ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

नेपालमा ३७ लाखको रोजगारी जोखिममा : आईएलओ

२०७७ जेठ, २८  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar हिमा वि.क.

काठमाडौं । अन्तरराष्ट्रिय श्रम संगठन (आईएलओ)ले कोरोना महामारी तथा बन्दाबन्दीका कारण नेपालमा ३७ लाखको रोजगारी उच्च जोखिममा परेको बताएको छ । आईएलओले ‘कोभिड १९ ले नेपालको श्रमबजारमा पारेको प्रभाव’ विषयक प्रतिवेदनअनुसार कोरोनाबाट सृजित अहिलेको विषम अवस्थाका कारण १६ लाखदेखि २० लाखको रोजगारीमा अवरोध हुने बताएको छ ।

आईएलओले नेपालका विभिन्न पाँच क्षेत्र— थोक तथा खुद्रा व्यापार, उत्पादनमूलक, निर्माण, यातायात र भण्डारण, होटेल तथा रेस्टुराँ र अन्य (रियल इस्टेट र प्रशासनिक)क्षेत्रमा कार्यरत श्रमिकहरूको रोजगार अवस्थाको अध्ययन गरी प्रतिवेदन सार्वजनिक गरेको हो । यी पाँच क्षेत्रमध्ये सबैभन्दा बढी जोखिममा रहेका श्रमिकहरू थोक तथा खुद्रा व्यापार क्षेत्रका छन् । यसका साथै निर्माण, उत्पादनमूलक र व्यापार क्षेत्रका प्रति पाँच कामदारमध्ये चार जनाको रोजगारी संकटमा परेको पनि आईएलओले उल्लेख गरेको छ ।

आईएलओका अनुसार नेपालको थोक तथा खुद्रा व्यापार क्षेत्रमा कार्यरत ७ लाख ८० हजार जना रोजगारविहीन भएका छन् । त्यस्तै, उत्पादनमूलक क्षेत्रका ४ लाख ४६ हजार, निर्माण क्षेत्रका ४ लाख ४ हजार, यातायात क्षेत्रका २ लाख ११ हजार, होटल तथा रेस्टुराँ सेवाका ६२ हजार र अन्य (रियल इस्टेट, प्रशासनिकलगायत) क्षेत्रका ८३ हजार जनाको पनि रोजगारी गुमेको छ । आईएलओले नेपालको श्रमबजारमा महिला पुरुषहरूको रोजगारीको अवस्था पनि मूल्यांकन गरेको छ ।

लैंगिक रूपमा कुल महिला श्रमशक्तिको २४ दशमलव ३ प्रतिशत अर्थात् ६ लाख ३१ हजार र कुल पुरूष श्रमशक्तिको ३० दशमलव ३ प्रतिशत अर्थात् १३ लाखको रोजगारी गुमेको प्रतिवेदनको निष्कर्ष छ ।

त्यसैगरी नेपालको पर्यटन क्षेत्रमा कार्यरत ठूलो श्रमशक्ति आयविहीन भएको पनि प्रतिवेदनमा उल्लेख गरिएको छ । ‘नेपालको राजस्व र रोजगारीको मुख्य क्षेत्र पर्यटन हो, सन् २०१८ को सर्वेक्षणअनुसार पर्यटनमा ५ लाख ७३ हजार व्यक्ति रोजगाररत छन्,’ प्रतिवेदनमा भनिएको छ, ‘तर, कोभिड १९ ले पर्यटन क्षेत्रका तीन चौथाइ कामदारहरू आयविहीन अवस्थामा पुगेका छन् ।’

आईएलओका अनुसार नेपालका ५७ लाख अर्थात् कुल रोजगारीमध्ये ८० दशमलव ८ प्रतिशत अनौपचारिक क्षेत्रमा संलग्न छन् । कोभिड १९ कारण यी श्रमिक उल्लेख्य रूपमा प्रभावित भएको देखिएको छ । ‘उनीहरूका लागि राज्यले लगानी गरेको कुुनै सुरक्षा छाता संगठन छैन,’ प्रतिवेदनमा भनिएको छ, ‘त्यस्ता श्रमिक कोभिड १९ का कारण उच्च समस्यामा परेका छन् ।’

आईएलओका अनुसार नेपालका १४ लाख घरेलु महिला श्रमिकको आयआर्जन पनि अनिश्चित भएको छ । त्यस्तै, वैदेशिक रोजगारीमा रहेका ३५ लाख नेपाली कामदारको रोजगारीमा अवरोध आएको र त्यही कारणले उनीहरूले पठाउने विप्रेषण पनि उल्लेख्य रूपमा घट्दै गएको प्रतिवेदनमा उल्लेख छ ।

नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष पशुपति मुरारकाले नेपालमा रोजगारी उच्च जोखिममा रहेको यथार्थ भए पनि ३७ लाख नै हो भन्ने तथ्यांकलाई यकिन मान्न नसकिने बताए । उनले बन्दाबन्दीका कारण मुलुकभित्र अहिले साना तथा ठूला लगानीका उद्योग व्यवसाय तथा व्यापारमा समस्या देखा पर्दा त्यसको प्रत्यक्ष मार त्यहाँ कार्यरत श्रमिक तथा कर्मचारीलाई पर्नु स्वाभाविकै भएको बताए ।

‘कतिपय उद्योगले खर्च कटौती गर्नुपर्ने अवस्था आएकाले उद्योग प्रतिष्ठानमा कार्यरत श्रमिकको रोजगारी बचाइराख्न निकै चुनौतीपूर्ण भएको छ,’ मुरारकाले भने, ‘बन्दाबन्दीको अवधि लम्बिँदासमेत उद्योग खुलाउने विषयमा सरकारले ठोस कदम चाल्न सकेको छैन भने काम नै नगरीकन श्रमिकलाई पारिश्रमिक दिन भनेको छ ।’

यद्यपि उनले नेपालमा धेरैजसो श्रमिक भारतका रहेको र अहिले ती सबै स्वदेश फर्किएकाले उनीहरूको स्थानमा नेपाली बेरोजगार युवालाई राख्न सकिने हुँदा केही श्रमिक व्यवस्थापनमा सघाउन पुग्ने बताए । तर, उनले काम गर्ने वातावरण र ट्रेड युनियनमार्फत हुने समस्यालाई कानूनी रूपमै समधान गर्न सरकारले सहयोग गर्नुपर्नेमा जोड दिए ।

नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)का अध्यक्ष विनोद श्रेष्ठले अहिले बन्दाबन्दीको अवस्थामा रोजगारी गुमाएको संख्या पूर्णरूपमा आइनसकेको बताए । उनले बन्दाबन्दी खुलेपछि रोजगारी गुमेको र जोखिममा रहेकाको तथ्यांकमा स्पष्टता आउने उल्लेख गरे ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [1]
User Image

Keshav NS Adhikari

[Jun 10, 2020 07:14am]

यी अंतरराष्टिय भ्रामक संस्थाहरु त्रासको खोटो सिक्का लगानी गरेर, भयावह अभावको फिल्म बनाएर राम्रो व्यापर गर्छन । त्यसकै आधारमा सहयोग र सहुलियत ऋण थोपर्दै देशलाई दास बनाउँदछन् । यस्तो तर्साउने किताबी आंकडा सुनाएर तनावको खेती सपार्नुको सट्टा, अब गर्न पर्ने कुराको सुझाव दिएको भए देशका योजनाकारहरुका निम्ती केहि उपायोगी साबित हुने थियो ।



   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)