ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

लकडाउनले बढायो सामाजिक सुरक्षामा आकर्षण

थपिए साढे तीन सय कम्पनीका ३४ हजार योगदानकर्ता

२०७७ जेठ, २६  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar विजय दमासे

काठमाडौं । सामाजिक सुरक्षा कोषमा आबद्ध हुन पटकपटक आग्रह गर्दा पनि अनिच्छुक देखिएका कम्पनीहरू अहिले धमाधम सामाजिक सुरक्षा योजनामा आबद्ध हुन थालेका छन् ।

कोभिड–१९ का कारण व्यवसाय प्रभावित हुँदा श्रमिकको दायित्व वहन गर्न निजी प्रतिष्ठानहरूलाई अप्ठ्यारो पर्दै गएपछि लकडाउन अघिसम्म आनाकानी गरिरहेका होटेल, बैंक वित्तीय, एयरलाइन्सलगायत क्षेत्र सामाजिक सुरक्षा योजनामा सहभागी हुने क्रम बढेको छ ।

कोरोनाले नराम्ररी थला परेका ठूला होटेलहरू अहिले सामाजिक सुरक्षा योजनामा सहभागी हुन थालेका छन् । याक एन्ड यती, होटेल हिमालयन, गोदावरी फरेस्ट रिसोर्ट, एयरपोर्ट होटेल, होटेल र्‍याडिसन, होटेल अन्नपूर्ण, होटेल रोयल सिंगीलगायत राजधानीमा रहेका डेढ सय ठूला होटेल सामाजिक सुरक्षा योजनामा सूचीकृत भइसकेको सामाजिक सुरक्षा कोषले जानकारी दिएको छ ।

लकडाउनले प्रभावित हवाई कम्पनीहरू पनि लकडाउनका बेला धमाधम सामाजिक सुरक्षा कोषमा सहभागी भएका छन् । आन्तरिक वायु सेवाका बुद्ध एयर, यति एयरलाइन्स, हिमालयन एयरलाइन्स, श्री एयरलाइन्स, सौर्य एयरलाइन्स, सिम्रिक एयर, सीता एयर आदि कम्पनी सामाजिक सुरक्षा योजनाको दायरामा आएका हुन् ।

लकडाउनका बेला बैंकिङ क्षेत्रको समेत सामाजिक सुरक्षा कोषमा सहभागिता बढेको छ । ग्लोबल आईएमई, प्रभु, जनता, लक्ष्मी, मेगा, नबिल, इन्भेस्टमेन्ट, सिभिललगायत बैंक सामाजिक सुरक्षा कोषमा गएका छन् ।

महाविपत्तिका बेला आफ्ना प्रतिष्ठानमा आबद्ध श्रमिकहरूको दायित्व वहन गर्न अप्ठ्यारो परेकै कारण सामाजिक सुरक्षा कोषमा सहभागी हुनेको संख्या अहिले ह्वात्तै बढेको हुन सक्ने कोषका कार्यकारी निर्देशक कपिलमणि ज्ञवालीले बताए । ‘विशेषगरी होटेल, हवाई क्षेत्रहरू कोरोनाले ठप्प हुन पुगे त्यसैले पनि अन्य क्षेत्रको तुलनामा यी क्षेत्रको सहभागिता उच्च छ,’ ज्ञवालीको भनाइ छ ।

होटेलहरूको छाता संगठन होटेल एशोसिएशन अफ नेपाल (हान) का वरिष्ठ उपाध्यक्ष विनायक शाहले महाविपत्मा राज्यले सामाजिक सुरक्षामार्फत गरेको राहत कार्यक्रमले आफूहरूलाई ठूलो सहयोग पुगेको बताए । उनका अनुसार पछिल्लो समय होटेलहरूले सामाजिक सुरक्षा कोषमा दर्ता हुन प्रक्रिया अघि बढाएका छन् । ‘दर्ता भएका र दर्ता हुन बाँकी होटेल कम्पनीहरू र त्यहाँ कार्यरत प्रायः श्रमिक नियमानुसार फागुनसम्मको योगदान गर्न तयार छौं, सरकारले लकडाउनभरको योगदान रकम जम्मा गर्न आनाकानी गर्नु हुँदैन,’ उनले भने । सरकारले लकडाउन अवधिभर सहयोग गरे संस्थागत निर्णय गरेरै हानमा आबद्ध सबै सदस्यलाई अनिवार्य रूपमा सामाजिक सुरक्षामा जान अनुरोध गर्ने एयरपोर्ट होटेलका सञ्चालकसमेत रहेका शाहले बताए ।

सामाजिक सुरक्षा कोषका अनुसार जेठ २२ सम्ममा १२ हजार ४ सय प्रतिष्ठानमा कार्यरत १ लाख ६० हजार योगदानकर्ता सूचीकृत भएका छन् भने योगदानकर्ताको १ अर्ब १८ करोड कोषमा जम्मा भइसकेको छ । लकडाउनभरको योगदान रकम असारभित्रै सरकारले कोषमा जम्मा गर्दै छ । २०७६ माघ अन्तिमसम्म १२ हजार १ सय ३५ प्रतिष्ठानमा कार्यरत १ लाख ४४ हजार योगदानकर्ता कोषमा आबद्ध भएका थिए ।

लकडाउनले आर्थिक गतिविधि ठप्प हुँदा निजीक्षेत्र मारमा परेकाले राहतस्वरूप लकडाउनभरको श्रमिक र प्रतिष्ठानले सामाजिक सुरक्षा कोषमा गर्नुपर्ने योगदान रकम सरकारले बेहोर्ने घोषणा गरिसकेको छ । कोषले असारभित्रै अर्थ मन्त्रालयसँग श्रमिकको बाँकी रकम माग्ने कार्यकारी निर्देशक ज्ञवालीको भनाइ छ ।

‘सरकारले लकडाउन अवधिको श्रमिक र रोजगारदाताले तिर्नुपर्ने सामाजिक सुरक्षा कोषको रकम तिरिदिने घोषणा गरिसकेको छ, लकडाउनभरको योगदान रकम श्रमिक, रोजगारदाताबाट उठाउने कुरै आउँदैन । सामाजिक सुरक्षा कोषले अर्थ मन्त्रालयसँग लकडाउनभरको बाँकी योगदान रकम असारभित्रै माग्नेछ,’ ज्ञवालीको भनाइ छ ।

गत चैत १६ गते बसेको मन्त्रिपरिषद् बैठकले कोषमा आबद्ध श्रमिकको चैत महीनाको रकम जम्मा गर्ने निर्णय गरेको थियो । सोही निर्णय अनुसार अर्थ मन्त्रालयले कोषलाई १८ करोड ६७ लाख भुक्तानी गरिसकेको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)