ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

अझै अलमलमा सुन निक्षेप योजना

२०७७ जेठ, २७  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar ममता थापा

काठमाडौं । नेपाल राष्ट्र बैंकले सुन निक्षेप योजना ल्याए पनि वाणिज्य बैंकहरू यसप्रति आकर्षित भएको पाइएको छैन । राष्ट्र बैंकले गत फागुन २५ गते एकीकृत निर्देशन २०७६ मा सुनको बिस्कुट, सिक्काजस्ता काँचो सुन तथा गरगहना निक्षेपका रूपमा राख्न सकिने व्यवस्था गरेको थियो ।

यसलाई कार्यविधि बनाई कार्यान्वयन गर्न बैंकहरूलाई राष्ट्र बैंकले निर्देशन दिए पनि बैकहरू यसतर्फ त्यति आकर्षित नहुँदा कार्यविधिसमेत बनेको छैन । यद्यपि सो निर्देशन जारी भएको करीब २ सातापछि कोरोना महामारी नियन्त्रण गर्न बन्दाबन्दी शुरू भएकाले यसबारे तयारी गर्न नसकिएको बैंकरहरूको भनाइ छ ।

राष्ट्र बैंकले निक्षेपको ब्याजदर बैंक आफैले निर्धारण गर्नुपर्ने बताएको छ । सुन निक्षेपलाई प्रडक्टकै रूपमा शुरू गर्न आन्तरिक कार्यविधि बनाउन अझै समय लाग्ने बैंकरहरूको भनाइ छ । सिटिजन्स बैंकका सीईओ गणेशराज पोखरेल राष्ट्र बैंकले नीतिगत व्यवस्था गरे पनि यसमा बैंकले थुप्रै तयारी गर्नुपर्ने भएकाले तत्काललाई सुन निक्षेपप्रति ध्यान नदिएको स्वीकार्छन् । उनका अनुसार सुन धितो राखेर दिने कर्जाको दायरा नै घटाएको अवस्थामा अहिले बैंकले सुन निक्षेपलाई प्राथमिकता दिएको छैन । ‘हामीले ३२ ओटा शाखाबाट सुन धितोमा ऋण दिन्थ्यौं तर यसलाई घटाएर अहिले १३ शाखाबाट मात्र कर्जा दिएका छौं । कर्जा प्रवाह पनि खासै उत्साहजनक छैन । यस्तोमा सुन निक्षेपमा हतार गरेका छैनौं । तर, छलफल र अध्ययन भने गर्छौं,’ पोखरेलले भने ।

सनराइज, एनआईसी एशिया र कृषि विकास बैंकले पनि सुन निक्षेप योजनाको तयारी गर्ने पक्षमा आफूहरू नभएको बताएका छन् । कृषि विकास बैंकका कम्पनी सचिव तथा प्रवक्ता हिमलाल पौड्याल बन्दाबन्दीका बेला बैंकमा निक्षेप थुप्रिएको र कर्जा प्रवाह नभएका बेला नया प्रडक्ट ल्याउनु उचित नहुने बताउँछन् ।

त्यस्तै, सनराइज बैंकका सीईओ जनकराज पौड्याल सुन निक्षेपमा ब्याजदर निर्धारण र यसलाई तरल बनाउने लगायतबारे धेरै तयारी गरेपछि मात्र प्रडक्ट लन्च गर्ने वा नगर्ने भन्ने निष्कर्षमा पुग्न सकिने बताउँछन् । एनआईसी एशिया बैंकका जनसम्पर्क अधिकृत अर्जुनराज खनियाँ यो प्रडक्टमा काँचो सुन मात्र निक्षेपमा लिने भएकाले सर्वसाधारणलाई समेट्न नसक्ने औंल्याउँछन् । ‘बन्दाबन्दीको समयमा आकस्मिक कामबाहेक सुन निक्षेप गर्ने वा नगर्ने भन्ने प्राथमिकतामा छैन,’ खनियाँले बताए ।

सानीमा बैंक भने असार मसान्तसम्म यो योजना शुरू गर्ने तयारीमा जुटेको छ । नेपाल बैंकर्स संघका अध्यक्षसमेत रहेका सानीमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवनकुमार दाहालले सुन निक्षेपको ब्याजदर अन्तरराष्ट्रिय बजारको अभ्यास अध्ययन गरेर तोक्ने योजनामा रहेको जानकारी दिए । ‘सुन निक्षेपको ब्याजदर निर्धारण प्रक्रिया भइरहेको छ । कार्यविधि तयार गरेर असारमसान्तदेखि लागू गर्ने गरी तयारी गर्न सम्बद्ध विभागलाई भनेको छु,’ उनले बताए । वाणिज्य बैंकहरू सुन निक्षेपको ब्याजदर कसरी निर्धारण गर्ने भन्नेमा पनि अलमलमा रहेका छन् । अन्तरराष्ट्रिय अभ्यासलाई हेरेर ब्याजदर निर्धारण गर्न सकिने कतिपय बैंकरको भनाइ छ । छिमेकी मुलुक भारतमा निक्षेपको अवधिअनुसार वार्षिक न्यूनतम शून्य दशमलव ५० प्रतिशतदेखि अधिकतम साढे २ प्रतिशतसम्म ब्याजदर तोकिएको देखिन्छ ।

‘यो प्रडक्टलाई बैंकले अध्ययन गरेर कार्यविधि बनाएर मात्र लागू गर्नुपर्छ । तर, बन्दाबन्दीले गर्दा कार्यान्वयन गर्न नसकिएको हो । अवस्था सामान्य भएपछि उनीहरूले तयारी गर्ने अपेक्षा छ,’ राष्ट्र बैंकका प्रवक्ता डा.गुणाकर भट्टले बताए ।

सुन निक्षेपमा बैंकले तयारी गरगहना निक्षेपमा राख्दा गलाएर मात्र लिने गर्छ । तयारी गरगहना नै यथावत् राख्ने हो निक्षेपमा राख्न मिल्दैन । राष्ट्र बैंकले गरेको व्यवस्थाअनुसार कम्तीमा ३ वर्षदेखि बढीमा ५ वर्षसम्म सुनको निक्षेप राख्न पाउने भएकाले यस अवधिपछि ढिक्का सुन र ब्याज आम्दानी लिनुपर्नेछ । बैंकले तयारी गहनालाई पनि ढिक्कामा परिणत गरी तरल सम्पत्तिमा परिचालन गर्छ । निक्षेपकर्ताले सुन निक्षेप प्रमाणपत्रलाई धितो राखी निक्षेपको ७० प्रतिशतसम्म कर्जासमेत लिन पाउनेछन् । ग्राहकले १० लाखभन्दा बढी मूल्य पर्ने सुनको स्रोत अनिवार्य रूपमा खुलाउनुपर्छ ।

बैंकहरूले न्यूनतम २५ ग्रामलाई निक्षेपको रूपमा राख्न सक्नेछन् । बैंकले सुन निक्षेप लिदा निक्षेपकर्ताबाट उपलब्ध हुने सुनको शुद्धता तथा तौलको जाँच गर्ने संयन्त्र स्थापना गरी कम्तीमा ९९५ फिटनेशको सुन मात्र लिनुपर्ने राष्ट्र बैंकले व्यवस्था गरेको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)