ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

बन्दाबन्दीमा वीरगञ्ज–पथलैया व्यापारिक मार्ग विस्तार गरिँदै

पप्पु र युनाइटेडका ठेक्का सबैभन्दा कमजोर

२०७७ जेठ, २८  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar ओमप्रकाश खनाल

वीरगञ्ज । बन्दाबन्दीको समयमा वीरगञ्ज–पथलैया व्यापारिक मार्गको काम अघि बढाइएको छ । त्रिभुवन राजपथअन्तर्गतको सिमरादेखि पथलैयासम्मको खण्डमा कालोपत्र गरिएको हो । तोकिएको समयसीमाभन्दा २ वर्ष ढिला भइसकेको सडक विस्तार बन्दाबन्दीका कारण अझ पछाडि धकेलिएको छ । सरकारले बन्दाबन्दीमै पनि विकास निर्माणका आयोजना अघि बढाउने भएपछि व्यापारिक मार्गले गति लिन थालेको हो ।

एएमआर र कन्टेक्टले साझेदारीमा लिएको यो खण्डको निर्माण ८४ प्रतिशत पूरा भइसकेको वीरगञ्ज–पथलैया व्यापारिक मार्ग विस्तार आयोजना प्रमुख सञ्जयकुमार मिश्रले बताए । यो खण्डको काम आउँदो असारभित्रै सक्ने योजना रहेकोमा लकडाउनका कारण पछाडि धकेलिएको प्रमुख मिश्रको भनाइ छ ।

वीरगञ्जको सुक्खा बन्दरगाहदेखि परवानीपुर हुँदै पथलैयासम्मको सडक विस्तारको ठेक्का २०७३ असारमा लगाइएको थियो । सम्झौताअनुसार २०७५ असारमा काम सकिनुुपर्नेमा पछिल्लोपटक म्याद थपेर आउँदो पुससम्म लम्ब्याइएको छ । थपिएको समयभित्र पूरा गर्ने लक्ष्य बन्दाबन्दीका कारण पूरा नहुने अवस्था देखिएको मिश्रले बताए ।

सरकारले सार्वजनिक खरीद ऐन संशोधन गरेर ठेक्काको म्याद थपेको थियो । ८० प्रतिशतसम्म प्रगति देखिएका ठेक्कालाई कात्तिक र अन्यलाई पुससम्म समय दिइएको छ । तर, तोकिएको समयभित्र काम सकिने सम्भावना नरहेको मिश्रको कथन छ ।

बन्दाबन्दीले काम अवरुद्ध भएकाले २०७८ असारसम्म जानसक्ने आयोजनाका अधिकारीहरू बताउँछन् ।

शुरूका २ वर्ष स्थानीय अवरोध र पेट्रोलियम पाइपलाइन विस्तारका कारण मुख्य सडकखण्डको विस्तार अवरुद्ध भएको आयोजनाले बताएको छ । जितपुर, सिमरा र परवानीपुरका स्थानीय बासिन्दाले अवरोध गरेकाले ती वर्षमा २० प्रतिशतमात्र काम भएको मिश्रको भनाइ छ । त्यसपछिको १ वर्षमा ३० प्रतिशत प्रगति गरेको आयोजनाले चालू वर्षमा ३० प्रतिशत र बाँकी काम आउँदो पुसभित्र पूरा गर्ने लक्ष्य राखेको थियो ।

पप्पु र युनाइटेड सुस्त
वीरगञ्ज बन्दरगाहदेखि पथलैयासम्मको २८ किलोमीटर सडक ६ खण्डमा बाँडेर बेग्लाबेग्लै ठेक्का दिइएको छ । ६ ओटा ठेक्कामध्ये पप्पु कन्स्ट्रक्शन र युनाइटेड बिल्डर्सको ठेक्का सबैभन्दा कमजोर देखिएको आयोजनाले बताएको छ ।

पप्पुले जिम्मा लिएको पर्साको हरपतगञ्जदेखि सुक्खा बन्दरगाहसम्मको सडकको प्रगति ४५ प्रतिशत रहेको मिश्रले जानकारी दिए । जब कि आयोजनाको औसत भौतिक प्रगति ६५ प्रतिशत पुगिसकेको छ ।

म्याद समयमा नथपिनु, स्थानीयको अवरोध, साइट उपलब्ध नहुनुजस्ता विषयलाई निर्माण व्यवसायीले ढिलाइको कारण बताएका छन् । तर, मुख्य सडकखण्डमा अवरोध भए पनि पप्पुले ठेक्का पाएको खण्डमा अवरोध नभएको मिश्रको दाबी छ । पप्पु र लुम्बिनी जेभीले हात पारेको यो ठेक्काको काम पप्पुले जिम्मा लिएको छ ।

परवानीपुरचोकदेखि गण्डक नहरसम्मको ठेक्का पनि शुरूमा एएमआर र कन्टेक्टसँगको साझेदारीमा पप्पुले लिएको थियो । पप्पुले चित्तबुझ्दो काम नगरेपछि आयोजनाले पप्पुको काम खोसेर कन्टेक्टको जिम्मा लगाएको थियो । ‘धेरैतिर हात हाल्ने, तर काम पूरा नगर्ने प्रवृत्ति देखियो । साढे २ वर्षसम्म कुनै प्रगति नभएपछि अर्कोलाई दिनुप¥यो,’ मिश्रले आर्थिक अभियानसित भने ।

यी दुई खण्डको बीचमा पर्ने गण्डक नहरदेखि हरपतगञ्जसम्मको ठेक्कामा भौतिक प्रगति ८५ प्रतिशत पुगिसकेको छ । यो समग्र आयोजनाकै सबैभन्दा बढी हो । यो खण्डको ठेक्का श्रेष्ठ, बिरुवा र एपेक्स जेभीले लिएको थियो ।

जितपुर बजार क्षेत्रमा विस्तारको ठेक्का लिएको युनाइटेडले अहिलेसम्म भौतिक प्रगति ४० प्रतिशतमात्र पु¥याएको आयोजना प्रमुख मिश्रले जानकारी दिए । शुरूका २ वर्ष बजार क्षेत्रमा मुआब्जा र मुद्दा मामिलाको अवरोध थियो । तर, अहिले साइट उपलब्ध हुँदा पनि युनाइटेडले काम नगरेको मिश्रले बताए । आयोजनाको ५ नम्बरमा पर्ने यो ठेक्का युनाइटेडले शर्मा र दिवासँगको साझेदारीमा लिएको थियो ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)