ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

प्रकृतिमैत्री विकासलाई प्राथमिकता दिएर बजेट ल्याउन महानगरलाई सुझाव

२०७७ जेठ, २९  
गण्डकी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar नरहरि पौड्याल

कास्की । पोखरा महानगरपालिकाले आगामी आवको बजेट र कोरोना भाइरसको व्यवस्थापन रणनीतिबारे छलफल थालेको छ । महानगरले उक्त विषयमा कास्कीका राजनीतिक दल र प्रदेश सभामा प्रतिनिधित्व गर्ने सांसदसँग छलफल शुरू गरेको हो ।  

पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले बुधवार डाकेको छलफलमा प्रकृतिको विनाश हुनेगरी गरिएको विकासले अनेक समस्या निम्त्याएको भन्दै सहभागीहरूले प्रकृतिमैत्री दिगो विकासलाई प्राथमिकता दिन सुझाएका छन् । साथै उनीहरूले कोरोनाको रोकथाम, नियन्त्रण र उपचार प्रभावकारी बनाउँदै सोहीअनुसार बजेट निर्माण गर्न आग्रह गरेका छन् । कोरोनाका कारण थला परेको पर्यटन क्षेत्र र कृषिलाई प्राथमिकतामा राखेर योजना ल्याउनुपर्नेमा उनीहरूले जोड दिएका छन् ।

कार्यक्रममा महानगर प्रमुख जिसीले दीर्घकालीन विकासलाई केन्द्रित गरेर महानगरपालिकाले बजेट निर्माण गरिरहेको बताए । कोरोना नियन्त्रण, रोकथाम, उपचार प्रभावकारी बनाउँदै दीर्घकालीन महŒवका योजना बजेटमा समेटिने उनको भनाइ छ । कास्कीका राजनीतिक दल, सांसदहरूको सुझावलाई बजेटमा सम्बोधन गरिने प्रतिबद्धता समेत उनले व्यक्त गरे ।

गण्डकी प्रदेश विकास समितिका सभापति एवं सांसद दीपक कोइरालाले दीर्घकालीन विकासमा जोड दिँदै महानगरभित्र गरीबीको रेखामुनि रहेकाको तथ्यांक संकलन गर्नुपर्ने बताए । महानगरको बजेटमा स्वास्थ्य, शिक्षा, कृषि, पर्यटनलाई प्राथमिकता दिनुपर्ने उनले औंल्याए । सांसद मनबहादुर गुरुङले अबको २ वर्षमा पोखरामा सुकुमबासी समस्या समाधान गर्नेगरी योजना ल्याउनुपर्ने बताए । पोखरामा अत्याधुनिक बसपार्क निर्माण सम्बन्धी ठोस योजना बनाउन र आकाशे पुल निमार्णलाई पनि बजेटमा समेट्न उनले आग्रह गरेका छन् ।

सांसद राजीव पहारीले कोरोना परीक्षणको दायरा बढाउनुपर्ने भन्दै त्यसका लागि महानगरले योजना बनाउनुपर्ने बताए । आम नगरवासीको जीवन रक्षा, सार्वजनिक सम्पत्तिको संरक्षण र पार्किङ व्यवस्थित गर्ने योजना ल्याउन उनले सुझाए । यस्तै सडक मर्मत फास्ट ट्र्याकबाट गर्नेगरी योजना बनाउन र आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने खालका योजना ल्याउनुपर्ने उनको भनाइ छ ।  

सांसद प्रभा कोइरालाले सरुवा रोग नियन्त्रण गर्ने योजनासहित महानगरले आगामी बजेट निर्माण गर्नुपर्ने बताइन् । फोहोर व्यवस्थापन, धूँवा, धूलोरहित शहर निर्माणलाई प्राथमिकता दिन पनि उनले महानगरलाई आग्रह गरिन् । सांसद गायत्री गुरुङले समृद्ध महानगर बनाउने योजना ल्याउन आग्रह गर्दै कोरोना नियन्त्रणलाई प्राथमिकता दिएर आगामी बजेट आउनुपर्ने धारणा राखिन् ।

सांसद मीना गुरुङले जनतालाई रोग, भोक र शोकबाट मुक्त बनाउने योजना ल्याउनुपर्ने बताइन् । असंगठित क्षेत्रमा काम गर्ने मजदूरको विवरण संकलन गर्न समेत उनको आग्रह छ । सांसद पुष्पा केसी भण्डारीले पोखराको भूगोल अनुसार विकासलाई प्राथमिकता दिन सुझाइन् ।

कार्यक्रममा नेपाली कांग्रेस कास्कीका सभापति कृष्ण केसीले आम नागरिकको जीवन रक्षा नै अहिलेको पहिलो प्राथमिकता भएको बताए । महानगरभित्र विकट ठाउँहरू पनि भएकाले त्यस्ता ठाउँलाई प्राथमकितामा राखेर पूर्वाधार निर्माणमा जोड दिनुपर्ने उनको भनाइ छ । जनता समाजवादी पार्टी कास्कीका अध्यक्ष गिरीप्रसाद गुरुङले महानगरभित्र रहेको स्रोतसाधन उच्चतम प्रयोग गर्दै दिगो विकासलाई जोड दिनुपर्ने बताए । यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी कास्कीका अध्यक्ष गणेशबहादुर ढकालले बजेटमा कृषिलाई प्राथमकिता दिन आग्रह गरे ।

कार्यक्रममा नेपाली कांग्रेस पोखरा नगर समिति सभापति बजीरमान श्रेष्ठ, जनता सामाजवादी पार्टीका नगर अध्यक्ष टीकाराम पौडेलले पनि शहर व्यवस्थित र महानगरको सेवालाई सेवाग्राहीमैत्री बनाउनु पर्ने बताएका थिए । कार्यक्रममा शहरी योजना आयोग पोखरा महानगरपालिकाका उपाध्यक्ष डा. रामचन्द्र लामिछानेले कोरोनाको प्रभाव र असरको अध्ययन, अनुसन्धान गरेर त्यसम केन्द्रित भएर नीति, कार्यक्रम र बजेट ल्याउने तयारी रहेको बताए ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)