाव सम्बोधन हुने आशा निराशामा परिणत भएको भन्दै रानाभाटले आगामी दिनमा अर्थ मन्त्रालयसँग समन्वय गरी ५ प्रतिशत अन्तिम करको अन्योल हटाउने, राष्ट्र बैंकबाट बैंकले दिएको मार्जिन ल्यान्डिङको सीमा बढाउनुका साथै नवीकरण र ब्याज तिर्ने अवधि बढाउने पहल गर्न बोर्डसमक्ष रानाभाटले अनुरोध गरेका छन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)