ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

चालू आवको आर्थिक वृद्धिदर १.८ प्रतिशतमात्र : विश्व बैंक

२०७७ जेठ, २८  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar विजय दमासे

काठमाडौं । कोरोना महामारी तथा बन्दाबन्दीका कारण नेपालको आर्थिक वृद्धिदर २ दशमलव ३ मा खुम्चने प्रक्षेपण नेपाल सरकारले गरिरहँदा विश्व बैंकले भने १ दशमलव ८ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ ।

विश्व अर्थतन्त्रबारे विश्व बैंकको पछिल्लो अध्ययन प्रतिवेदन ग्लोबल इकोनोमिक प्रस्पेक्टको निष्कर्ष सार्वजनिक गर्दै विश्व बैंकले २०२१ मा नेपालको आर्थिक वृद्धिदरमा सुधार आई २ दशमलव १ मा पुग्ने अनुमान गरेको छ ।

कोरोनाका कारण औद्योगिक उत्पादन ऋणात्मक रहेको र विश्व निर्यात घट्नुका साथै विप्रेषणमा उल्लेख्य कमी आउने भएकाले अर्थतन्त्रमा संकुचन आउने उसको भनाइ छ ।
नेपालसहित दक्षिण एशियाली मुलुक कोरोना भाइरसबाट प्रभावित रहेको र यसको रोकथामका लागि सरकारहरूले अपनाएको विधिबाट अर्थतन्त्र बढी प्रभावित भई आर्थिक वृद्धिदरमा ठूलो कमी आउने विश्व बैंकको प्रक्षेपण छ ।

एक तिहाइ भारतीय र चिनियाँ पर्यटकमा निर्भर रहेको पर्यटनमा उल्लेख्य कमी आएकाले आर्थिक वृद्धिदर १ दशमलव ८ मा सीमित रहने बैंकको भनाइ छ । निर्यातमूलक उद्योग प्रभावित बनेको र लकडाउनले अल्पकालीन आर्थिक गतिविधिमा समेत रोकावट आएकाले अर्थतन्त्रमा प्रभाव पारेको विश्व बैंकको प्रतिवेदनमा उल्लेख छ ।

‘महामारीबाट पर्यटन क्षेत्र नराम्रोसँग प्रभावित बन्यो, जसले गर्दा अर्थतन्त्रमा पर्यटनको ठूलो अंश रहेका भुटान, नेपाल, श्रीलंका र माल्दिभ्सको अर्थतन्त्रमा उच्च गिरावट आएको हो । प्रतिवेदनमा भनिएको छ, ‘भारतको आर्थिक वृद्धि ओरालो लागेकाले उससँग ठूलो व्यापारिक साझेदार बनेको नेपालजस्तो मुलुकको आर्थिक वृद्धिमा गम्भीर असर पुर्‍याएको छ ।’

आन्तरिक उत्पादन तथा औद्योगिक कच्चा पदार्थको आपूर्ति शृंखलामा आएको अवरोधका कारण अर्थतन्त्रलाई कमजोर बनाएको विश्व बैंकको अध्ययनले देखाएको छ ।

त्यस्तै अन्तरराष्ट्रिय ठेकेदारहरूको आगमनमा अवरोध पुगेकाले निर्माण क्षेत्रमा समेत धक्का पुर्‍याएको उसको विश्लेषण छ । चालू आर्थिक वर्ष २०७६/७७ को आर्थिक सर्वेक्षण प्रस्तुत गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले नेपालको आर्थिक वृद्धिदर २ दशमलव ३ प्रतिशत रहने बताएका थिए । तर, विश्व बैंकको प्रतिवेदनले त्यो भन्दा कम आर्थिक वृद्धि प्राप्त हुने बताएको छ । कोरोना संक्रमण नआउँदा अर्थमन्त्रीले ७ भन्दा बढी आर्थिक वृद्धिदर प्राप्त हुने दाबी गरिरहेका बेला पनि विश्व बैंकले सरकारी दाबीभन्दा कम अर्थतन्त्र विस्तार हुने बताएको थियो ।

सन् २०२० मा विश्व अर्थतन्त्रको वृद्धिदर ५ दशमलव २ प्रतिशत ऋणात्मक रहने अनुमान विश्व बैंकले गरेको छ । यो कमी दोस्रो विश्व युद्धयताकै सबैभन्दा कम हो । विश्व अर्थतन्त्रमा परेको यो खाडल आगामी वर्ष भने केही पूर्ति हुनेछ । सन् २०२१ मा ४ दशमलव २ प्रतिशतको वृद्धिदर अनुमान गरिएको छ । सन् २०२० मा अमेरिकी अर्थतन्त्र ७ प्रतिशतसम्मको संकुचनमा जाने तथा चीनको आर्थिक वृद्धिदर १ प्रतिशतमा समेटिने विश्व बैंकको भनाइ छ ।

दक्षिण एशियाली मुलुकमध्ये सन् २०२० मा माल्दिभ्सको अर्थतन्त्र सबैभन्दा ऋणात्मक रहने प्रक्षेपण छ । पर्यटन नै मुख्य आय भएको माल्दिभ्समा पर्यटन गतिविधि शून्य भएपछि आर्थिक वृद्धिदर १३ प्रतिशतमा ऋणात्मक हुने भएको हो ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)