जेठ २६, काठमाडौं । कोरोनाको संक्रमणको अवस्था सामान्य भएको ६ महीनामै गौतम बुद्ध अन्तरराष्ट्रिय विमानस्थलबाट अन्तरराष्ट्रिय उडान शुरु गर्न सकिने भएको छ ।
संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराइले विमानस्थलको अधिकांश काम सकिएकोले कोरोना संक्रमण हटेको कम्तीमा ६ महीनामै उडान गर्न सकिने बताए ।
आर्थिक वर्ष २०७७/०७८ को विनियोजन विधेयक माथि संसदमा सोमवार भएको छलफलका क्रममा सांसदहरुले राखेका प्रश्न, जिज्ञासा एवं सुझावका सम्बन्धमा जवाफ दिँदै पर्यटन मन्त्री भट्टराइले सो जानकारी दिए ।
‘कोभिड-१९ को असर नभएको भए थुप्रै माननीयज्यूहरु भैरहवा अन्तरराष्ट्रिय विमानस्थलबाट दोहा कतार उड्ने सौभाग्य पाउनुहुन्थ्यो । कोभिड-१९ को स्थिति कम भएको ६ महीनाभित्र भैरहवाबाट विश्वका जुनसुकै ठाउँमा जान सकिन्छ,’ उनले भने ।
उनले भैरहवा र पोखरा क्षेत्रिय अन्तरराष्ट्रिय विमानस्थलका लागि उच्च प्राथमिकतामा राखी आवश्यक वजेट विनियोजन गरिएको जानकारी दिए । आगामी आर्थिक वर्षमा दुवै विमानस्थलहरु निर्माण सम्पन्न भै सञ्चालनयोग्य हुने र दोस्रो अन्तरराष्ट्रिय विमानस्थल निजगढको निर्माण पनि यसै आर्थिक वर्षबाट शुरु गरिने मन्त्री भट्टराइले बताए ।
यस्तै त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थललाई पूर्ण रुपमा बुटिक विमानस्थलमा रुपान्तरण गरी दैनिक २४ घन्टा नै सञ्चालनयोग्य बनाउने र विराटनगर, भरतपुर, सुर्खेत, नेपालगञ्ज र धनगढी विमानस्थललाई स्तरोन्नति गर्ने कार्यक्रम रहेको उनले बताए ।
विनियोजन विधेयकमा पर्यटन मन्त्रालयसँग सम्बन्धित शीर्षकमा जवाफ दिँदै मन्त्री भट्टराइले पर्यटनबाट धेरै गर्न सकिने आशा सहित नेपाल भ्रमण वर्ष शुरु गरिएपनि विश्वमहामारीको रुपमा रहेको कोभिड–१९ को संक्रमणको कारण सबैभन्दा बढि प्रभाव पर्यटन मन्त्रालय अन्तर्गतकै काममा परेकोले चाहे अनुरुप गर्न नसकिएको स्वीकार गरे ।
‘कोभिड -१९ को प्रत्यक्ष असर पर्यटन क्षेत्रमा परेको छ । त्यसैले यो मन्त्रालय र मन्त्रि आफै पीडित छन् माननीयज्यूहरुको पीडित मन्त्री प्रति धेरै टिप्पणी वा गुनासा छैनन् भन्ने लाग्छ उनले भने यो परस्थिती कै कारण केही सीमितताका बीच बजेट बनेकोले चाहेर पनि सबै कुरा बजेटमा समावेश गर्न सकिएको छैन । त्यसैले यसलाई सोही अनुरुप बुझिदिनुहुने छ ।’
यद्यपी उनले पूर्वाधारको विकास र कोरोनाको कारण समस्याग्रस्त पर्यटन उद्योगलाई पुनर्जिवित गर्न कर एवं ब्याजदरमा छूटका साथै रू. ५० अर्बको पुनरुत्थान कोषको समेत व्यवस्था गरिएका बताए ।
सन् २०१९ मा नेपालमा करीब १२ लाख पर्यटक आएको र यस क्षेत्रबाट कुल गाहस्थ उत्पादनमा २ दशमलव ७ प्रतिशत योगदान रहको जानकारी दिँदै उनले पर्यटन तथा संस्कृति क्षेत्रमा रू. ५ अर्व २७ करोड, हवाई क्षेत्र नेपाल सरकारबाट रू. २० अर्ब ४५ करोड र नेपाल नागरिक उड्डयन प्राधिकरणको आन्तरिक तर्फ अनुमानित रू. १० अर्बभन्दा बढी रकम विनियोजन गरिएको जानकारी दिए । नेपालको तुलनात्मक लाभको क्षेत्रको रुपमा रहेको पर्यटन क्षेत्रको विकासको लागि अहिलेको बजेट आफैमा कम भएपनि दीर्घकालीन विकासका मार्गतर्फ अग्रसर भएको बताए ।
सांसदहरुले पर्यटन मन्त्रालय अन्तर्गतको बजेटमा पनि संघीयता र विकेन्द्रीकरणको भावना र मर्म नसमेटिएको गुनासो गरिरहँदा मन्त्री भट्टराइले भने सोही भावना र मर्म अनुसार प्रदेश र स्थानीयस्तरमा यथासम्भव समानुपातिक र समावेशी अवधारणा बमोजिम कार्यान्वयन हुने गरी बजेट तथा कार्यक्रम तयार पारिएको स्पष्टिकरण दिए ।
उनले प्रदेशमा न्यूनतम एक प्रमुख पर्यटकीय गन्तव्य निर्माणका साथै स्थानीय तहहरुमा समेत पर्यटन पूर्वाधार र पर्यटकीय उपज निर्माणका लागि साझेदारी कार्यक्रम अगाडि बढाइएको र त्यसमा साझेदारी कार्यक्रमतर्फ रू. ७९ करोड विनियोजिन गरिएको जानकारी दिए ।
यसैबीच मन्त्री भट्टराइले नेपाल वायुसेवा निगमको दीर्घकालीन सुधारको लागि रणनीतिक साझेदार ल्याउने वा निगमलाई सार्वजनिक कम्पनीमा रुपान्तरण गर्ने गरी आन्तरिक तयारी गरेको पनि जानकारी दिएका छन् । निगमलाई व्यवसायिक र प्रतिष्पर्धी बनाउन यसको व्यवसायिक क्षमता बढाउने र खर्च कटौतीको कामलाई पनि सँगसँगै लगिने मन्त्री भट्टराइले बताए ।