ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

चार्टर उडानको शुल्कबारे अध्ययन गर्न छानबिन समिति गठन

सात दिन भित्र प्रतिवेदन पेश गर्न कार्यादेश

२०७७ जेठ, २८  
समाचार
Aarthik Abhiyan 18th Anniversary NA
author avatar टीपी भुसाल

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले लकडाउनको समयमा नेपाल एयरलाइन्सको विमान हङकङ र जापान चार्टर गर्दा ट्राभल एजेन्सीहरूले यात्रुबाट चर्को रकम लिई टिकट विक्री गरेको भन्ने विषयमा अध्ययनका लाग तीनसदस्यीय छानबिन समिति गठन गरिएको छ । मन्त्रालयका सहसचिव सुरेश आचार्यको संयोजकत्वमा गठित समितिमा पर्यटन विभागका निर्देशक सुरेन्द्र थापा र नेपाल नागरिक उड्डयन प्राधिकरण हवाई यातायात महाशाखा प्रमुख सदस्यका साथै मन्त्रालयका कानून शाखाका उपसचिव राजन नेपाल सदस्य सचिवका रूपमा छन् ।

समितिलाई एक साताभित्र सत्यतथ्य छानबिन गरी ७ दिनभित्र प्रतिवेदन पेश गर्न कार्यादेश दिइएको मन्त्रालयका सहायक प्रवक्ता एवं उपसचिव राजन पौडेलले जानकारी दिए । कोभिड–१९ को कारण उत्पन्न परिस्थितिले गर्दा नेपालमा रहेका विदेशी तथा भिसा अवधि सकिन लागेका नेपाली यात्रुलाई उद्धार गर्ने क्रममा नेपाल एयरलाइन्सको विमान हङकङ र जापान चार्टर गर्दा ट्राभल एजेन्सीले उनीहरूबाट चर्को रकम लिई टिकट विक्री गरेको गुनासो आउन थालेकाले त्यस विषयमा सत्य तथ्य बाहिर ल्याउन समिति गठन गरिएको मन्त्रालयले जानकारी दिएको छ । विमान चार्टर गरी यात्रु ओसार्दा टिकट विक्री गर्ने चार्टर पार्टी एवं ट्राभल एजेन्सीले यात्रुसँग के कस्तो आधारबाट के कति भाडा लिएको हो, त्यसबारे अध्ययन गरी समितिले प्रतिवेदन बुझाउनेछ ।

आगामी दिनमा जुन देशका लागि चार्टर गर्न लागिएको हो, उक्त मुलुकको सम्बन्धित कूटनीतिक नियोगबाट यात्रुको नामावलीसहितको पूर्व स्वीकृति र यात्रुसँग लिने भाडा रकम समेत खुलाएर मात्र चार्टर उडानका लागि सम्बन्धित विमान कम्पनीमा निवेदन दिन सक्ने समेत मन्त्रालयले जानकारी दिएको छ । भाडादर नखुलेको अवस्थामा र चार्टर गरेको रकमको आधारमा विमान कम्पनीले नियमानुसार दिने कमिशन र अन्य मुलुकमा बुझाउनुपर्ने कर दायित्वको आधारमा प्रस्तावित भाडादर उचित देखिए मात्र अनुमति प्रदान गरिने व्यवस्था मिलाइएको मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

चार्टर उडानमा जथाभावी भाडा लिन थालेपछि नागरिक उड्डयन प्राधिकरण (क्यान)ले कूटनीतिक माध्यमबाट हुने चार्टर उडानबाहेक सबै उडानमाथि जेठ २६ देखि रोक लगाएको थियो ।  नियमितभन्दा धेरै नै महँगो भाडा लिन थालेपछि विदेशमा अलपत्र परेका नेपालीले आपत्ति व्यक्त गरेका थिए । विपद्को अवस्थामा चार्टर उडानको नाममा वायुसेवा कम्पनी तथा ट्राभल एजेन्सीले यात्रुसँग मनलाग्दी भाडा लिएको गुनासो संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा पुगेपछि मन्त्रालयकै निर्देशनमा क्यानले आइतवारदेखि चार्टर उडानमा रोक लगाएको थियो । साथै प्राधिकरणले जरुरी सूचना जारी गर्दै कूटनीतिक बाहेकका उडान रोकिएको जानकारी गराएको थियो ।

यसैबीच नेपाली कांग्रेसले चार्टर उडानमा चर्को शुल्क लिने र अनुमति दिनेलाई कारबाही गर्न माग गरेको छ । कांग्रेस, जनसम्पर्क समिति समन्वय विभाग प्रमुख गोविन्द भट्टराईले बुधवार विज्ञप्ति जारी गर्दै नेपालबाट विभिन्न देशमा चार्टर उडान गरेर चार गुणासम्म महँगो शुल्क लिने गरेको विभिन्न सञ्चार माध्यमबाट सार्वजनिक भइरहेकोप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको भन्दै कारबाहीको माग गरेका छन् ।

केही निजी ट्राभल्स कम्पनी पोस्ने मनसायले सरकारले सिन्डिकेट खडा गरेर नेपाल वायु सेवा निगमको जहाज चार्टर उडान गरेको देखिएको भन्दै यस्ता कार्य तत्काल रोक्न विज्ञतिमार्फत माग गरिएको छ । यस्तै कांग्रेसले कुवेत लगायत केही मुलुकले नेपाली कामदारलाई उनीहरूकै खर्चमा नेपाल फिर्ता गर्ने अनुमति मागिरहे पनि सरकारले नदिएको भन्दै आउन चाहने नेपालीलाई फिर्ता ल्याउने वातावरण मिलाउन आग्रह गरेको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)