ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

पदमार्ग खन्न जंगल र पहरामै बास

२०७७ जेठ, ३०  
गण्डकी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar ध्रुवसागर शर्मा

म्याग्दी । करीब ३ महीनादेखिको लकडाउनका कारण अधिकांश नेपाली घरभित्र बस्दा बस्दा वाक्कदिक्क भइसकेका छन् । लकडाउनकै कारण मुलुकको समग्र उद्योग, व्यापार, व्यवसाय र दैनिक कार्यहरू पनि बन्दप्रायः छन् । यो समयमा विकास निर्माणका कामहरू पनि प्रभावित भएका छन् ।

तर, म्याग्दीको रघुगंगा गाउँपालिका–७ चिमखोलाका स्थानीय वासिन्दा भने लकडाउनको परवाह नगरी पदमार्ग निर्माणमा व्यस्त छन् । कोरोना भाइरसको संक्रमणबाट जोगिन अपनाउनुपर्ने सम्पूर्ण उपाय अवलम्वन गरी यहाँका स्थानीय पदमार्ग बनाउन जुटेका हुन् । त्यतिमात्र होइन पदमार्ग बनाउन घरबाट निस्किएका स्थानीय महीनौंसम्म आफ्नो घरसमेत फर्किएका छैनन् !

धवलागिरि आइसफल पदमार्गअन्तर्गत चिमखोलाको विकट ससलधारा क्षेत्रमा पदमार्ग निर्माणका लागि स्थानीयबासी जंगलमै बास बस्ने गरेका छन् । वैशाख अन्तिम सातादेखि पदमार्ग निर्माणका लागि गएका चिमखोलावासीहरू विभिन्न दुःखकष्ट सहँदै अप्ठ्यारो पहाडमा जोखिम मोलेर पदमार्ग बनाउने काममा निरन्तर लागिरहेका छन् ।

बस्तीदेखि टाढाको ठाउँमा पदमार्ग निर्माण गर्नका लागि स्थानीयवासी लकडाउनकाबीच जंगल तथा पहरामै बास बसेर काम गरिरहेका उपभोक्ता समितिका अध्यक्ष धु्रबकुमार पाइजाले बताए । उनका अनुसार दैनिक ७० जनाले त्यहाँ काम गरिरहेका छन् । पदमार्ग निर्माणस्थल ससलधारा पुग्न चिमखोलाबाट ९ घण्टा पैदल हिँड्नुपर्छ ।

उनीहरूले बास बस्नका लागि पहराका कतिपय ओडार प्रयोग गरेका छन् भने केहीलाई जंगलकै बीचमा टेन्ट टाँगेर खानेबस्ने प्रबन्ध मिलाईएको छ । धवलागिरि हिमालको आधार शिविरनजिकै पर्ने उक्त स्थानमा पदमार्ग बनाउन पर्यटन मन्त्रालयले गाउँपालिकामार्फत रू. ५० लाख विनियोजन गरेको छ ।

हिउँ पग्लिएलगत्तै शुरू भएको पदमार्ग निर्माणको काम बर्षा शुरू नहुँदासम्म जारी रहनेछ । कोरोना भाइरसको जोखिमका बीच भौतिक दूरी कायम गरेर पदमार्ग निर्माणको काम भइरहेको स्थानीय अगुवा गम पुनले बताए । प्रतिनिधिसभा सदस्य थममाया थापाको पहलमा नेपालका १०० पर्यटकीय गन्तव्यमा सूचीकृत धवलागिरि आइसफल पदमार्गमा पूर्वाधार निर्माणका लागि वर्षेनी काम हुँदै आएको छ ।

२०७५ भदौमा रघुगंगा नदीमा आएको बाढीले भीरको फेदमा पर्ने ४०० मीटर पदमार्ग बगाएपछि घुमाउरो बाटो हिँड्नुपर्ने अवस्था सृजना भएको थियो । भीरमा पहाड फुटाउँदै सिँढी बनाएर ४० मीटर नयाँ पदमार्ग बनाइएको छ ।

ससलधारामा पदमार्ग निर्माण भएपछि रुइसे हुँदै धवलागिरि आइसफल जाने पर्यटकलाई सहज हुने अपेक्षा गरिएको छ । बेनी–जोमसोम पुरानो पदमार्ग सडकमा परिणत भएपछि त्यसको विकल्पमा गलेश्वरदेखि मुस्ताङको लेत जोड्ने धवलागिरि आइसफल पदमार्ग पहिचान भएको थियो ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)