ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

चार्टर उडानमा क्यानको प्रतिबन्ध

केही दिन नियमित हवाई उडान गर्न दिन माग, नेवानिको उडान प्रभावित

२०७७ जेठ, २६  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar टीपी भुसाल

काठमाडौं । ट्राभल व्यवसायीहरूले केही दिनका लागि नियमित हवाई सेवा खोलिदिन पर्यटन मन्त्रालयलाई आग्रह गरेका छन् । सरकारले विदेशमा अलपत्र रहेका नेपालीलाई उद्धार गरेर ल्याउने नीति लिएपछि नियमित उडानबाट उनीहरूलाई नेपाल ल्याउन ट्राभल व्यवसायीहरूले केही दिनका लागि नियमित उडान गर्न दिन माग गरेका छन् ।

चार्टर उडानमा जथाभावी भाडा लिन थालेपछि नागरिक उड्डयन प्राधिकरण (क्यान) ले कूटनीतिक माध्यमबाट हुने चार्टर उडानबाहेक सबै उडानमाथि रोक लगाएको छ । नियमितभन्दा धेरै नै महँगो भाडा लिन थालेपछि विदेशमा अलपत्र परेका नेपालीले आपत्ति व्यक्त गरेका थिए । विपद्को अवस्थामा चार्टर उडानको नाममा वायुसेवा कम्पनी तथा ट्राभल एजेन्सीले यात्रुसँग आपूmखुशी भाडा लिएको गुनासो संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा पुगेपछि मन्त्रालयकै निर्देशनमा क्यानले आइतवारैदेखि चार्टर उडानमा रोक लगाएको हो । प्राधिकरणले जरुरी सूचना जारी गर्दै कूटनीतिकबाहेकका उडान रोकिएको जानकारी गराएको छ ।

सरकारले विदेशमा रहेका नेपाली ल्याउने नीतिगत निर्णय गरिसकेको अवस्थामा नियमित उडान गर्दा नेपालबाट बाहिर जान चाहने र आउन चाहने दुवैका लागि सस्तो भाडामा आउन जान पाउने भएकाले अन्तरराष्ट्रिय मापदण्डअनुसार नियमित उडान शुरू गर्न आग्रह गरिएको नेपाल एशोसिएशन अफ टूर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) का अध्यक्ष अच्युत गुरागाईंले जानकारी दिए । ‘कतिपय व्यवसायीबाट चार्टरको नाममा बढी भाडा दिने काम भएकैले क्यानले यो निर्णय गरेको हो । नियमित उडान सस्तो हुन्छ । त्यसैले केही दिनका लागि नियमित उडान खोल्न हामीले मन्त्रालयलाई आग्रह गरेका छौं,’ उनले भने ।

उडानको टिकट विक्री गर्ने जिम्मा पनि समानुपातिक रूपमा नाट्टा सदस्यहरूले नै पाउनुपर्ने माग मन्त्रालयसमक्ष राखेको छ । चार्टर उडान गर्दा ५ प्रतिशत वैधानिक कमिशन लिन पाउने व्यवस्था भएकाले त्यसले ट्राभल व्यवसायीलाई केही राहत हुने गुरागार्इंले बताए ।

नेपालबाट सबै प्रकारका व्यावसायिक यात्रु उडान प्रतिबन्ध गरिएको अवस्थामा कूटनीतिक माध्यमबाट हुने उडानलाई मात्रै उडान अनुमति दिइने प्राधिकरणका प्रवक्ता राजकुमार क्षत्रीले जानकारी दिए । प्रवक्ता क्षत्रीका अनुसार व्यावसायिक प्रकृतिका चार्टर गर्दा ट्राभल एजेन्सीहरूले यात्रुहरूबाट बढी रकम असुलेको भन्ने गुनासो आए पनि मन्त्रालयकै निर्देशनमा यो निर्णय गरिएको हो ।

बाहिरबाट नेपाली ल्याउँदा नेपाली विमान सेवा कम्पनीको पहुँच भएका स्थानमा नेपाल वायुसेवा निगम र हिमालयन एयरलाइन्सलाई प्राथमिकतामा राख्नुपर्ने र नेपाली जहाज जान नसक्ने स्थानका लागि मात्र विदेशी विमानसेवा कम्पनीलाई दिनुपर्ने माग पनि गरिएको नाट्टा अध्यक्ष गुरागाईंले बताए । आपूmहरूको मागका सम्बन्धमा मन्त्रालयले कोभिड रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिमा लैजाने जानकारी दिएको उनले बताए ।

प्राधिकरणको यो निर्णयले सबैभन्दा बढी असर राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको चार्टर उडानमा पर्ने देखिएको छ । क्यानको निर्णयले निगमको उडानमा प्रत्यक्ष प्रभाव पार्ने हुँदा उडान रोक्नुभन्दा नियमनलाई बढी जोड दिनुपर्ने निगमका प्रवक्ता अर्चना खड्काले बताइन् । ‘यो समयमा अत्यावश्यक काम पर्ने मानिसले नै यात्रा गर्ने हो । यदि कसैले गलत गरेको छ भने सम्बद्ध निकायले त्यसको अनुगमन गरेर जानुपर्ने हो । तर, कूटनीतिक माध्यमबाट हुने उडानबाहेक अन्यमा रोक लगाएपछि त्यसको असर निगमलाई पक्कै पर्छ,’ उनले भनिन् । यो बीचमा सबैभन्दा बढी चार्टर उडान निगमले नै गरेको छ । निगमले लकडाउनको अवस्थामा दैनिकजसो चार्टर उडान गर्दै आएको थियो । निगमले आइतवार बेलुका ९ बजे जापानको नारिता र सोमवार अस्ट्रेलियाको क्यानबेरामा चार्टर उडान गर्ने तालिका रहेको प्रवक्ता खड्काले जानकारी दिइन् ।

लकडाउन अघिसम्म नेपालबाट तीन नेपालीसहित ३० वायुसेवा प्रदायक कम्पनीले अन्तरराष्ट्रिय उडान गर्दै आएका थिए । लकडाउनको समयमा चैत १४ गतेदेखि जेठ २४ सम्म ११० ओटा चार्टर उडान भएको प्राधिकरणले जानकारी दिएको छ । सरकारले गत चैत ९ गतेदेखि लागू हुने गरी नेपालमा अन्तरराष्ट्रिय उडान गर्ने सबै वायुसेवा प्रदायक कम्पनीको उडान स्थगन गरेको थियो ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)